+
+

संवैधानिक इजलासमा पूर्व न्यायाधीश केसी : लेख्न, बोल्न नपाउने भएँ !

‘हाम्रो विचारमाथि बन्देज नलगाइयोस्’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १६:४९

 ९ चैत, काठमाडौं । पूर्वन्यायाधीश बलराम केसीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा उपस्थित भएर नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गरेका छन् । सर्वोच्च अदालतको एकल इजलासले जारी गरेको अन्तरिम आदेशका कारण पूर्वन्यायाधीशहरुको बोल्ने, लेख्ने र आफ्नो धारणा राख्ने स्वतन्त्रतामाथि प्रहार भएको भन्दै उनले अदालतमै उपस्थित भएर त्यसको प्रतिवाद गरेका हुन् ।

न्यायाधीश हरि फूयालको एकल इजलासले १७ भदौ २०७८ मा जारी गरेको आदेशले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित पार्न खोजिएको भन्दै त्यसको खारेजीको माग राखी केसीले २९ भदौ २०७८ मा सर्वोच्च अदालतमा निवेदन दिएका थिए । त्यही निवेदनवारे आफ्नो धारणा राख्ने क्रममा उनले नागरिकत स्वतन्त्रताको विषयलाई गम्भिरताका साथ लिन र मार्गदर्शक निर्णय दिन सुझाव दिए ।

गत भदौमा सर्वोच्च अदालतको एकल इजलासले संवैधानिक इजलासको सुनुवाइ रोक्नु भनी जारी गरेको आदेशमा पूर्वन्यायाधीश र बारका धारणामाथि पनि टिप्पणी थियो । आदेशमा भनिएको थियो, ‘अदालतमा चलिरहेको मुद्दामा पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरुले सार्वजनिक गर्ने अभिव्यक्ति, बार एशोसिएसनले गर्ने संस्थागत निर्णय सम्बन्धित मुद्दाको निर्णयका सम्बन्धमा गर्ने सार्वजनिक बहसहरुलाई अभिव्यक्तिको स्वतन्त्रता तथा न्यायिक संस्कृतिको परम्परा र विकासका सम्बन्धमा कसरी हेर्ने भन्ने विषयमा पनि हेर्नुपर्ने देखियो ।

उक्त आदेशले नागरिकका हैसियतले पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुले व्यक्त गर्ने धारणा र विचारमाथि बन्देज लगाउन खोजिएको भन्दै पूर्वन्यायाधीश केसी सर्वोच्च अदालतमा पुगेका हुन् ।

उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा व्यक्त गरेको धारणा :

नागरिकको लेख्ने, बोल्ने अधिकार रोक्न मिल्दैन । नागरिकको बोल्ने अधिकार झिकिदिने हो भने त पशु समान हुन्छ । संविधानले दिएको अधिकार अनुसार नै नागरिकले आफ्नो विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्न पाउनुपर्छ ।

गत भदौ १७ गते एकल इजलासको आदेशबाट मेरो बोल्ने अधिकार संकुचित पारियो । पूर्व न्यायाधीशलाई बोल्न र लेख्नबाट रोक्न खोजियो । त्यो आदेशमा विभिन्न प्रसंगहरु राखेर पूर्व न्यायाधीशभनिएको छ ।

अरु नागरिकलाई झै अभिव्यक्ति स्वतन्त्रता त पूर्वन्यायाधीशलाई पनि हुन्छ । सर्वोच्च अदालतको एकल इजलासको आदेश हाम्रो अभिव्यक्ति रोक्न खोज्यो । इजलासले रोकेपछि त मैले लेख्न बोल्न नपाउने भए । यसरी त म खत्तम हुने भएँ ।

सबै पूर्वन्यायाधीशहरु बोल्न पाउनुपर्छ । यस (संवैधानिक) इजलासले दिएको समयका लागि म आभारी छु । यहाँ मौका दिइसकेपछि मैले आफ्ना कुरा राख्न पाउनुपर्छ मैले केही विषयलाई यहाँ जोड्न खोजेको छु ।

हामी मुर्ख छैनौं । हामीलाई आफ्नो विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सीमा थाह छ । मैले जे पनि बोल्ने होइन । संवैधानिक र कानूनी सीमाभित्र रहेर बोल्ने हो । यो आदेशले त मेरो बोल्ने र लेख्ने अधिकारलाई खोसिदियो ।

यो (भदौ १७ गतेको) आदेशको एउटा सरोकारवाला म पनि हुँ । किनभने त्यहाँ पूर्वन्यायाधीशका विचार पनि भनिएको छ । यसवारेमा आफ्नो सरोकार जोडेर कुनै पूर्वन्यायाधीश नआए त यो बेवारिसे हुने भयो ।

यस्ता प्रकृतिका रिट निवेदनले समाजमा समस्या पारेको छ । यस्तै मौकामा यस्ता प्रयासहरु सच्याउन आवश्यक हुन्छ । अदालतले आफ्नो जनआस्था कायम राख्न पनि यस्तो बेलामा सक्रियता देखाउनुपर्छ । (नत्र) एकचोटी इज्जत गएपछि फेरि त्यसलाई माथि ल्याउन गाह्रो हुन्छ ।

यस्ता प्रकृतिका हस्तक्षेबाट आफ्नो सरोकारका कुरा राख्ने हो । न्यायपालिकाविरुद्ध रिट लिएर आउन पाइदैन । राज्यको निकाय(स्टेट अथोरिटी) विरुद्ध मात्रै रिट निवेदनमा जान पाइने हो । रिट निवेदनले आफै न्यायका लागि आएको अदालतलाई विपक्षी बनाएको छ ।

यो रिट निवेदन खारेज गरेरमात्रै पुग्दैन । निवेदन किन ल्याइयो, प्रश्न उठ्नुपर्छ । किन दर्ता भयो, प्रश्न हुनुपर्छ । कारण देखाउ आदेश समेत जारी हुन नसक्ने निवेदनमाथि हाम्रो बोल्ने र लेख्ने हक संकुचित हुने गरी आदेश भयो । अहिले सार्वजनिक सरोकारका मुद्दामा तछाडमछाड छ । ५ जना न्यायाधीशहरुले समय दिनुपरेको छ । अदालतको समय बर्बाद गरेको यो विषयमाथि गम्भिर रुपमा हेरिनुपर्छ । यस्ता निवेदनहरुलाई निरुत्साहित गर्न मार्गदर्शक निर्णय आउनुपर्छ भन्ने अपेक्षा गरेको छु ।

(सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले बुधबार संवैधानिक इजलासमा उपस्थित भएर राखेको धारणाको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?