+
+

तिलोत्तमाको ५ वर्ष : योजना प्रचारात्मक, कार्यान्वयन कमजोर

टोपराज शर्मा टोपराज शर्मा
२०७८ चैत ९ गते २१:१०
बासुदेव घिमिरे, मेयर, तिलोत्तमा नगरपालिका

९ चैत, बुटवल । कोरियामा काम गरेर फर्किएका, जग्गा कारोबारबाट मनग्ये कमाएका र बैंक सञ्चालकसमेत भइसकेका बासुदेव घिमिरेलाई नामको भोक थियो, समाजका लागि काम गर्ने उत्साह थियो । त्यसैले २०७४ को स्थानीय तह चुनावमा तिलोत्तमा नगरपालिकाको मेयर चुनिएसँगै घिमिरेले धेरै प्रचारात्मक काम पनि थालेका थिए ।

आफ्नो तलब भत्ता सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरुप दिने घोषणा गरेका उनले दिवा खाजा, स्यानिटरी प्याड वितरण लगायतका अभियान चलाए । स्थानीय कानुन बनाउने पहिलो स्थानीय तह, लगानी सम्मेलन गर्ने पहिलो पालिका, जिल्लाकै पहिलो बालमैत्री नगरलगायतका ताज नगरलाई दिलाए ।

यसले सुरुवाती चरणमा तिलोत्तमालाई असपासका अरु पालिकाभन्दा अगाडि त देखायो, तर पूर्ण कार्यान्वयनमा नआउँदा नगरवासीले लाभ लिन नपाएको बताउँछन्, अध्यापक युवराज कंडेल ।

लगानी सम्मेलनले प्रतिफल दिन नसक्नु, सबै सडकलाई २ लेनको बनाउने, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षणलगायतका थुप्रै कार्यक्रम कार्यान्वयनमै नआएको कंडेलले बताए । ‘जिल्लाका अरु पालिकाको तुलनामा राम्रो काम घोषणा गरेको हो । मेयरको काम गर्ने शैली पनि डाइनामिक हो,’ कंडेल भन्छन्, ‘अघि सारिएका कार्यक्रम र योजनाको कार्यान्वयन पक्ष कमजोर रह्यो, प्रचार बढी भयो ।’

शिक्षा क्षेत्रमा केके भए काम ?

मेयर घिमिरेले जनप्रतिनिधिका रुपमा पाउने तलबभत्ताबाट नगर प्रमुख छात्रवृत्ति कोष स्थापना गरी हरेक वर्ष सबै सामुदायिक विद्यालयका १/१ जना विद्यार्थीलाई छात्रवृत्ति दिने गरेका छन् ।

बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका विद्यार्थीलाई हरेक दिन २५ रूपैयाँ बराबरको दिवा खाजा तथा सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड दिइएको थियो । अधिकांश स्थानीय तहले यो कार्यक्रम सञ्चालन गरेपछि अहिले भने यी दुबै कार्यक्रम संघीय सरकारकै बजेटमा चल्ने गरेको छ ।

नगरपालिकाले ९ वटा सामुदायिक विद्यालयलाई बस सञ्चालनका लागि अनुदान दिएको छ भने ८ वटा सामुदायिक विद्यालयमा विद्यालय–नर्स कार्यक्रम सञ्चालन गरिएको छ ।

४२ वटै विद्यालयमा बाल विकास कक्षा सुरु गराइएको छ । यसका लागि यो आर्थिक वर्षमा ३२ इन्चको टिभीसहित कार्पेट र सिकाइ सामग्रीका लागि सबै विद्यालयलाई २ लाख रुपैयाँका दरले बजेट दिएको थियो ।

कूल वार्षिक बजेटको कम्तीमा २० प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गर्दै आएको नगरपालिकाको दाबी छ ।

हरेक वर्ष आवश्यकता हरेर विद्यालयलाई नयाँ कक्षाकोठा निर्माण, विज्ञान प्रयोगशाला स्थापना, पुस्तकालय स्थापना, व्यवस्थापन लगायतमा रकम दिने गरिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख गंगाराम आचार्य नगरपालिकाले शैक्षिक पूर्वाधारमा गरेको लगानीको प्रतिफल विस्तारै देखिन थालेको बताउँछन् । ‘सामुदायिक विद्यालयतर्फ आकर्षण क्रमशः बढ्दै गएको छ, भर्ना दर र विद्यार्थी संख्या उल्लेख्य बढेको छ,’ आचार्यले भने, ‘भौतिक पूर्वाधारमा भएको लगानीले बालमैत्री र विद्यार्थीमैत्री वातावरण बनेको छ, विद्यालय बीचैमा छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ ।’

नगरका सामुदायिक विद्यालयमा हरेक वर्ष दुई हजारका दरले विद्यार्थी संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । तीन वर्षअघि नगरका सामुदायिक विद्यालयमा कूल विद्यार्थी संख्या १२ हजार हाराहारीमा थियो, अहिले विद्यार्थी बढेर १६ हजार नाघेका छन् । साक्षरता दर ९०.२ प्रतिशत पुगेको छ । आधारभूत तहमा भर्ना दर ८९ प्रतिशत पुगेको छ ।

नगरपालिकाले सिटी कलेज स्थापना गर्न प्रदेश सरकारको सहयोगमा भौतिक पूर्वाधार तयार गरेको छ । वडा नं. १४ मा २ बिघा क्षेत्रफलमा १६ कोठासहित तीन तले भवन निर्माण भइसकेको छ । यहाँ प्राविधिक विषयमा उच्च शिक्षा पढाउने योजना छ ।

१७ वटै वडामा स्वास्थ्य सेवा

नगरभित्र ७ वटा स्वास्थ्य चौकी थिए । पछिल्लो ५ वर्षमा ३ वटा शहरी स्वास्थ्य केन्द्र र ७ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र थपिएका छन् । १७ वटै स्वास्थ्य संस्थामा सुविधासम्पन्न खोप केन्द्र निर्माण कार्य अघि बढेको छ ।

नगरमा २ वटा बर्थिङ सेन्टर थिए । जनप्रतिनिधि आएपछि सेमराबजार स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई स्तरोन्नती गरी आधारभूत स्तरको प्रसूति अस्पताल बनाइएको छ । आन्तरिक स्रोतमा एक चिकित्सक नियुक्त गरिएको छ भने नेपाल सरकारले छात्रवृत्तिमा पढाएका चिकित्सक पनि यहाँ कार्यरत छन् ।

गर्भवती र बालबालिकाको पोषणका लागि सुत्केरीसँग उपमेयर कार्यक्रम सञ्चालन गरिएको छ । ७० वर्षमाथिका नगरवासीलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुको साथै औषधि वितरण गर्ने कार्यक्रम सञ्चालित छ । यद्यपि यो कार्यक्रमको लागि अलग्गै जनशक्ति नभएकाले यसको प्रभावकारीमाथि प्रश्न उठेको छ ।

दूधमा अनुदान

नगरपालिकाले दुग्ध उत्पादक किसानलाई प्रतिलिटर १ रूपैयाँ अनुदान दिने गरिएको छ । चालु आर्थिक वर्षमा मात्र सहकारी संस्थामार्फत् ४६ लाख ६ हजार ५६९ लिटर दूध बिक्री भयो । सोहीअनुसार किसानले नगरपालिकाबाट प्रतिलिटर एक रुपैयाँको दरले ४६ लाख ६ हजार ५६९ रुपैयाँ प्राप्त गरे । अघिल्लो वर्ष सहकारीमार्फत् ४५ लाख ९८ हजार ८२१ लिटर दूध बिक्री भएको थियो ।

पशुपालक किसानले व्यहोर्नुपर्ने बीमा शुल्कमा ५० प्रतिशत अनुदान दिने नीति नगरपालिकाले लिएको छ । प्राकृतिक विपत्तिबाट कृषि उपज तथा पशुपालन व्यवसायमा हुने हानी नोक्सानीको क्षतिपूर्ति दिन ‘बाली संरक्षण कोष’ बनाइएको छ ।

चुनावी घोषणापत्र अनुसार कृषियोग्य जमिनको खण्डीकरण रोक्न भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गरिएको छ । करार खेती, सहकारी खेती र सामूहिक खेतीलाई पनि प्रोत्साहन गरिएको छ । खेतीयोग्य जमिन बाँझो राख्न नपाइने नीति छ ।

सामाजिक विकासलाई प्राथमिकता

नगरपालिकाले एकल महिलाको नाममा सञ्चालित व्यापार व्यवसायमा व्यवसाय कर र सम्पत्ति करमा १५ प्रतिशत छुट दिएको छ ।

मूल प्रवाहमा आउन नसकेको वर्ग वा समुदायलाई प्राथमिकता दिएर सीपमुलक तालिम सञ्चालन गर्नुका साथै लैङ्गिक मैत्री नगरपालिका बनाउन कार्ययोजना बनाएको छ । जसले गर्दा यसै वर्ष मात्र नगरपालिका संघले राप्तीसँगै तिलोत्तमालाई सामाजिक विकासतर्फ उत्कृष्ट घोषणा गरेर पुरस्कृत ग¥यो ।

हरियाली प्रवद्र्धन गर्न जन्मदिनमा एउटा बिरुवा रोप्न नगरवासीलाई आह्वानले गरिएको छ । यसको लागि वनस्पतिजन्य विरुवाहरु निःशुल्क वितरण गरिएको छ ।

सामुदायिक वन, खाली जमिन, निजी वन, सडकका दुबै किनार, विद्यालय परिसर, पार्क, घर वरिपरि गरी हालसम्म झण्डै दुई लाख विरुवा रोपिएको नगरको दाबी छ ।

भौतिक पूर्वाधारमा फड्को

तिलोत्तमा नयाँ नगरपालिका भएकाले जनप्रतिनिधि आउँदा नगरपालिकाको आफ्नो भवन थिएन । प्रशासनिक भवन कहाँ बनाउने भन्ने अन्यौल थियो । चुनावी घोषणापत्र अनुसार नगरपालिकाले अहिले वडा नं. ६ को कुञ्जलापुरमा सुविधासम्पन्न प्रशासनिक भवन निर्माण गरेको छ ।

यस्तै वडा नंं. ९ को केवलानीमा अतिथि गृह तथा सभाहल निर्माण गरेको छ । सबै वडामा नयाँ वडा कार्यालय भवन बनाइएको छ ।

सहकारीसँग मिलेर वडा नंं. ११ सुखौरा खोलाको नदी उकास क्षेत्रमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गरिएको छ । जनप्रतिनिधि आएपछि घोषणापत्र अनुसार निर्माण सम्पन्न गरी दुई वर्ष अघि नै यो केन्द्र सञ्चालनमा आएको हो ।

पाँच वर्षमा नयाँ तथा पुरानो सडक गरी ५०० किलोमिटरमा कालोपत्रे गरिएको मेयर घिमिरे दाबी गर्छन् । वडा नं. १४ मा प्रादेशिक स्तरको बस टर्मिनल बनाउन डीपीआर निर्माण भएको छ । सोही वडामा अटो भिलेजको प्रस्ताव गरिएको छ ।

विपद् पीडितलाई तत्काल राहत दिन ‘नगर प्रमुख विपद् व्यवस्थापन कोष’ स्थापना गरिएको छ । नगरको स्वीकृतिविना जग्गा प्लटिङमा रोक लगाइएको छ । एकीकृत बस्ती विकासको लागि ल्यान्ड पुलिङको अवधारणा ल्याइएको छ ।

आन्तरिक आय १३ करोडबाट ५५ करोड

पाँच वर्षअघि झण्डै १३ करोड रहेको आन्तरिक आय अहिले ५५ करोड पुगेको छ ।

६० प्रतिशत जनसंख्या १५ मिनेटमै यातायातको पहुँचमा र आधा घण्टामै स्वास्थ्य संस्था पुग्न सक्ने अवस्थामा पुगेको नगरको दाबी छ । पाँच वर्षमा एकीकृत शहरी विकासको खाकाअनुसार व्यवस्थित शहरको जग बसाल्न सफल भएको मेयर घिमिरेको दाबी छ ।

‘स्थानीय सरकारको नेतृत्वले चाहने हो भने परिवर्तन पनि सम्भव छ भन्ने तथ्य तिलोत्तमाले स्थापित गरेको छ, पाँच वर्षे परीक्षामा १०० पूर्णाङ्कमा तिलोत्तमाले ९५ नम्बर प्राप्त गरेको मेरो मूल्यांकन छ,’ नगर प्रमुख घिमिरेले अनलाइनखबरसँग दावी गरे, ‘चुनावका यति धेरै वाचा प्रतिवद्धता पुरा गर्ने संभवतः अरु पालिका छैनन् ।’

चुनावी घोषणापत्रमा उल्लेख भएका मध्ये हाइटेन्सन विद्युत लाइनलाई अण्डरग्राउण्ड गर्न र ५० किलोमिटर रिङरोडको काम मात्र पूरा गर्न नसकेको नगर प्रमुख घिमिरे बताउँछन् । ‘चाहँदा चाहँदै पनि दुई काम गर्न सकिएन,’ घिमिरेले दाबी गरे, ‘अरु सबै घोषणा कार्यान्वयनको चरणमा ल्याइसक्यौं ।’

तर २०७४ को चुनावमा घिमिरेका निकटतम प्रतिद्वन्द्वी रहेका रामकृष्ण खाँण घिमिरिको दाबी पत्याउँदैनन् ।

केके काम भएनन् ?

मेयरको घोषणापत्रमा उल्लेख भएका तर काम नभएका प्रतिवद्धता सम्झाउँदै खाँणले भने ‘भलबारीको आयल निगम डिपो अन्यत्र सार्ने, नगर यातायात, विद्युत, टेलिफोन र केबल तार भूमिगत व्यवस्थापन गरी ताररहित बनाउने, वातावरणमैत्री आधुनिक शव दाह गृह निर्माण, पार्कहरुमा निःशुल्क इन्टरनेट र वाईफाई उपलब्ध गराउने लगायतका काम पूरा भएका छैनन् ।’

यसैगरी बधशाला स्थापना, सबै नगरवासीको स्वास्थ्य वीमा गर्ने, नगर यातायात सञ्चालन गर्ने, शून्य मौज्दातमा प्रत्येक परिवार बैंक खाता खोल्ने, राजमार्गका दुबै तिरका घरमा एउटै रंग लगाउने, अटो भिलेज सञ्चालन गर्ने, खेलाडीलाई रोजगारी भत्ता, सबै टोलमा जेष्ठ नागरिक, बाल गृह, आश्रम, खेल मैदान, सामुदायिक भवन जस्ता महत्वाकांक्षी योजनाका काम पनि नभएको खाँण बताउँछन् ।

नगरपालिकाले अन्य दलसँग समन्वय नगरी मनपरी सार्वजनिक जग्गा बाँड्ने, पुरातत्व विभागको निर्देशनलाई कुल्चेर पुरातात्विक महत्वको पोखरीमा वडा कार्यालय बनाउने, प्रधानमन्त्री रोजगार र अन्य कार्यक्रमका नाममा आफ्ना कार्यकर्तालाई बजेट बाँडेर अख्तियार दुरुपयोग गर्ने काम गरेको खाँणको आरोप छ ।

संघीय सरकारले बनाएको बुटवल भैरहवा ६ लेनको सडकमा वत्ती बालेर तिलोत्तका मेयरले सस्तो प्रचारबाजी मात्रै गरेको उनको आरोप छ ।

‘५ वर्षमा उपमहानगरपालिका घोषणा गराउने, निरपेक्ष गरिबीमुक्त नगर बनाउने, स्याटेलाइट सिटीको पूर्वाधार बनाउने जस्ता सस्ता लोकप्रिय नाराहरु पूरा भएका छैनन्,’ खाँणले भने, ‘५ लाखको वत्तीले हाइवे झिलिमिली बनाएर नगरको भित्री क्षेत्रको वास्तविक अवस्था बिर्साउने र सस्तो प्रचारबाजी गर्ने काम भएको छ ।’
१७ का वडा अध्यक्ष दानबहादुर चौधरी पनि कामभन्दा प्रचार बढी भएको बताउँछन् । बहुमतको आडमा एमालेले जितेका वडामा मात्रै योजना र बजेट बाँडेर विभेद गरेको उनको आरोप छ । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चौधरी भन्छन्, ‘नगर प्रमुख र उपप्रमुखको सचिवालयको नाममा वडालाई भन्दा धेरै बजेट राख्ने अनि आफ्ना कार्यकर्तालाई बाँड्ने काम भएको छ ।’

कांग्रेसबाटै निर्वाचित वडा नंं. ९ का अध्यक्ष नारायण न्यौपानेले केन्द्रबाट सडकका लागि आएको चार करोड बजेट पनि मेयरले आफ्नो समेत लगानी रहेको तिलोत्तमा होम्स हाउजिङ कोलोनीलाई लक्षित गरेर ल्याएको आरोप लगाए । ‘मिडियाका कारण बाहिर राम्रो प्रचार भएपनि आम नगरवासी सन्तुष्ट छैनन्,’ न्यौपानेले भने, ‘तिलोत्तमाको भूगोल योगिकुटीदेखि कोटिहवासम्मको हाइवे मात्र हैन ।’

प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकनमा प्रदेशका १०९ पालिकामध्ये तिलोत्तमा १००औं नम्बरमा हुनुले पनि नगरपालिका सुशासनमा कमजोर रहेको पुष्टि गरेको तिलोत्तमा ८ का बासिन्दासमेत रहेका अध्यापक युवराज कंडेल बताउँछन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?