+
+

एआईजी बढुवामा लोक सेवाले माग्यो जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते ९:०३

९ चैत, काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीका तीन जना डिआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बारे बढुवा समितिको सचिवालयसँग लिखित जवाफ मागेको छ ।

सिफारिसमा नपरेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले गत सोमबार उजुरी दिएपछि लोक सेवा आयोगले बढुवा सिफारिस समितिको सचिवालयसँग त्यसको प्रतिक्रिया मागेको हो ।

‘बढुवाबारे गुनासो सुन्ने समितिको बैठक सोमबार बस्यो र त्यस सम्बन्धमा के कसो भएको हो भनेर प्रतिक्रिया लिने निर्णय भएबमोजिम बढुवा सिफारिस समितिमा पत्र गएको छ,’ लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले अनलाइनखबरसँग भने ।

बढुवाबारे उजुरी सुन्ने समितिको अध्यक्ष लोक सेवा आयोगको अध्यक्ष रहने व्यवस्था छ । यो समितिमा मुख्य सचिव र कानुन सचिव रहन्छन् । त्यसको सचिवालय लोक सेवा आयोगमा रहन्छ ।

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । तर हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची डीआईजीहरुले वरिष्ठता र कार्यक्षमताका आधारमा बढुवा सिफारिस नगरेको भन्दै लोकसेवा आयोगमा चैत ६ गते उजुरी दिएका थिए ।

बढुवा गर्ने निर्णय भएको सात दिनभित्र उजुरी दिनसकिने व्यवस्था प्रहरी नियमावलीमा छ । उजुरी प्राप्त भएपछि उजुरी सुन्ने म्याद सकिएको भोलिपल्टै बढुवा समितिमा पत्र पठाउनुपर्छ । उक्त पत्र प्राप्त भएको तीन दिनभित्र सम्बन्धित बढुवा समितिले उजुरी सुन्ने समितिमा आवश्यक कागजातसहित लेखी पठाउनुपर्छ । उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र टुंगो लगाइ सक्नुपर्छ ।

प्रहरी नियमावलीमा एआईजी पदका लागि बढुवा सिफारिस समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव र सदस्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रहने व्यवस्था छ । यो समितिको सदस्य सचिव प्रहरी महानिरीक्षक हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?