
१० चैत, दमक । गोर्खा ब्वाइज क्लब रुपन्देही दमक गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । झापाको दमकस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कोलकातालाई ५–० को फराकिलो अन्तरले हराउँदै गोर्खा ब्वाइजले क्वार्टरफाइनलको यात्रा तय गरेको हो ।
गोर्खा ब्वाइजको जितका लागि यानिकले तीन गोल गरे भने सुसन तामाङ र सुनिल खड्काले एक-एक थपे ।
गोर्खा ब्वाइजले खेलको दास्रो मिनेटमै खाता खोल्यो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २० औं मिनेटमा यानिकले गोर्खाब्वाइजले अग्रतालाई दोब्बर बनाए । मैदानको मध्यभागबाट आएको बललाई उनले गोलमा परिणत गरे ।
खेलको ५१ औं मिनेटमा सुसन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे । खेलको ७० औँ मिनेटमा सुनिल खड्काले चौथो गोल गरे । खेलको इन्ज्युरी समयमा यानिकले व्यक्तिगत तेस्रो र टिमका लागि पाँचौं गोल गरे ।
खेलमा दुर्गापुरले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा घर फर्कियो । दमक नगरपालिकाको दमक नगर खेलकुद विकास समितिको आयोजनमा भएको बिहीबारको खेलमा विजयी गोर्खा ब्वाइजका यानिक म्यान अफ द म्याच भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।
शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङ मर्स्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिए । यसअघि आयोजक दमक-११ लाई हराउँदै सर्लाहीको बागमती क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।
प्रतिक्रिया 4