+
+

अपडेट : नेपाल दोस्रो खेलमा पनि पराजित, पीएनजीलाई शृंखला

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत १२ गते १२:५६

१२ चैत, काठमाडौं । दीपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेपनि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल पपुवा न्यूगिनी (पीएनजी) सँग पराजित भएको छ ।

नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालमा पहिलो पटक भएको द्विपक्षीय एकदिवसीय श्रृंखला पीएनजीले २-० ले जितेको छ । अहिलेसम्म नेपालले चार श्रृंखला खेल्दा दुई श्रृंखला जितेको थियो । एक श्रृंखला बराबरी गरेको थियो । घरेलु मैदानमा पहिलो पटक द्विपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला खेलेको नेपाल पराजित हुन पुगेको हो ।

पीएनजीको जितमा लेगा सिएकाले ९० रन बनाए । यस्तै लोअर अर्डमा रिले हेकुरेले अविजित ४८ रन जोडे ।

पीएनजीसँग नेपालको यो लगातार दोस्रो हार हो । शुक्रबार भएको पहिलो खेलमा रोहित पौडेलले १२६ रन बनाएपनि नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।

लक्ष्य पछ्याउने क्रममा पीएनजीको सुरुवात राम्रो हुन सकेन । कप्तान सन्दीप लामिछानेले पहिलो ओभर बलिङ गर्दा पीएनजीले ९ रन जोडेको थियो । तर सोमपाल कामीले दोस्रो ओभरमा लगातार दुई विकेट लिए । सोमपालले ९ रन बनाएका ओपनर टोनी उरालाई दोस्रो बलमा कुशल भुर्तेलबाट क्याचआउट गराए भने तेस्रो बलमा कप्तान असद भालालाई आरिफ शेखबाट क्याचआउट गराए ।

अर्का ओपनर लेगा सिएकाले एक छेउबाट इनिङ्स सम्हाले । सिएका र चार्ल्स अमिनीले तेस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे ।

कप्तान सन्दीपले १३ औं ओभरमा उक्त साझेदारी ब्रेक गर्दै चार्ल्स अमिनीलाई एलबीडब्लु धरापमा पारे । अमिनीले ३० बल खेल्दै ७ चौका मद्दतमा ३५ रन बनाए । त्यही ओभरमा तीव्र गतिका बलर गुलसन झा घाइते भए । गुलसनले खेलमा १ ओभर बलिङ गर्दा २० रन खर्चिएका थिए ।

कप्तान सन्दीप र सोमपाल कामीसँगै गुलसन मात्र नेपाली टिममा मुख्य बलर थिए । तर गुलसन आउट भएपछि नेपालको बलर सर्ट भयो । त्यसपछि पवन सर्राफ र आरिफ शेखले समेत धेरै बलिङ गर्नु परेको थियो ।

त्यसपछि लेगा सिएकाले चौथो विकेटका लागि सेसे बाउसँग ११० रनको साझेदारी गरे । पवन सर्राफले ३३औं ओभरमा लेगा सिएकालाई बोल्ड गर्दै शतकीय साझेदारी तोडेका थिए । सिएकाले १०२ बल खेल्दै १२ चौका र १ छक्का मद्दतमा सर्वाधिक ९० रन बनाए ।

यस्तै सेस बाउलाई पनि पवनले नै ३७औं ओभरमा एलबीडब्लु धरापमा पारे । सेसे बाउले ६९ बल खेल्दै २ चौका मद्दतमा ३८ रन बनाए ।

त्यसपछि हिरी हिरी १३ र नोर्मन भानुअ ११ रन बनाएर आउट भए । तर रिले हेकुरले एक छेउबाट सम्हालिएर ब्याटिङ गर्दै पीएनजीलाई जितसम्म पुर्‍याए । हेकुरले ४५ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा अविजित ४८ रन बनाए । यस्तै चाड सपरले अविजित १६ रन जोडे । सपरले छक्का प्रहार गर्दै पीएनजीलाई जित दिलाएका हुन् ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै पवन सर्राफले २ तथा कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १-१ विकेट लिए । सन्दीपले शनिबार नै एकदिवसीय क्रिकेटमा ५० विकेट पूरा गरे ।

त्यसअघि दीपेन्द्र सिंह ऐरीको शतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ रन बनाएको थियो ।

नेपालका लागि दीपेन्द्रले १०५ रन बनाए । यस्तै देव खनालले ७२ रन बनाए भने रोहित पौडेलले ३५ र भीम सार्कीले २६ रन बनाए । कप्तान सन्दीप लामिछानेले अविजित २४ रन बनाए ।

नेपालले तीन ओभर भित्र दुवै ओपनरलाई गुमाएको थियो । तर मिडल अर्डरले उत्कृष्ट ब्याटिङ गरेको इनिङ्स सम्हाल्ने काम गरे । कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै रोयल डक आउट भए ।

पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् । यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए । नाओले नै अनिललाई विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए ।

पावरप्लेमा नेपालले २ विकेट गुमाएर ३१ रन बनाएको थियो । दुवै ओपनर आउट भएपछि देव खनाल र दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स सम्हालेका थिए । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि कीर्तिमानी शतकीय साझेदारी गरे ।

यी दुईले २८.१ ओभर सँगै खेल्दै १२९ रनको साझेदारी गरे । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेको यो सर्वाधिक साझेदारी हो । यसअघि शुक्रबार पीएनजी विरुद्धकै खेलमा रोहित पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए ।

देव र दीपेन्द्र दुवैले अर्धशतक बनाएपछि नेपालको रन गति बढेको थियो । अघिल्लो खेलमा पीएनजी विरुद्ध डेब्यु गरेका देव खनालले दोस्रो खेलमा आएर पहिलो अर्धशतक बनाएका हुन् । उनले ८६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

त्यसपछि दीपेन्द्रले रोहित पौडेलसँग चौथो विकेटका लागि अर्धशतकीय साझेदारी गरे । चौथो विकेटका लागि दीपेन्द्रसँग ५८ रनको साझेदारी गरेपछि रोहित ४०औं ओभरमा आउट भए ।

रोहितलाई चाड सपरले बोल्ड गरे । अघिल्लो खेलका शतकधारी रोहितले ३६ बल खेल्दै ३ चौका मद्दतमा ३५ रन जोडे ।

त्यसपछि दीपेन्द्रले पाँचौ विकेटका लागि भीम सार्कीसँग ५५ रनको साझेदारी गरे । ४७औं ओभरमा शतक पूरा गरेका दीपेन्द्र अर्को ओभरमा आउट भए । उनले १४० बल खेल्दै ७ चौका मद्दतमा १०५ रन बनाए । ४८औं ओभरमा नेपालले दीपेन्द्रसहित तीन विकेट गुमायो ।

दीपेन्द्रलाई चाड सपरबाट क्याचआउट गराएका पीएनजीका नोर्मन भानुअले अर्को बलमा भीम सार्कीलाई बोल्ड गर्दै लगातार दुई विकेट लिए । भीमले १९ बल खेल्दै १ चौका र १ छक्कामा २६ रन जोडे । त्यही ओभरको अन्तिम बलमा भानुअले ४ रन बनाएका आरिफ शेखलाई रनआउट गरे ।

नेपालको विकेट जाने क्रम रोकिएन । ४९औं ओभरको पहिलो बलमा पवन सर्राफ खाता नखोली आउट भए । उनलाई नाओले विकेटकिपर सिमोन अटाइबाट क्याचआउट गराए । नेपालले ७ बलको अन्तरमा ४ विकेट गुमाएको थियो ।

त्यसपछि कप्तान सन्दीपले ९ बल खेल्दै २ चौका र १ छक्का सहित अविजित २४ रन बनाए । अन्तिम ओभरको तेस्रो बलमा पीएनजीका फिल्डरले सन्दीपको क्याच ड्रप गरेका थिए । सन्दीपले अन्तिम ओभरको सबै ६ बल खेल्दै १६ रन जोडेका थिए ।

बलिङमा पीएनजीका लागि अलेइ नाओले ३, नोर्मन भानुअले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १ विकेट लिए ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?