
६ चैत, म्याग्दी । बेनीमा योगाभ्यास गर्ने पूर्वाधारको अभाव हुँदा सर्वसाधारणलाई समस्या भएको छ । मन्दिर, विभिन्न संघसंस्था, सरकारी कार्यालय र होटलका सभाहल परिवर्तन गरेर योग सञ्चालन गर्न समस्या भएको बेनीका योगसाधक दीपेन्द्रकुमार विश्वकर्माले जानकारी दिए ।
‘भाडामा लिएको हल समय सकिएपछि छाड्नुपर्छ,’ उनले भने, ‘योगाभ्यासलाई निरन्तरता दिंदै प्रभावकारी बनाउन भवनको आवश्यक परेको छ ।’
स्वास्थ्य र तनाव व्यवस्थापनका लागि ग्रामीण क्षेत्रमा समेत योग गर्नेहरुको आकर्षण बढेको छ । मानिसहरु भेला भएर सामूहिक रूपमा योगाभ्यास गर्ने स्थायी ठाउँ नभएको बेनीका योग प्रशिक्षक दुर्गा गौतमले बताए । ‘स्थायी संरचना अभावमा नियमित योगाभ्यास गर्न पाएका छैनन्,’ उनले भने, ‘पूर्वाधार अभावका कारणले गर्दा बीच–बीचमा छाड्नुपर्ने अवस्था छ ।’ केही दिनयता बेनीको जिल्ला समन्वय समितिको सभाहलमा बिहानको समयमा योग प्रशिक्षण सञ्चालन भइरहेको छ ।
छोटो अवधिका लागि सभाहल भाडामा लिएर योग प्रशिक्षण सञ्चालन गरिएको हो । योग प्रशिक्षणका लागि फराकिलो ठाउँ भएको सभाहल आवश्यक पर्छ । होटल र सरकारी कार्यालयको सभाहलमा अन्य कार्यक्रम पनि हुने भएकाले छुट्टै सभाहल आवश्यक परेको हो ।
बजार क्षेत्रका नागरिक, व्यापारी, पेशाकर्मी हरेक बिहानजसो विभिन्न ठाउँमा भेला भएर सामूहिक योगाभ्यास गर्ने ठाउँको खोजीमा छन् । तनावको व्यवस्थापन, शारीरिक र मानसिक सन्तुलन, असल आहार, बिहार र विचारलाई आत्मसात गर्ने र सकारात्मक सोचको विकास भएको बेनीका योगसाधक परशुराम सुवेदीले बताए ।
व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि योगाभ्यास गरेको बेनीकी गङ्गा खत्री बताउँछिन् । ‘सामूहिक योगाभ्यासलाई निरन्तरता दिन दीर्घकालीन पूर्वाधारको आवश्यकता देखिएको छ,’ उनले भनिन् ।
बेनीकी व्यवसायी राधिका सापकोटाले भनिन्, ‘दिनभर व्यवसायको कामले व्यस्त भएपनि बिहानको डेढ घण्टा म नियमित योग गर्छु । योग गर्न थालेपछि रक्तचाप व्यवस्थापन भएको छ । मलाई स्वस्थ, फूर्तिलो बनाउन र सकारात्मक सोचको विकास गर्न योग उपयोगी बनेको महसुस गरेको छु ।’
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, नवीन आनन्द योग केन्द्रलगायत निकाय र सङ्घसंस्थाले म्याग्दीमा योग प्रशिक्षण सञ्चालन गरेका छन् । बेनी, दरवाङ, तिप्ल्याङ, बिम, बाबियाचौर, सिङ्गा तातोपानी, बेग, बगरफाँट, घोडेपानीलगायतका स्थानमा योगाभ्यास सञ्चालन भएको छ । योगाभ्यासमा सहभागीहरूलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिने योग प्रशिक्षक टीकाबहादुर जुग्जालीले बताए ।
योगले मानिसको शारीरिक बनावटलगायत मानसिक रूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जुग्जालीले बताए । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ । व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ । चिकित्सकहरूका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।
बेनीको कालीपुलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा गत वर्ष योग सञ्चालनका लागि सभाहल निर्माण भएको थियो । योग साधकहरूको सङ्ख्या धेरै भएकाले यो पूर्वाधार साँघुरो भएको हो । बेनी नगरपालिका-८ हिलसाइडमा योग साधना भवन निर्माणका लागि चार वर्षअघि नवीन आनन्द योग केन्द्रले ६ आना जग्गा व्यवस्थापन गरेको थियो । बजेट र आर्थिक स्रोतको अभावमा भवन निर्माण गर्न नसकेको केन्द्रका सचिव हरिप्रसाद पौडेलले बताए । बेनीको क्याम्पसचोकका नारायण र अम्बिका श्रेष्ठले तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
प्रतिक्रिया 4