+
+
कोरोना महामारीको दुई वर्ष :

महामारी मत्थर, तर पर्यटन क्षेत्रलाई अझै सकस

२०७६ पुसबाटै विदेशी पर्यटक र पर्यटकीय गतिविधि घटेर थला पर्न सुरु गरेको नेपालको पर्यटन क्षेत्र महामारीको तेस्रो लहरको कटिसक्दा समेत उठ्न सकेको छैन ।

अच्युत पुरी अच्युत पुरी
२०७८ चैत ११ गते १९:२६
फाइल तस्वीर

११ चैत, काठमाडौं । ११ चैत २०७६ मा सरकारले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गर्दा एकाएक दैनिक जनजीवनदेखि सबैजसो क्षेत्र प्रभावित हुन पुगे । २०७६ पुसबाटै विदेशी पर्यटक र पर्यटकीय गतिविधि घटेर थला पर्न सुरु गरेको नेपालको पर्यटन क्षेत्र महामारीको तेस्रो लहरको कटिसक्दा समेत उठ्न सकेको छैन ।

कोराना महामारी मत्थर हुँदै गएपछि प्रायः सबै क्षेत्र खुकुलो हुँदै गएको छ । पछिल्लो समय अर्थतन्त्रका अधिकांश क्षेत्र पुरानै अवस्थामा फर्किन थालेका छन् । तर, पर्यटन क्षेत्र भने अहिले पनि पुरानो अवस्थामा फर्किन सकेको छैन ।

पर्यटन सचिव महेश्वर न्यौपाने भन्छन्, ‘स्कुल खुलेको कति भइसक्यो, पर्यटनमा अझै किन झन्झट ? कोरोना भाइरसको महामारी संसारभर कम भइरहेको र अधिकांश यात्रुले खोप पनि लगाइसकेको अवस्थामा नेपालका अन्य निकायसँग पर्यटन मन्त्रालयले गर्नुपरेको संघर्षलाई समेत उनी सम्झन्छन् ।

विदेशी मुद्राको सञ्चितिको अभावले वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता ६ महिना भन्दा कम भइसकेको देखिन्छ । यस्तोमा पर्यटकबाट हुने आय समेत कम हुँदा समग्र अर्थतन्त्रमै यसले नकारात्मक असर गरिरहेको सचिव न्यौपानेले बताए ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२२ फेब्रुअरीमा १९ हजार ७ सय ६६ जना पर्यटक नेपाल आएका छन् । तर, सामान्य अवस्थामा सन् २०१९ फेब्रुअरीमा १ लाख २ हजार ४ सय २३ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०२२ जनवरी र फेब्रुअरी गरी दुई महिनामा कुल ३७ हजार ७ सय ४१ जना पर्यटक आएको देखिएको छ । यो आंकडाले कोरोनापछि नेपालको पर्यटनको रिकोभरी हुन अझै लामो समय लाग्ने देखिएको छ । पर्यटन व्यवसायी समेत यस्तो अवस्थाबाट पार लगाउन सरकारले अभिभावकत्व लिनु पर्ने बताउँछन् । व्यवसायीहरु खासगरी युरोपको युद्ध र नेपालले लिन नसकेको वैकल्पिक प्रवद्र्धनको नीतिका कारण पर्यटन क्षेत्र अझै पनि अन्यौलमा रहेको गुनासो गर्छन् ।

फेब्रुअरी महिनामा भएको पर्यटक आगमन

  • सन् २०१९ : १,०२,४२३
  • सन् २०२० : १,०१,४००
  • सन् २०२१ : ९,१४६
  • सन् २०२२ : १९,७६६

एयरलाइन्स उठ्यो, पर्यटन र होटल व्यवसाय थला पर्‍यो

कोरोना महामारी कम भएपछि अर्थतन्त्रका अन्य क्षेत्र जस्तै हवाई क्षेत्र भने छिटो ‘रिकभरी’ भएको क्षेत्र मध्येमा पर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार अहिले आन्तरिक उडान संख्या कोरोना भाइरसको महामारी भन्दा अगाडिकै अवस्थामा पुगिसकेको छैन । दैनिक करिब १४/१५ हजार यात्रुले यात्रा गर्न थालेका छन् । यसमा बुद्ध एयर एक्लैले ८ हजार दैनिक यात्रुको आंकडा कोरोना भाइरसको महामारीपछि पार गरिसकेको छ । तर, होटल र पर्यटन क्षेत्र भने अझै पनि कमजोर छ ।

होटल संघ नेपाल (हान) का अनुसार पर्वतारोहण मौसम नजिकिएसँगै अहिले होटल बुकिङको ट्रेन्ड बढेको छ । तर, यो अक्कुपेन्सीका दृष्टिकोणबाट भने पर्याप्त छैन ।

हानका सदस्य युवराज श्रेष्ठका अनुसार कोरोनाका बीच शून्यको बीचमा पुगेको अक्कुपेन्सी १५/२० प्रतिशतसम्म उक्लिएको छ । तर, होटल उद्योग नाफामा जान कम्तीमा ६० प्रतिशत अक्कुपेन्सी हुनुपर्ने मानिन्छ ।

जसले गर्दा अहिले पनि होटल उद्योग संकटमै रहेको उनले बताए । यसबीचमा सीमा क्षेत्रमा रहेका होटल र क्यासिनोमा भने राम्रो व्यापार भइरहेको उनको भनाइ छ । आन्तरिक पर्यटनका कारण शहरी भेगको आसपास रहेका होटल/रिर्सोटमा समेत व्यापार भने सन्तोषजनक रहेको उनको भनाइ छ ।

प्रयास पर्याप्त छ ?

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न निजामती कर्मचारीलाई १० दिने पर्यटन काज बिदा दिने कार्यक्रम चालु आर्थिक वर्षमा ल्याएको थियो । यो कार्यक्रम कार्यान्वयनमा ल्याउने कार्यविधि अहिले अर्थ मन्त्रालयमा अड्किएको छ ।

पर्यटन क्षेत्रलाई महत्व दिने गरी नेपालका सरकारी निकाय र पर्यटन बोर्डले पहल नै लिन नसक्दा त्यसले पर्यटक आगमनमा असर गरेको छ-बोर्डका निवर्तमान सीईओ दीपकराज जोशी ।

गाउँ पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष ध्रुव सिंखडाले यो कार्यक्रम छिटो कार्यान्वयनमा ल्याएर पर्यटन क्षेत्र चलायमान बनाउन सुझाव दिन्छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम सुवेदीले रात्रिकालीन व्यवसाय बन्द नगर्ने सरकारको निर्णय सकारात्मक भएको भन्दै पर्यटनमा दीर्घकालिन प्रभाव पार्ने राम्रो निर्णयहरु गर्न सरकारले पहल लिनुपर्ने बताउँछन् ।

सरकारले रात्रिकालीन व्यवसाय बन्द नगर्ने निर्णय लिएपछि ठमेलसहितका क्षेत्रका व्यवसायी उत्साहित बनेका छन् । यसले आन्तरिक पर्यटकीय गतिविधि समेत बढाउन भूमिका खेल्ने उनको भनाइ छ । पछिल्लो समय पर्यटन बोर्डले आन्तरिक रुपमा क्षेत्रीय मार्टहरु आयोजना गरिरहेको भएपनि बोर्डले यसबीचमा आफ्नो बलियो उपस्थिति भने देखाउन सकेको छैन । खासगरी बोर्ड र मन्त्रालयबीचका किचलोको प्रभाव पर्यटन प्रवर्द्धनमा देखिएको छ ।

कहाँ चुक्यो नेपाल ?

नेपाल पर्यटन बोर्डका निवर्तमान सीईओ दीपकराज जोशी भएका उपलब्धिलाई पनि नेपालले राम्रोसँग प्रचार गर्न नसक्दा नेपाल चुकेको बताउँछन् ।

कोभिड महामारीपछि कोरोनाको खोप सबैभन्दा धेरै नागरिकमा छिटो पुर्‍याउने मुलुकमा नेपाल पनि थियो । यो जानकारीलाई नेपालले संसारमा बेच्नै नसकेको उनले बताए । अर्कोतर्फ संसारका धेरै मुलुकले गन्तव्य खुला गरिसक्दा पनि नेपालले गर्न नसक्दा नेपालतर्फ आउने पर्यटकले गन्तव्य परिवर्तन गरेको उनको भनाइ छ । उनका अनुसार माल्दिभ्सले कोरोनापछि ७० प्रतिशत पर्यटक रिकभरी गरिसकेको छ ।

श्रीलंकाले समेत मासिक १ लाख भन्दा माथि पर्यटक भित्र्याउन थालिसकेको उनले जानकारी दिए । तेस्रो कारणमा भने उनले अन्तर निकाय समन्वयको अभाव देख्छन् । खासगरी पर्यटन क्षेत्रलाई महत्व दिने गरी नेपालका सरकारी निकाय र पर्यटन बोर्डले पहल नै लिन नसक्दा त्यसले पर्यटक आगमनमा असर गरेको उनले बताए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?