
११ चैत, काठमाडौं । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि नेपाल पर्वतारोण संघ (एनएमए)को साधारण सभा रोकिएको छ । एनएमले ९ चैतका लागि साधारण सभा गर्ने निर्णय गरेको थियो ।
८ चैतमा उच्च अदालतले तत्कालका लागि साधारण सभा नगर्न अल्पकालीन आदेश दिएको थियो । हालको कार्यसमितिको पदावधि सकिएकाले उसले गर्ने निर्णयहरू अवैध हुने र औचित्य पुष्टि नहुने दाबी गर्दै एनएमएभित्रकै एक समूहले अदालतमा रिट दायर गरेको छ । सो समूहले वर्तमान कार्यसमितिको विकल्पमा पाँच सदस्यीय तदर्थ समिति गठन हुनुपर्ने र सोही समितिले साधारण सभा बोलाउनु पर्ने माग अघि सारेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै वर्तमान कार्यसमितिले भने साधारण सभा रोकिँदा संघले अनावश्यक व्ययभार बेहोर्नुपरेको भन्दै संस्थाभित्र तिक्तता नबढाउन अनुरोध गरेको छ ।
पत्रकार सम्मेलनमा संघका महासचिव कुलबहादुर गुरुङले कोरोना महामारीका कारण विधानले तोकिए बमोजिमको समयमा साधारण सभा गर्न नसकिएको भन्दै वर्तमान कार्यसमितिले छिटो कार्यकाल हस्तान्तरण गर्न चाहेको बताए ।
अदालतले १५ चैतमा लिखित जवाफका लागि दुवै पक्षलाई बोलाएको छ ।
एनएमएको वर्तमान कार्यसमिति ५ अगस्ट २०१७ मा भएको निर्वाचनबाट चुनिएको हो ।
२० अगस्ट २०१७ मा पुरानो कार्यसमितिले नयाँलाई नेतृत्व हस्तान्तरण गरेको थियो । संघको विधान अनुसार तीन वर्षे कार्यकाल १ सेप्टेम्बर २०२० मा कार्यकाल सकिनु पर्ने थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4