+
+

सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन माग गर्दै वीरगञ्ज महानगरको मूल गेटमा धर्ना

सिर्सिया नदी र वीरगञ्जमा विद्यमानप्रदूषण नियन्त्रण गर्न माग गर्दै वीरगञ्ज महानगरपालिकामा धर्ना दिईएको छ । सरिसवा नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानले वीरगञ्ज महानगरपालिकाको मूल गेटमा धर्ना दिएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १४:२०

१४ चैत, वीरगञ्ज । सिर्सिया नदी र वीरगञ्जमा विद्यमानप्रदूषण नियन्त्रण गर्न माग गर्दै वीरगञ्ज महानगरपालिकामा धर्ना दिईएको छ । सरिसवा नदी एवं वीरगञ्ज प्रदूषणमुक्त अभियानले वीरगञ्ज महानगरपालिकाको मूल गेटमा धर्ना दिएका हुन्।

महानगरपालिकामा बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिइएको अभियन्ता वृजेश्वर प्रसाद चौधरीले जानकारी दिए ।

धर्नामा सहभागीहरुले ‘सिर्सिया नदी प्रदूषण मुक्त गरौं, नदी अतिक्रमण हुनबाट जोगाऔं, नदीमा फोहोर पानी मिसाउने कार्य बन्द गरौं ।’ लगायतको नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

‘स्वच्छ नदी प्रवित्र जल, स्वस्थ जीवन समृद्ध वीरगञ्ज’ लगातका नारासहित अभियानले पटक-पटक सिर्सिया नदी र वीरगञ्जलाई प्रदूषणमुक्त बनाउन दवाव दिँदै आएको छ ।

वीरगञ्ज महानगरपालिका महानरक पालिकामा परिणत भएको भन्‍दै उनीहरुले यसलाई प्रदूषण मुक्त बनाउन अभियान सञ्चालन गरिएको अभियानका संयोजक अधिवक्ता सुरेन्द्र कुर्मीले जानकारी दिए ।

‘मरेपछि नर्क छोडिदिनुस, वीरगञ्जमा बाँचेर नै नर्कमा छौं । वीरगञ्जमा घरको पानी नालामा छोडिन्छ । नालाको पानी सडकमा आउँछ ।’ उनले भने ‘ सिर्सिया नदी उद्योग कलकारखाना र महानगरकै कारण प्रदूषित छ । नदीबाट दुर्गन्ध आउँछ, छेउछाउ बस्न धेरै कष्ट हुन्छ । ’

महानगरपालिकालेप्रदूषण गर्ने उधोगलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा पत्र काटिएर सहयोग समेत नगरेको उनको भनाई छ । जनताले तिरेको करबाट सेवा सुविधा लिने जनप्रतिनीधिले नदीलाई वेवास्ता गलत भएको उनको टिप्पणी छ ।

‘ नेपालको संविधानले नै नेपाली जनतालाई स्वच्छ वातावरणमा बस्न पाउने हक दिएको छ, प्राकृतिक सम्पदाको स्वरुप विगार्न पाईदैन ’ उनले भने ‘ त्यसो गरे जरिवाना हुन्छ, जिल्ला प्रशासन कारबाही गर्न सक्दैन ।’

बारा– पर्सा औद्योगिक करिडोरमा सञ्चालित छाला उद्योगले छालाको टुक्रा, केमीकलयुक्त पानी प्रशोधन नगरी नदिमा खसाल्ने गरेका छन्, सिमेन्ट, छड उत्पादन गर्ने उद्योगले उद्योगबाट निस्कने छायी नदीमै फाल्ने गरेका छन् । जसका कारण वीरगञ्जको मध्य भाग भएर बग्ने सिर्सिया नदीमा कालो विषालु पानी बग्ने गरेको धर्नामा बसेका अभियन्ताहरु बताउँछन् ।

औद्योगिकप्रदूषणले विशेषगरि वीरगञ्जको जगरनाथपुर, पटेलनगर, सुखचैना, सौराहा क्षेत्रका बासिन्दा प्रभावित छन् । भने वीरगञ्जको मध्य भाग हुँदै बग्ने सिर्सिया नदीप्रदूषणका कारण नदी आसपासका मानिसहरु नराम्रहरी प्रभावित छन् । नदीको पानी प्रदुषित भएर जलचरहरु मरिसकेका छन्, छालाको रोग निको हुने पानीबाट छालाको रोग लाग्न थालेको स्थानीय बताउँछन् । नदीप्रदूषणका कारण आम जनता हैरान छन् ।

अभियानले महानगरपालिकास्थित नालाको फोहोर पानीलाई प्रशोधन गरेर मात्रै नदीमा खसाल्नुपर्ने, छाला र मासु उद्योगले रौं, जीव अवशेष र केमीकलयुक्त पानी नदीमा खसाल्न बन्द गर्नुपर्ने, प्रत्येक वर्ष वर्षायाममा सिर्सिया नदीमा बाढी आई वीरगञ्ज सहर तथा आसपासको बस्तीमा पस्ने गरेकोले नदीलाई अतिक्रमणमुक्त बनाउनुपर्ने, जग्गा खरिदबिक्री गर्दा प्रदेश सरकारले लिने स्वच्छता करको सम्पूर्ण रकम वीरगञ्जलाई प्रदूषणमुक्त बनाउने कामम लगाउनुपर्ने माग गर्दै आएका छन् ।

यसका साथै वीरगञ्ज शहर बाहिरका वडामा पनि सरसफाईकर्मीको उचित प्रबन्ध गर्नुपर्ने र खुला दिशामुक्त घोषित वीरगञ्जमा हरेक २ सय मिटरको दूरीमा सार्वजनिक शौचालय बनाउनुपर्ने र हाल सञ्चालित सार्वजनिक शौचालयको पूर्ण सफाई गर्नुपर्ने माग पनि अभियानले अघि सारेको छ ।

वीरगञ्जका उद्योगहरुबाट निस्कने धुवा, छायी, सिमेन्टको क्लिंकर, भुसको खरानी र बायु समेतकोप्रदूषणबाट सुखचैना, पटेल नगर, जगरनाथपुर, परवानीपुर, बारा जिल्लाको चैनपुर समेत गाउँका बासिन्दासमेत प्रभावित छन् ।

त्यस्ता उद्योगले धुवाँ तथा छायी रोक्ने यन्त्र जडान गर्नुपर्ने, छुट्टै औद्योगिक क्षेत्र बनाई मानव बस्ती भित्रको उद्योगलाई क्रमिक रुपमा सार्नुपर्ने माग अभियन्ताहरुले राख्दै आएका छन् ।

सौराहामा रहेको हाड तथा मासु उद्योगबाट निस्कने दुर्घन्धबाट जनता प्रभावित छन् । त्यहाँबाट विसर्जन हुने मासुको टुक्रा, रगतलगायत दूषित पानीले एकातिर तिलावे नदीलाई पनि दूषित गरिरहेको छ भने अर्कोतिर कुकुर, स्यालहरुको आतंकले जनजीवन प्रभावित छ । ती उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने अभियानको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?