+
+
अनुदित कथा :

मोटे

एट्गार केरेट एट्गार केरेट
२०७८ चैत १२ गते १३:५५

अचम्म ? अचम्म त लागिहाल्छ नि ! तँ एउटी केटीसँग बाहिर जान थाल्छस् । पहिलो डेट, दोस्रो डेट, यता रेस्टुरेन्ट, उता फिल्म त्यो पनि सधैं दिउँसोको शो । तिमीहरु सुत्न थाल्छौ, सेक्समा गुनासो गर्ने कुनै ठाउँ हुँदैन । छिट्टै भावनाहरु पनि पलाउँछन् ।

त्यसपछि ? एकदिन ऊ रुँदै कोठामा आउँछे । उसलाई तँ अँगाल्दै र भन्छस्, ‘चिन्ता नगर, सबै ठीक हुन्छ ।’

तर, ऊ भन्छे ‘अब यहाँभन्दा बढी ऊ सहन सक्दिनँ ।’

ऊसँग एउटा रहस्य छ । यो कुनै सानोतिनो रहस्य होइन, एकदमै घिनलाग्दो रहस्य । सराप । जो ऊ तँलाई धेरै अघि भनिसक्न चाहन्थी तर अझै आँट गर्न सकेकी छैन । यो उसको छातीमा भारी बनेर बसेको रहस्यबारे आज ऊ तँलाई भन्ने छे, भनेरै छोड्ने छे ।

तर, उसलाई थाहा छ । उसले तँलाई यो कुरा सुनाउनेबित्तिकै तैंले उसलाई छोड्नेछस् र तँ गलत पनि हुनेछैनस् ।

‘म तिम्लाई छोडि्दनँ,’ तँ उसलाई भन्छस्, ‘म छोडि्दनँ । आइ लभ यु ।’

तँ दिक्क मानेजस्तो देखिएलास् । तर दिक्क नमानेस् । मानिरहेकै भएपनि उसको रुवाइले गर्दा मानिरहेको छस्, उसको खुलाउन खोजेको रहस्यले गर्दा हैन ।

आजसम्ममा तैंले बुझिसकेको छस् । यी रहस्यहरु जसले केटीहरुलाई यसरी धुजाधुजा पार्छन्, प्रायः जनावरसँग, वा मोर्मोनसँग, वा पैसाका लागि कसैसँग सुतेकोबारे हुन्छन् ।

लेखक एट्गार केरेट र कथालाई नेपालीमा उतार्ने सुदर्शन पौडेल

‘म रण्डी हुँ’, उनीहरु रुँदै भन्न पुग्छन् । तँ उनीहरुलाई अँगाल्छस् र भन्छस्, ‘अहँ, हैनौ, तिमी हैनौ’ अथवा त्योभन्दा पनि अगाडि उनीहरु रोकिएनन् भने ‘च्व..च्व..च्व… ।’

‘यो धेरै नराम्रो कुरा हो के !’ ऊ भन्छे । मानौं तैंले जति नै लुकाउन कोसिस गरे पनि उसले तेरो बेवास्ता महसुस गरिसेकेकी छ ।

‘पेटमा राखिराख्दा नराम्रो लाग्ला !’ तँ उसलाई भन्छस्, ‘तर कुरा दबिएको भएर त्यस्तो लागेको हो । बाहिर झिक्नेबित्तिकै त्यति नराम्रो लाग्ने छैन । अहिले थाहा पाउँछ्यौ ।’
उसले लगभग पत्याउँछे ।

ऊ एकछिन हिच्किचाउँछे र सोध्छे, ‘यदि मैले तिमीलाई ‘म हरेक राति एउटा मोटो, रौं नै रौं भाको मान्छेमा बद्लिन्छु । त्यो मान्छेको घाँटी देखिँदैन, जसले कान्छी औंलामा सुनको औंठी लगाउँछ’ भनें भने के मलाई माया गरिराख्थ्यौ ?’

‘जरुर माया गर्थें,’ तँ भन्छस् । अरु तँ के भन्न सक्छस् ? माया गर्दिनँ ? उसले खाली तेरो परीक्षा लिँदैछे । तँ उसलाई हरहालतमा माया गर्छस् कि गर्दैन जान्न खोज्दैछे । र, तँ यस्ता परीक्षामा सधैं पास हुन्छस् ।

तैँले यति भनिनसक्दै ऊ पग्लिन्छे । फेरि तिमीहरु त्यही बैठक कोठामा सेक्स गर्न थाल्छौ । पछि त्यहीं एकअर्काको अँगालमा पल्टिन्छौ । त्यसपछि ऊ रुन थाल्छे । कारण – उसलाई ठूलो भारी बिसाएजस्तो लागेको छ ।

तँ पनि रुन्छस् । यसको कारण भने तँ आफैं खोज् ।

त्यो दिन ऊ अरूभन्दा बेग्लै हुने छ । ऊ उठेर हिँडि्दन । त्यहीँ बसिरहन्छे र निदाँउछे । तँ जागिरहन्छस्, उसको लोभलाग्दो जिउ हेर्दै । बहिरको अस्ताउन लागेको घाम हेर्दै ।

शून्यताबाट प्रकट भएजस्तो चन्द्रामा हेर्दै । उसको शरीरमा टल्किएको बत्तिको प्रकाश हेर्दै । उसको कपाल खेलाउँदै ।

अनि ? पाँच मिनेट पनि नबित्दै तँ आफूले आफूलाई यो मान्छेको छेउमा पल्टिरहेको पाउँछस्- यो पुड्के मोटे मान्छे ।

यो पुड्के मोटे मान्छे उठ्छ र तँलाई हेरेर मुस्कुराँउछ, अनि अप्ठ्यारो मान्दै लुगा लगाँउछ । ऊ कोठाबाहिर जान्छ र तँ उसलाई अचम्म मान्दै पछ्याँउछस् । टिभी अगाडि छ ऊ । उसका मोटा औँलाले स्पोर्टस् खोज्दै रिमोट थिँच्दैछ ।

टिभीमा च्यानलमा च्याम्पियन्स लिग चलिरहेको छ । कसैले पास मिस गर्छ, ऊ टिभीलाई गाली गर्न थाल्छ । जब कसैले गोल गर्छ, ऊ उठ्छ र एकछिन नाच्छ ।

खेल सकिएपछि, उ तँलाई भन्छ कि उसको घाँटी सुख्खा छ र पेट कराइरहेको छ । यतिबेला उसले बियर र मासुलाई नाइँ भन्ने थिएन । ठिक्क पाकेको मासु, छेउमा टन्न अनियन रिङसहित । नत्र पोर्क चप भएपनि ठीक छ ।

त्यही भएर तँ कारमा पस्छस् अनि उसलाई उसले चिनेको रेस्टुरेन्टमा लिएर जान्छस् । यसपछि आउने मोडले तँलाई चिन्तित पार्छ । साँच्चै चिन्तित । तर, तँलाई के गर्नेबारे केही उपाय छैन । तेरो दिमागका कमान्ड र कन्ट्रोल सेन्टर डाउन भइसकेका छन् । तँ रनभुल्लमा गियर बदलेर अगाडि बढ्छस् ।

ऊ तेरो छेउमै छ, प्यासेन्जर सिटमा । कान्छी औँलाको औँठी खेलाउँदै । अर्को घुम्तीमा, ऊ झ्याल तल झार्छ, तँलाई हेरेर आँखा झिम्याँउछ र बाहिर लिˆट माग्न बाटोमा उभिएकी केटीलाई हेर्दै कराँउछ, ‘हे, मैया, पछाडि आउने हो रमाइलो गर्नलाई ?’

पछि, तिमीहरु भुँडी नपडि्कँदासम्म चप, स्टेक र अनियन रिङ ठुस्छौ । मोटे हरेक गाँस खुसी हुँदै खान्छ र बच्चा जसरी हाँस्छ । यो बितिरहँदा तँ आफूलाई भनिरहन्छस्, ‘यो पक्कै सपना हो । विचित्र नै सही, तर पक्कै सपना हो जसबाट तँ कुनैपनि मिनेट निस्किनेछस् ।’

फर्किँदा बाटोमा, तँ उसलाई कहाँ छोडि्दम् भनेर सोध्छस् । ऊ नसुनेजस्तो गर्छ । तर, निराश देखिन्छ । त्यसैले तँ उसलाई तँसँगै घर फिर्ता लिएर आइपुग्छस् । ‘तीन बज्न लागिसक्यो । म अब गएर पल्टिन्छु,’ तँ उसलाई भन्छस् ।

ऊ तँलाई हेरेर हात हल्लाँउछ । फेसन च्यानल हेर्दै बिनब्यागमा बसिरहन्छ । तँ बिहानमा ब्युँझन्छस्, थकित र थोरै पेट दुःखाइसहित । उ त्यहीँ छे बैठक कोठामा । अझै निदाइरहेकी ।

तर, तँ नुहाएर निस्कँदासम्म उ ब्युझिसकेकी छे । उ तँलाई अँगाल्छे ग्लानीसहित । तँ केही भन्न पनि लज्जित छस् ।

समय बित्दै जान्छ । तिमीहरु अझै सँगै छौ । सेक्स अझ राम्रो, झन् राम्रो हुँदै जान्छ । ऊ अब पहिलेजस्ती जवान छैन । न तँ नै छस् । एकदिन अचानक तिमीहरु आफूहरुलाई बच्चा जन्माउने विषयमा बोलिरहेको पाउँछौ ।

रातमा तँ र त्यो मोटे मान्छे बजार निस्कन्छौ । यसरी कि तँ यसअघि जिन्दगीमा कहिल्यै निस्केको छैनस् । ऊ तँलाई रेस्टुरेन्ट र बारहरुमा लैजान्छ जुन तँलाई त्यहाँ थिए भन्ने पनि थाहा थिएन । यसरी रमाइलो गर्छौ, मानौं भोलि छैन । तिमीहरु टेबलमा सँगै नाच्छौ ।

यो धेरै राम्रो छ, मोटे मान्छे । केटीको मामिलामा अझ अलि मूर्ख छ । कहिलेकाहीं यस्तो गर्छ कि मरिहालूँ जस्तो बनाउँछ । तर पनि फेरि मान्छे निकै रमाइलो छ ।

तैँले सुरुमा यसलाई भेट्दा फुटबललाई वास्ता पनि गर्दैनथिस् । तर, तँ अहिले सब टिमलाई चिन्छस् । जहिले-जहिले तँलाई मनपर्नेमध्ये कुनै टिमले जित्छ, तँलाई कुनै चाहेको वरदान पूरा भएजस्तो लाग्छ । जुन तेरो लागि ठूलो कुरा हो, किनकि प्रायः तँलाई आफू के चाहन्छस् भन्ने नै थाहा हुँदैन ।

यसरी सब चलिरहन्छ । हरेक रात तँ मोटेसँग जागा बस्दै अर्जेन्टिनाको फाइनल खेल हेर्छस् । तर, बिहान ब्युझँदा ऊ त्यहाँ हुन्छे । सबैभन्दा राम्री, दयालु मान्छे । जसलाई तँ पनि खुब माया गर्छस्, पीडा नहुन्जेलसम्म… ।

(इजरायली लेखक एट्गार केरेट उनका छोटा कथाहरुका लागि प्रख्यात लेखक हुन् । हिब्रु भाषामा लेखिएका उनका किताबहरु चालिसभन्दा भन्दा बढी भाषामा प्रकाशित छन् । यस कथालाई मिरियम स्लेसिंगरको अंग्रेजी अनुवादबाट नेपालीमा सुदर्शन पौडेलले उतारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?