+
+

पोखरामा प्रथम न्यायिक समितिको राष्ट्रिय सम्मेलन सुरु, कांग्रेसले गर्‍यो बहिस्कार

न्यायिक समितिको आयोजनामा पोखरामा राष्ट्रिय सम्मेलन सुरु गरेको छ । सम्मेलनमा देशैभरिका २ सयभन्दा बढी समिति संयोजक सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १३:४०

१४ चैत, पोखरा । न्यायिक समितिको आयोजनामा पोखरामा राष्ट्रिय सम्मेलन सुरु गरेको छ । सम्मेलनमा देशैभरिका २ सयभन्दा बढी समिति संयोजक सहभागी छन् ।

संविधानले स्थानीय तह उपप्रमुख/उपाध्यक्ष न्यायिक समितिको संयोजक हुने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको उद्घाटन गरेकी छिन् ।

सम्मेलनमा पोखरा न्यायिक समितिले गरेको न्यायिक सम्पादनको छोटो डकुमेन्ट्रीसमेत देखाइएको थियो । पोखरा न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले समितिको अवसर र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कांग्रेस जनप्रतिनिधिद्वारा बहिष्कार

सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपूर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरुले बहिष्कार गरेका हुन् ।

पोखरा महानगर वडा नम्बर ९ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाए ।

कांग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहेका उनले भने, ‘न्यायिक समितिमा समेत कांग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’

न्यायिक सम्मेलन एमालेको चुनावी ‘फण्डा’मात्रै भएको आरोप लगाउँदै उनले अगाडि भने, ‘यो कार्यक्रम पहिल्यै हुनुपर्थ्यो । अहिले आएर गरिनु चुनावी फण्डामात्रै हो ।’ पोखरा महानगरमा कांग्रेसका ११ वडाध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन् ।

सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?