+
+

उमेर समूहको महिला फुटबल निरन्तर खस्कँदै

नमिता दाहाल नमिता दाहाल
२०७८ चैत १३ गते ७:२६
२०२२ यू-१८ साफ खेलेको टिम ।

१३ चैत, काठमाडौं । नेपालको लगभग सबै खेलमा उमेरसमूहको प्रदर्शन अब्बल रहँदै आएको छ । महिला फुटबलमा सिनियरतर्फ नै नेपाल शीर्ष टोलीमध्ये पर्छ । तर, उमेर समूहको तीन संस्करणको नतिजा हेर्दा नेपालको स्तर खस्कँदो अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले महिला फुटबलले पुरुषको तुलनामा छिटो अन्तर्राष्ट्रिय प्रगति हासिल गर्नसक्ने भन्दै लगानी बढाउने योजना बनाएको बताए पनि नतिजा भने फरक छ ।

उमेर समूहको महिला फुटबल विकासका लागि दक्षिण एसियाली फुटबल फेडेरेसनले एक वर्षको अन्तरमा आयोजना गर्ने गरी सन् २०१८ देखि साफ यू-१८ महिला च्याम्पियनसिप सुरु गरेको हो । कोरोना महामारीका कारण दोस्रो संस्करण एक वर्ष सर्दा यू-१९ टोलीबीच प्रतिस्पर्धा गराइयो । नियमित समयमा आयोजना गरिएको तेस्रो संस्करण भने तीन महिनाको अन्तरमै यू-१८ टिमबीच आयोजना भयो ।

यू-१९ खेलेका धेरै खेलाडी यो प्रतियोगिताका लागि योग्य नहुँदा एन्फाले करिव दुई साताको सामान्य तयारीपछि किशोर टोलीलाई भारत पठाएको थियो । नेपाल, अघिल्ला दुवै संस्करणको विजेता बंगलादेश र भारत सम्मिलित प्रतियोगिता डबल राउण्ड रोविन प्रणालीमा खेलाएर अंकका आधारमा विजेता छिनोफानो गरिएको थियो । यसपल्ट नेपाल चारै खेलमा पराजित रह्यो ।

२०१८ को पहिलो संस्करणमा भारतलाई हराएर बंगलादेशसँग फाइनल खेलेको नेपाललले गएको पुसमा यू-१९ टिम सम्मिलित दोस्रो संस्करणमा तेस्रो स्थान हासिल गरेको थियो । यसपल्ट नेपाल तीन टिममध्ये तेस्रो भयो । जितविहीन चार खेलमा १८ गोल खाँदा ४ गोलमात्र गर्न सक्यो । अर्थात् नेपाल आक्रामक र रक्षात्मक दुवै स्तरमा निकै नै कमजोर देखियो ।

नेपालको महिला फुटबलमा उमेर समूहको संरचना छैन । आधिकारिक घरेलु प्रतियोगिता पनि छैनन् । त्यसैले गत कात्तिकमा आयोजना भएको उपमेयर कप राष्ट्रिय महिला फुटबलको प्रदर्शनलाई आधार मानेर केही युवा खेलाडी समावेश गरी टिम निर्माण गरिएको थियो ।

तीन महिनाअघि बंगलादेशमा खेलेको टिममध्ये पि्रती राईमात्र अनुभवी थिइन् । कप्तान प्रितीबाहेक ७ जना खेलाडी अघिल्लो टिममा रहे पनि खेल्न पाएका थिएनन् । भारत र बंगलादेशजस्ता महारथी टोलीसँग खेल्नका लागि नेपालका कप्तानबाहेक अन्य खेलाडीसँग एक खेलको पनि अन्तर्राष्ट्रिय अनुभव थिएन ।

महिला राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक तथा एन्फा महिला विभाग प्रमुख हरि खड्काले भनेका छन् कि यो प्रतियोगिताबाट नेपाल टिमले आफ्नो स्तर थाहा पायो । ‘दक्षिण एसियाको महिला फुटबलमा सधैं भारतपछि बलियो टिम भनेर चिनिने नेपालले आफ्नो स्तर जाँच्ने मौका पायो,’ प्रतियोगिताका लागि नेपाली टिमको नेतृत्व गरी भारत जम्सेदपुर गएका खड्काले भने । यू-१७ वर्ल्ड कपको तयारीमा रहेको भारत यस पटक निकै बलियो थियो ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हतारमा खेलाडी बटुलेर थोरै तयारीमा पठाउने प्रवृत्तिलाई यू-१८ को पछिल्लो नतिजाले थप प्रमाणित गरेको छ । ‘अन्तर्राष्ट्रिय क्यालेन्डर पछ्याउन नसक्दा तयारीको लागि समय पुगेन । अन्तर्राष्ट्रिय एक्सपोजरको पनि कमी भयो,’ खड्काले अनलाइनखबरसँग भने, ‘हामीलाई यो प्रतियोगिताले एक्सपोजरको महत्व बुझाएको छ । हामीले यसलाई अवलम्बन गरी योजना बनाउनुपर्ने हुन्छ ।’

नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा दर्शन भक्तराज लावत र प्रशिक्षकमा पूर्व राष्ट्रिय खेलाडी भगवती थापा थिए । दुवैका लागि यो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । खेलाडी र प्रशिक्षककै लागि पनि नयाँ अनुभव हुनुले पनि नेपालको रणनीतिक प्रदर्शनमा असर गरेको हुनसक्छ ।

प्रशिक्षक थापाले समय अभावका कारण तयारीलाई खेलमा कार्यान्वयन गर्न नसकिएको बताइन् । ‘खेलाडीको कमी कमजोरीहरुलाई सुधार्ने समय भएन,’ प्रशिक्षक थापाले थपिन् । जिल्ला र क्षेत्रबाट बोलाइएका खेलाडीलाई चिन्ने समयसमेत अफिसियलले पाएनन् । पहिचान भएका समस्या सुधार गर्नसमेत नपाइएको प्रशिक्षक थापाको भनाइ थियो ।

यो प्रतियोगिताका लागि नेपालले १५ दिनको बन्द प्रशिक्षण गरेको थियो । त्यसअघि घरेलु प्रतियोगिता नहुँदा खेलाडी लामो समयदेखि आराममै थिए । फागुन ११ गतेदेखि २६ गतेसम्म प्रशिक्षण गरी २८ गते भारत प्रस्थान गरेको थियो ।

‘भारत र बंगलादेशले ६/७ महिनादेखि साफका लागि टिम तयारीमा ध्यान दिएको थियो । हामीले १५ दिन अभ्यास गरेर गएका थियौं । सुधार्ने समय नै नहुनु हाम्रो कमजोरी हो,’ भगवतीले भनिन् ।

महिला विभाग प्रमुख हरि खड्काका अनुसार कोरोना महामारीका कारण नियमित घरेलु प्रतियोगिता हुन नसक्दा खेलाडी पहिचान र राष्ट्रिय टिम निर्माणमा समस्या भएको हो । उनले भने, ‘कोभिडले गर्दा हामीले घरेलु प्रतियोगिता गर्न पाएनौं । कोभिडकै कारणले गर्दा अन्तर्राष्ट्रिय खेलको कमी भयो । त्यसैले यस पटक हामी कमजोर देखियौं ।’

नेपालमा खेल्दा नेपाली टिमको डिफेन्सको समस्या थाहा पाइएको थियो । प्रशिक्षकले केही परिवर्तन र खेलाडीलाई सैद्धान्तिक जानकारी दिनेभन्दा अरु समय नै पाएनन् ।

२०२२ यू-१८ साफमा नेपालको नतिजा

भारतविरुद्ध ७-०

बंगलादेशविरुद्ध ४-२

भारतविरुद्ध ५-१

बंगलादेशविरुद्ध २-१

यू-१८ साफमा नेपालको नतिजा
२०१८ उपविजेता

२०२१ तेस्रो (यू-१९)

२०२२ तेस्रो (जितविहीन)

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?