+
+

यी हुन् काठमाडौंका पालिकामा मेयर उठ्न चाहने कांग्रेसका युवा

लिलु डुम्रे लिलु डुम्रे
२०७८ चैत १३ गते १७:०८

११ चैत, काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं जिल्लाका पालिकामा युवा पुस्ताका कांग्रेस नेताहरुले मेयरको दाबी गरेका छन् ।

काठमाडौंमा महानगरमा काठमाडौंसहित टोखा, तारेकश्वर, कागेश्वरी मनहरा, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, बूढानीलकण्ठ र शंकरापुर नगर ११ स्थानीय तह छन् ।

आसन्न स्थानीय तहका निर्वाचनमा काठमाडौंका पालिकाबाट मेयर उम्मेदवारका आकांक्षी पार्टीमा फरक फरक समूह निकट छन् । कतिपयले भने समूह नभई केन्द्रीय नेताको पक्षधरता लिएर उम्मेदवार बन्न खोजेका छन् ।

टोखामा ३२ वर्षीया रजनीको दाबी

टोखा नगरपालिकामा ३२ वर्षीया रजनी थापाले मेयरको दाबी गरेकी छन् । २०७४ मा टोखा नगरपालिकामा उपमेयरमा झिनो मतले उनी पराजित भएकी थिइन् । एमालेबाट उपप्रमुखमा विजयी ज्ञानमाया डंगोलले ८ हजार ९८ मत ल्याउँदा थापाले ८ हजार ३६ मत प्राप्त गरेकी थिइन् ।

‘उपमेयरमा म झिनो मतले पराजित भएकी हुँ । यसपटक मेरो दाबी मेयरमा स्वाभाविक रहन्छ,’ थापाले अनलाइनखबरसँग भनिन्, ‘उम्मेदवारको नाम सिफारिस गर्न पार्टीले परिपत्र गरेपछि मैले दाबी गर्छु ।’ कांग्रेसको क्षेत्रीय सचिव रहेकी थापा व्यवसायीसमेत हुन् ।

टोखामा गत निर्वाचनमा प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको थियो । प्रमुखमा एमालेबाट प्रकाश अधिकारीले ८ हजार ८९५ मत ल्याएका थिए । पराजित कांग्रेस उम्मेदवार हरिहर अधिकारीले ७ हजार ५१४ मत सहित पराजय भोगे ।

तारकेश्वरमा कृष्णहरि र इन्द्रमान

तारकेश्वर नगरपालिकाको मेयरमा कांग्रेसबाट उम्मेदवारमा ४० वर्षीय कृष्णहरि महर्जनको दाबी छ । उनी तारकेश्वर नगरको कांग्रेस सभापति समेत हुन् ।

‘तारकेश्वरमा नेपाली कांग्रेसलाई जिताउने अभियानमा छु । उठ्नको लागि सबैले मेरो मूल्यांकन गरेर नै अघि बढ भन्नुभएको छ,’ महर्जनले भने ।

कांग्रेस नेता भीमसेनदास प्रधान निकट उनी नेपाल च्याम्बर अफ कमर्स काठमाडौंको महासचिव हुन् ।

तारकेश्वर नगरपालिकामा युवा पुस्ताबाटै इन्द्रमान महर्जन पनि आकांक्षी छन् । उनी महासमिति सदस्य हुन् ।

तारकेश्वरमा गत निर्वाचनमा एमालेबाट मेयरमा रामेश्वर बोहरा विजयी भएका थिए । विजयी भएका बोहराले ९ हजार ३२६ मत ल्याएका थिए भने पराजित कांग्रेस उम्मेदवार श्रीराम थापाले ७ हजार ७५७ मत प्राप्त गरेका थिए ।

उपप्रमुखमा पनि एमालेले जितेको थियो । एमालेबाट भवानी डोटेल धिताल १० हजार ३३७ मत सहित विजयी हुँदा कांग्रेस दोस्रो स्थानको मत ल्याई पराजित भएको थियो । कांग्रेसबाट गीता न्यौपोने अर्यालले ६ हजार ९८३ मत ल्याएकी थिइन् ।

कागेश्वरी मनहरामा कार्कीको दाबी

कागेश्वरी मनहराको मेयरमा उपेन्द्र कार्कीको दाबी छ । काठमाडौं कांग्रेसको जिल्ला सभापतिमा पराजित कार्की गत स्थानीय तहको निर्वाचनमा पनि सोही स्थानबाट हार व्यहोरेका थिए ।

उनी प्रतिनिधिसभाका लागि सांसद लड्न चाहन्थे । तर सत्ता गठबन्धनबीच तालमेल हुँदा संघको टिकट प्राप्त हुन नसक्ने आँकलन गरी उनी नगरपालिकाको मेयरमा उठ्ने तयारीमा छन् ।

कागेश्वरी मनहरा काठमाडौं–२ मा पर्दछ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यही क्षेत्रबाट विगतमा विजयी हुँदै आएका छन् । संघीय निर्वाचनमा तालमेल हुने अवस्था बन्यो भने कांग्रेसले यो क्षेत्र छोड्नुपर्ने हुनसक्छ । भविश्यको परिस्थिति आँकलन गरेर नै मेयरमा उम्मेदवारी दिने उनले बताए ।

‘काठमाडौं–२ बाट संघका लागि कांग्रेसबाट उम्मेदवारको टिकट पाउनुपर्ने मैले नै हो । तालमेल भयो भने माधवकुमार नेपाललाई यो क्षेत्र छोड्नुपर्दछ,’ कार्कीले भने, ‘त्यसैले म स्थानीय तहमै उठ्छु ।’ कार्की सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।

गत निर्वाचनमा एमालेबाट यस नगरपालिकाको मेयरमा कृष्णहरि थापा विजयी भएका थिए । उनले ८ हजार ९६९ मत ल्याई जीत निकाल्दा कांग्रेसबाट पराजित कार्कीले ८ हजार ४८७ मत ल्याएका थिए । उपप्रमुख समेत एमालेकै उम्मेदवार विजयी भएकी थिइन् । विन्दु पुडासैनीले एमालेबाट उपप्रमुखमा ९ हजार १८२ मत ल्याउँदा कांग्रेसबाट पराजित उम्मेदवार अनिता अधिकारी थापाले ८ हजार २९६ मत ल्याएकी थिइन् ।

महानगरमा पनि छन् दाबी गर्ने युवा

कांग्रेस महानगरको सचिव सुशन वैद्य युवाबाट काठमाडौं मेयरको दाबी गरेका छन् ।

पेशाले इन्जिनियर वैद्यले अतिक्रमित जग्गा बचाउने अभियानमा सक्रिय हुँदै आएका छन् । उनले पुरातात्विक महत्वका क्षेत्रको संरक्षणमा काम गर्दै आएका छन् ।

नेपाल इन्जिनियरिङ एसोसिएसनको पूर्व कोषाध्यक्ष वैद्य, महामन्त्री गगन थापा र नेता प्रकाशमान सिंह निकट छन् ।

तीर्थराम डंगोल, हरिप्रभा खड्गी, निलकाजी शाक्य, प्रगतिमान रञ्जित, राजुराज शाक्य, सपना जोशीलगायतका पाका नेताहरु पनि दाबेदार रहेको महानगरमा आफू निकटलाई टिकट दिन कांग्रेसका शीर्ष नेताबीच नै हानथाप हुने गरेको छ ।

गत निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा कांग्रेस पराजित बनेको थियो भने उपमेयरमा हरिप्रभा खड्गी कांग्रेसबाट विजयी भएकी थिइन् । एमालेबाट विजयी विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याउँदा कांग्रेस उम्मेदवार राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएका थिए ।

कांग्रेसबाट उपप्रमुखमा विजयी खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरेकी थिइन् । एमाले र राप्रपाको गठबन्धन बनेको काठमाडौंमा राप्रपाबाट उपप्रमुखमा राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत ल्याई पराजय भोगेका थिए ।

गोकर्णेश्वर नगरपालिकामा चालिसे र रिसालको दाबी

गोकर्णेश्वर नगरपालिकाको मेयरमा सन्तोष चालिसे नै दोहोरिन चाहेका छन् । यहाँ अर्का युवक दीपक रिसालको पनि दाबी छ । चालिसे बहालवाला मेयर हुन्  भने रिसाल कांग्रेसको महासमिति सदस्य हुन् । मेयरका दाबीकर्ता दुबै युवा पुस्ताकै नेताहरु हुन् ।

मेयरमा विजयी चालिसेले गत निर्वाचनमा ९ हजार ९ मत ल्याएका थिए । उनले एमालेका उम्मेदवार पुण्यप्रसाद चौलागाईंलाई पराजित गरेका हुन् । यस पालिकामा उपमेयर पनि कांग्रेसकै शान्ति नेपाल विजयी भएकी थिइन् । नेपालले ८ हजार ५९८ मत ल्याई विजयी हुँदा एमाले उम्मेदवार शान्ति श्रेष्ठले ८ हजार ६२ मत ल्याएर पराजित बनिन् ।

बूढानीलकण्ठ नगरपालिकामा चालिसे र बस्नेतको दाबी

बूढानीलकण्ठको मेयरमा विनोद चालिसेको दाबी छ । चालिसे तत्कालीन कपन गाविसको अध्यक्षमा विजयी भएका थिए । हाल महाधिवेशन प्रतिनिधि हुन् । चालिसेसँगै युवा पुस्ताबाट यो नगरपालिकाबाट कृष्णकुमारी बस्नेत पनि मेयरको आकांक्षी छन् । बस्नेत नेविसंघको पूर्व उपाध्यक्षसमेत हुन् ।

चालिसे महामन्त्री गगन थापा निकट छन् । बस्नेत नेता डा.प्रकाशशरण महत नजिक छन् ।

बूढानीलकण्ठ काठमाडौंको निर्वाचन क्षेत्र ४ र ५ मा पर्छ । काठमाडौं ४ को अधिकांश भाग बूढानीलकण्ठ नगरमा पर्दछ । उम्मेदवार छानिँदा बढी भाग पर्ने काठमाडौं ४ कै भूगोलबाट पर्ने सम्भावना बढी रहेको छ ।

गत निर्वाचनमा यहाँ एमालेका उम्मेदवार विजयी भएका थिए । एमालेबाट मेयरको उम्मेदवार उद्धवप्रसाद खरेलले १३ हजार २४६ मतसहित जित निकालेका थिए ।

कांग्रेस उम्मेदवार राजु श्रेष्ठले ८ हजार ९२७ मत ल्याएर पराजय भोगेका थिए । उपमेयरमा एमालेबाट रमादेवी राईले १३ हजार १८८ मत सहित जित निकाल्दा कांग्रेस उम्मेदवार शुभद्रा खड्काले ९ हजार ७६८ मत ल्याएकी थिइन् ।

नागार्जुन, चन्द्रागिरि र दक्षिणकालीका मेयरको दोहोरिने इच्छा

नागार्र्जुनमा मोहनबहादुर बस्नेत, चन्द्रागिरिमा घनश्याम गिरी र दक्षिणकालीमा मोहन बस्नेत दोहोरिन चाहेका छन् । उनीहरु हालका बहालवाला मेयर हुन् । उनीहरु तीन जना दोहोरिन चाहेकाले अन्यले मुख खोलेका छैनन् ।

नागार्जुनमा मोहनबहादुर बस्नेतले ६ हजार ९६१ मत ल्याई जित निकालेका थिए । उनले एमालेका उम्मेदवार कृष्णहरि खत्रीलाई पराजित गरेका थिए । उपप्रमुखमा भने एमाले उम्मेदवार सुशीला अधिकारी ६ हजार ८७१ मत ल्याएर विजयी भएकी थिइन् । कांग्रेसबाट उपप्रमुख उम्मेदवार कल्याणी खड्का पराजित भएकी थिइन् ।

चन्द्रागिरिमा विजयी कांग्रेस उम्मेदवार घनश्याम गिरीले १३ हजार ३०९ मत ल्याएका थिए । उनले एमाले उम्मेदवार प्रह्लाद बहादुर कार्कीलाई पराजित गरेका थिए । कार्कीले १० हजार ४२१ मत ल्याएका थिए ।

चन्द्रागिरिमा उपप्रमुखमा भने एमाले उम्मेवार विजयी भएकी थिइन् । लिशा नकर्मीले एमालेको तर्फबाट ११ हजार ८३४ मत ल्याउँदा कांग्रेस उम्मेदवार इन्द्रावती श्रेष्ठले ११ हजार २३२ मत ल्याई पराजित बनिन् ।

दक्षिणकालीमा कांग्रेस उम्मेदवार मोहन बस्नेतले गत निर्वाचनमा जित निकालेका थिए । ४ हजार ६९८ मतसहित उनी विजयी हुँदा पराजित एमाले उम्मेदवार शशी शर्मा अर्यालले ४ हजार २६८ मत ल्याएका थिए ।

उप्रमुख पनि कांग्रेस उम्मेदवार विजयी भएकी थिइन् । कांग्रेसबाट उपप्रमुखमा बसन्ती तामाङले ४ हजार ७४९ मत ल्याई निर्वाचित हुँदा एमाले उम्मेदवार मीरा महर्जन पराजित भइन् ।

कीर्तिपुर र शंकरापुरमा पराजित नै उठ्ने लाइनमा

शंकरापुरमा गत निर्वाचनमा मेयरमा पराजित शंकर तिवारी सोही पदमा उठ्ने तरखरमा छन् । तिवारी युवा पुस्ताबाटै उम्मेदवारको दाबी गर्ने तयारीमा छन् ।

गत निर्वाचनमा उनले २ हजार ९४७ मत ल्याएर पराजित बनेका थिए । एमालेबाट विजयी प्रमुखका उम्मेदवार सुवर्ण श्रेष्ठले ४ हजार ८६९ मत सहित जीत निकालेका हुन् ।

शंकरापुरको उपप्रमुख पनि एमालेका उम्मेदवार विजयी भएकी थिइन् । शुक्रलक्ष्मी श्रेष्ठले ५ हजार ४३ मत सहित विजयी हुँदा कांग्रेस उम्मेदवार मञ्जु खड्काले ३ हजार ३०० मत ल्याएकी थिइन् ।

कीर्तिपुरमा राजकुमार नकर्मी पुनः प्रमुखको उम्मेदवार बन्ने दौडमा छन् । गत निर्वाचनमा पराजित नकर्मी कांग्रेसको काठमाडौं जिल्ला उपाध्यक्षसमेत हुन् । जिल्ला उपाध्यक्ष तथा गत निर्वाचनमा पराजित उम्मेदवार भएकाले नकर्मी उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

उनी युवा उमेर समूहमा भने पर्दैनन् । २०७४ मा मेयरको उम्मेदवार भएका उनले ६ हजार ६१६ मत ल्याई पराजित भएका थिए । विजयी एमालेका उम्मेदवार रमेश महर्जनले ७ हजार ३६० ल्याएका थिए ।

कीर्तिपुरमा उपप्रमुखमा पनि एमाले उम्मेदवारले जित निकालेका थिए । एमालेबाट सरस्वती महर्जनले ६ हजार ८१० मत ल्याउँदा कांग्रेस उम्मेदवार विमला विष्टले ६ हजार ४३ मत ल्याएकी थिइन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?