
१० चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि भारतसँग प्रतियुनिट ३८ रुपैयाँमा विजुली खरिद गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बिहीबार पत्रकार सम्मेलन गरेर भारतसँग अहिलेसम्मकै उच्च मूल्यमा विजुली खरिद गर्ने गरी बोलकबोल गरेको जानकारी दिए ।
भारतमा विजुली महंगो भएको भन्दै प्राधिकरणले नकिन्दा नेपालका कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो । तर बुधबार भने नेपालले भारतीय बजारबाट महंगोमै भए पनि विजुली किन्ने गरी सम्झौता गरेको हो । २० भारुमा विजुली किन्दा नेपालले तिर्नुपर्ने रकम प्रतियुनिट ३८ रुपैयाँसम्म पर्न जाने प्रवक्ता भट्टराईको भनाइ छ ।
‘आजदेखि कार्यकारी निर्देशकको निर्देशनपछि हामीले २० रुपैयाँ प्रतियुनिट, त्यो भनेको नेपालमा ३८ रुपैयाँ प्रतियुनिट पर्छ, भरे १२ बजेर १५ मिनेटमा हाम्रो सबै सिष्टम नर्मल भएपछि त्यसबाट सात हजार मेगावाट आवर बिजुली किन्छौं’ उनले भने ।
नेपालले केही दिनअघिसम्म ८ रुपैयाँ भारुमा विजुली किनेको थियो । तर भारतमा ऊर्जाको मूल्य एक्कासी बढेको र सस्तो मूल्यमा प्रस्ताव गर्दा विजुली नै नपाएको हुनाले केही दिन नेपालमा विजुली अभाव भएको भट्टराईले बताए । ‘अहिले फुल रेटमा बिड गरेका छौं, अब विजुलीको समस्या नहोला’ प्रवक्ता भट्टराईले भने ।
लोडसेडिङ हुन्न : कुलमान
पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत आपूर्तिमा केही संकट आए पनि लोडसेडिङ नहुने बताए। सुख्खा मौसममा आन्तरिक उत्पादनले माग थेग्न नसकेपछि भारतबाट विजुली आयात गरेको तर भारतमा मूल्य उच्च भएकाले खरिद नगर्दा समस्या देखिएको उनले बताए ।
तर यो केही दिनको मात्र समस्या भन्दै कुलमानले भने, ‘यो एक दुई दिनको क्राइसिस हो, १५-२० वर्षपछि आएको क्राइसिस हो, अहिले पनि हामी लोड बढाउने नै हो, लोडसेडिङ हुँदैन’ उनले भने ।
भारतमा विजुलीको माग उच्च भएपछि विद्युत प्राधिकरणले केही दिनयता विजुली किनेको थिएन । जसले गर्दा कतिपय औद्योगिक क्षेत्रमा विजुली अभाव भएको थियो र लोडसेडिङ पुन दोहोरिने हो कि भन्ने उद्येगीहरुले चिन्ता व्यक्त गरेका थिए । तर घिसिङले सुख्खा मौसममा देखिएको संकट टार्न भारतसँग विजुली किन्न खोज्दा अत्यधिक महंगो परेको बताए ।
विद्युत प्राधिकरणले स्वदेशी विजुलीको माग धान्न भारतबाट प्रतियुनिट ३६ रुपैयाँसम्ममा विजुली खरिद गरेको छ ।
भारतबाट यो दरमा विजुली किन्दा प्राधिकरणलाई एक दिनमा २० देखि २२ करोड रुपैयाँसम्म बढी रकम तिर्नुपर्ने घिसिङले बताए । एक महिनासम्म यही दरमा विजुली किनेमा ८ अर्ब रुपैयाँ घाटा पर्ने उनको भनाइ छ ।
तर लामो समय महंगो दरमा विजुली किन्न आफूहरुले नसक्ने घिसिङले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4