+
+

नाटा निर्वाचन अवधिमा मात्रै तातो

साँचो अर्थमा नेतृत्वभन्दा माथि संस्था हुनुपर्छ तर धेरै संस्थामा नेतृत्वले संस्था नै धरापमा पार्ने गरी गुट–उपगुट चलाएको देखिन्छ ।

कविन्द्र बुर्लाकोटी कविन्द्र बुर्लाकोटी
२०७८ चैत १४ गते १२:३१

ट्राभल र टुर व्यवसायीहरूको छाता संस्था नाटा (नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स) लाई विगतको दुई वटा कार्यकाल अर्थात् चार वर्ष नजिकबाट नियालें ।

अनुभवको आधारमा भन्न सक्छु– नाटा निर्वाचनको बेला मात्रै तात्ने र त्यसको करिब दुई वर्षसम्म सामसुम हुने संस्था रहेछ । हुन त अरू बेला पनि तातै रहला तर मैले महसुस गर्न पाइनँ ।

नाटाको एक सदस्य संस्थाको विगत चार वर्ष व्यवस्थापन गर्दैगर्दा दैनिक आउने फोन, इमेलहरू अधिकांश समय आफैंले हेर्ने र व्यवस्थापन गर्ने गर्दछु । त्यस अवधिमा नाटा सचिवालय र नाटा प्रतिनिधिहरूले एउटा सदस्य संस्थाको सरोकार राखेर सम्पर्क गरेको पाइनँ ।

पर्यटन व्यवसायमा प्रत्यक्ष संलग्न भएको यो चार वर्षको अवधिमा पछिल्लो दुई वर्ष त ट्राभल र टुर व्यवसाय झनै अप्ठ्यारो अवस्थामा गुज्रिरहेको छ । यस्तो अवस्थामा छाता संस्थाको तर्फबाट व्यवसायलाई पुनर्जीवन दिनको लागि प्रशस्त पहल हुनुपर्ने थियो । व्यवसायसँग सम्बन्धित यात्रा नियम, सेवा सञ्चालन, सेवा सञ्चालनका नीतिहरू परिवर्तन भइरहने र अहिले के भइरहेको छ भन्ने आधिकारिक सूचना संकलन गर्दै सेवा प्रवाहका लागि निकै अप्ठ्यारा क्षणहरू भोग्दै आइरहेका छौं ।

यस्तो अवस्थामा छाता संस्थाले व्यवसायसँग सम्बन्धित सूचनाहरू संकलन गरी इमेलबाट सूचना सम्प्रेषण गर्दा मात्र पनि छाता संस्था भएको महसुस रहन्थ्यो । हामी मात्रलाई सूचना नआएको हो कि भनेर अन्य सदस्य संस्थासँग बुझ्दा अरूलाई पनि केही आएको छैन भन्ने जवाफले समग्र गतिविधि नै परम्परागत रहेछ भन्ने लाग्यो ।

कुनै पनि छाता संस्थामा आबद्ध हुनुको पछाडि त्यो छाता संस्थासँग धेरै अपेक्षा हुन्छन् । संस्थाले आफ्ना सदस्यहरूको क्षमता विकासमा काम गरोस्, सदस्यहरूको समस्या बुझोस्, व्यवसायसँग आवश्यक अध्ययन, अनुसन्धान निरन्तर गरोस् भन्ने अपेक्षा हुन्छ ।

त्यस्तै, सदस्यहरूलाई आवश्यक पर्ने ज्ञानहरू बाँड्ने र सूचनाहरू प्रदान गर्ने गरोस्, अव्यावहारिक नीति, कानुन बदल्नको लागि सदस्यहरूको साथ लिएर सरकारसँग वकालत गरोस्, सदस्यहरूको कानुनी अप्ठ्यारा, चर्को कर असुली, जरिवाना जस्ता कुराहरूमा निडर भएर खबरदारी गरोस् भन्ने हुन्छ ।

सदस्यहरूलाई लोकतान्त्रिक विधिबाट संस्था संचालनमा संलग्न राखोस् र साथै सदस्यहरूसँग निरन्तर संवाद, साझेदारी र सौहार्दता कायम राखोस् भन्ने अपेक्षा पनि संस्थासँग हुन्छ । अन्यथा, कुनै रसरंग नभएको र नितान्त निर्वाचन एवं पद बाँडफाँटमा केन्द्रित संस्थामा गुणस्तरीय सदस्यता कायम हुन सक्दैन ।

नाटाको हकमा केही गैर सदस्य ट्राभलहरूलाई नाटाको सदस्य किन नलिनुभएको भनेर जिज्ञासा राखें । सदस्य बनेर के होला र भन्ने जवाफ पाएँ । एक सदस्य हुनुको नाताले त्यसको सदस्य हुँदाको लाभहानि सिद्धान्ततः के हुन्छ भन्ने अनुमान भए पनि व्यवहारमा यसो हुन्छ भन्ने हिम्मत गर्न सकिनँ ।

नाटाको उपयुक्त सञ्चालनको लागि काम के गर्ने भन्दा बढी नाटामा कसरी नेतृत्वमा पुग्ने, पदको सम्मान लिने, मुठ्ठीभरको लाभ र सम्मानमा रमाउने र सीमितताको व्याख्यात्मक प्रतिक्रिया दिने आदि क्रियाबाट नाटाले अपेक्षाकृत सदस्य सेवा गर्न सक्दैन र पुराना सदस्यको सन्तुष्टिका साथै नयाँ सदस्यको आकर्षण बढ्न सक्दैन ।

२०७७ मा भएको नाटा साधारणसभाको हाम्रो संस्थालाई सूचना नै प्राप्त भएन । एउटा छाता संस्थाको साधारणसभाको सूचना त्यसको सदस्यलाई नै प्राप्त हुँदैन र त्यस विषयमा सचिवालयमा गुनासो गर्दा त्यसको व्याख्यात्मक प्रतिक्रिया प्राप्त हुन्छ भने थप अपेक्षा गरेर के गुनासो राख्नु ?

हुन त नेपालमा सुझाव दिने, गुनासो गर्ने, आफ्नो हकको कुरा गर्ने भनेको पदमा हुनेको विरोध गरेको ठान्ने चलन छ । पदमा हुनेसँग निहुँ खोजेको बुझ्ने गरिन्छ । मेरो व्यक्ति वा कुनै पात्रसँग कुनै गुनासो छैन, छ त एउटा छाता संस्थासँग मेरो अपेक्षा छ र त्यो अपेक्षा पूरा गर्ने बाटोमा संस्था लागोस् भन्ने मेरो चाहना हो ।

आगामी केही दिनमा नाटामा नयाँ निर्वाचन हुँदैछ र निर्वाचन नै भएकोले केही दिन अगाडि त्यसको सूचना प्राप्त भयो । समग्र साधारणसभा र निर्वाचन तालिकाको सूचना प्राप्त हुँदा संस्थागत नीति, कार्यक्रम निर्माण, व्यावसायिक अध्ययन र सैद्धान्तिक कुरा भन्दा निर्वाचन केन्द्रित तालिका, उम्मेदवारी रस्साकस्सीको कुरा प्राथमिकताको साथमा उल्लेख गरिएको छ । यसबाट संस्था नीतिगत विषयमा कम र नेतृत्वमा बढी सक्रिय देखिन्छ ।

अर्को महत्वपूर्ण कुरा नीति भन्दा नेतृत्व हावी हुँदै गर्दा पनि संस्थाभित्र गुट वा समूह हुनु कमजोर पक्ष हो । कार्यगत एकता र मत मिलेर एकाध व्यक्तिको एउटै ताल भए पनि गुट र समूहहरू माथिदेखि मतदातासम्म देखिंदा संस्थाले अपेक्षाकृत गतिविधि गर्न सक्दैन ।

निर्वाचन प्रक्रियामा जानु प्रजातान्त्रिक अभ्यास हो तर राजनीतिक विचारको आधारमा दुई वटा वा तीन वटा समूह बनेर निर्वाचनमा जाँदा माथिदेखि तलसम्म चिरा पर्ने अवस्था हुन्छ । एउटा समूहले जित्दा अर्को समूहले सधैं विरोध गर्ने र मिश्रित परिणाम आउँदा समिति भित्रै मत धेरै बाझिने र असफलतातिर केन्द्रित हुन्छ ।

यो अवस्थालाई चिर्न अहिलेको निर्वाचनबाट निर्वाचित हुने नेतृत्वले पराजित हुने सबैसँग अन्तर संवाद गरी, सँगै मिलेर सदस्यहरूको बृहत् भेला आयोजना गरी संस्थालाई एक ढिक्का बनाएर लैजान प्रयत्न गर्नुपर्दछ र त्यसो गरोस् । यो अभ्यास वास्तवमा नीति, कार्यक्रम निर्माणको लागि अधिवेशन भन्दा महत्वपूर्ण हुन सक्छ । साँचो अर्थमा नेतृत्व भन्दा माथि संस्था हुनुपर्छ तर धेरै संस्थामा नेतृत्वले संस्था नै धरापमा पार्ने गरी गुट–उपगुट चलाएको देखिन्छ ।

नाटामा यस पटक दुई वटा समूहले मनोनयन गरेको समाचार बाहिर आएको छ । हामी सदस्य संस्थाले निर्वाचन तालिका इमेलमा पाएका छौं । तर डिजिटल युगको सदस्य संस्थाको हैसियतमा न त मतदाताको नामावली देख्न पाएका छौं, न त उम्मेदवारको सूची । तालिका भित्तामा टाँसिएर अगाडि बढेको होला । यो डिजिटल युगमा कस्ता उम्मेदवार रहेछन् भनेर नाटाको वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमा देखिएन । यसैबाट पनि संस्थाको कार्यशैली र गतिशीलताको अवस्था झल्कन्छ ।

नाटाको प्रभावकारिताको अपेक्षाले नाटाको अवस्था र पद्धतिको बारेमा केही कुराहरू उठाएँ । यसबाट व्यक्ति–विशेषमा कुनै ठेस पुग्न गएमा क्षमा चाहन्छु । म र मेरो संस्था नाटाको प्रभावकारी संचालन र प्रगतिको अपेक्षा गर्दछ । यसका लागि आगामी दिनमा नाटा नेतृत्वले कार्यान्वयन गर्नका लागि केही बुँदा सुझाव पनि दिन चाहन्छु ।

१. नाटा ट्राभल र टुर्स व्यवसायीहरूको एउटा छाता संस्था हो र ट्राभल र टुर्स व्यवसाय पर्यटन विकासको पहिलो अंग हो भन्ने सरकारलाई अवगत हुने गरी घचघच्याउने ।

२. ट्राभल र टुर्स व्यवसायको लागि आवश्यक संरचना र विषयगत क्षमता विकासको लागि सरकारी तवरको कार्यक्रम ल्याउने ।

३. ट्राभल र टुर्स व्यवसायको प्रवद्र्धन र सहजीकरणको लागि आवश्यक नीति, कानुन तय गर्ने ।

४. ट्राभल र टुर्स व्यवसाय संचालनको लागि आवश्यक न्यूनतम मापदण्ड तय गर्ने र मापदण्ड कार्यान्वयन गर्न नीति, नियममै व्यवस्था गर्ने ।

५. नाटा आफैंमा छाता संस्था हो र व्यवसाय प्रवद्र्धनको लागि यो क्रियाशील छ भन्ने आभास दिलाउने गरी काम गर्ने । जस्तै हरेक ट्राभल र टुर्ससँग सम्बन्धित (टिकट, भिसा, आवश्यक कागजात, सम्बन्धित देशको मापदण्ड आदि) विषयमा भएको व्यवस्था र परिवर्तित व्यवस्थाको बारेमा निरन्तर जानकारी गराउने र वेबसाइटमा राख्ने ।

६. आन्तरिक बजारमा उपलब्ध सेवाहरू व्यवसायलाई धरासायी हुने गरी कार्टेलिङ गर्ने र हुने अवस्थाको अन्त्य गर्ने ।

७. आन्तरिक बजारका सेवा प्रदायकले आफ्नो बजार दर र एजेन्ट दर स्पष्ट गरी साइटमा राख्ने व्यवस्था गर्ने ।

८. नाटाले हरेक शुक्रबार विभिन्न विषयगत छलफल र सूचना आदानप्रदानको कार्य गर्ने ।

९. नाटा कार्य समिति भित्र रहेका विभिन्न १७ वटा विषयगत समितिहरूलाई प्रभावकारी बनाउने, समितिहरूको गतिविधि सदस्यहरूलाई जानकारी गराउने ।

१०. आवश्यक कर्मचारी राख्ने र अधिकतम परिचालन गर्ने ।

११. विभिन्न अध्ययन, अनुसन्धान गरी सदस्यहरूलाई सूचना प्रवाह गर्ने ।

१२. नाटामा सदस्य नहुँदा के नभएको जस्तो हुने गरी सदस्यहरूलाई आवश्यक परेको बेला सहयोग, समन्वय र सूचना प्रदान गर्ने ।

१३. सरकारी कर्मचारीले व्यवसायीलाई हेप्ने र हामी सरकार हौं भन्ने जो अवस्था छ, त्यसको अन्त्य गर्ने र व्यवसायी आफंै कमाएर बाँचेका छन्, सरकारलाई पनि कर तिर्छन् र सरकार चलेको छ भन्ने अवस्थाको लागि उद्योग वाणिज्य महासंघमार्फत अगाडि बढ्ने ।

(लेखक नाटाको सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?