
काठमाडौं । ठेकदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका बासिन्दा विरोध प्रदर्शनमा उत्रिएका छन् । मंगलबार उनीहरुले सडक कालोपत्रे गर्न दबाबस्वरुप सुनाकोठी-चापागाउँ सडक अवरुद्ध पारेका छन् ।
कलाकार मदनकृष्ण श्रेष्ठ पनि विरोध प्रदर्शनमा उत्रिएका थिए । ‘कालोपत्रे नगरेसम्म बाटो बन्द, वैकल्पिक बाटो प्रयोग गर्नुहोला’ लेखिएको प्लेकार्ड बोकेर उनी सडकमा उभिएका थिए ।
कलाकार श्रेष्ठले दैनिक सयौं गाडी गुड्ने सुनाकोठी क्षेत्रको सडक वर्षौंदेखि धुलाम्य रहेको र मर्मत तथा कालोपत्रे गर्न ठेकदारले चासो नदिएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘घाममा धुलो बाक्लिंदो, वर्षामा हिलो बाक्लिंदो, सुनाकोठीका जनताको स्वास्थ्यमा रोग बाक्लिंदो, पातलो न पातलो पिच गरेर कत्ति न राम्रो सडक बनाएजस्तो गरिदिनुहुने ठेकदार महाशयहरुको खल्ती बाक्लो । सबथोक बाक्लो, पित मात्रै पातलो ।’
उनले देश बिगारेर पैसा कमाउने बुद्धि बाक्लिएको भन्दै व्यंग्य गरेका छन् ।
प्रतिक्रिया 4