+
+

ठेक्काको मिलेमतो स्वीकार्दै पूर्वाधार प्राधिकरणका सीईओ घिमिरेले दिए राजीनामा

मुख्यमन्त्रीकै अध्यक्षताको समितिको निर्णयबाट ठेक्का आह्वान गरेको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते २१:४०

१४ चैत, काठमाडौं । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले राजीनामा दिएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि मिलेमतोमा भएको ठेक्का पुष्टि भएको भन्दै उनले राजीनामा पत्र बुझाएका हुन् ।

घिमिरेले ठेक्का रद्द गरेलगत्तै आफ्नो राजीनामाबारे जानकारी दिन जारी गरेको प्रेश विज्ञप्तिमा २, फागुन २०७८ मा बसेको प्रदेश पूर्वाधार विकास समितिको बैठकको निर्णयअनुसार ८ फागुनमा भवन निर्माणको लागि टेन्डर आह्वान भएको बताएका छन् । प्रदेश पूर्वाधार विकास समितिका अध्यक्ष कुलबहादुर केसी आफैं छन् ।

सुरुबाटै संकुचित स्पेसिफिकेसन राखिएको आशंका रहेको भन्दै उनले सम्बन्धित निकायलाई पटक-पटक जानकारी गराएको उनको दाबी छ । सार्वजनिक खरिद अनुगमन कार्यालय र निर्माण व्यवसायी महासंघबाट समेत पत्र आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘अन्त्यमा जम्मा २ वटा कम्पनीले मात्रै बोलपत्र दर्ता गरेको सूचित भयो, उक्त जानकारी पनि कार्यालय (प्राधिकरण) ले सम्बन्धित निकायलाई दियो,’ उनले विज्ञप्तिमा भनेका छन् । उनले सम्बन्धित निकाय भनेर मुख्यमन्त्रीको कार्यालय र प्रदेश पूर्वाधार विकास समितिलाई संकेत गरेका हुन् ।

बोलपत्र दर्ता गर्ने कम्पनीलाई ‘हार्ड कपी’ दर्ता गर्न ३ दिनको समय दिएकोमा एक जना व्यक्ति नै दुवै कम्पनीको फाइल बोकेर कार्यालय आएको उनले बताएका छन् । उक्त कारण पनि मिलेमतोको आशंका पुष्टि भएको घिमिरेको भनाइ छ ।

‘मैले गम्भीर भएर सोचें, ७०० करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा १५० करोडको क्षति हुनसक्ने अनुमानसहित देशप्रति गद्दारी गर्नु भन्दा मान्छे भएर बस्नु उचित ठानें, ‘घिमिरेले भनेका छन्, ‘ठेक्का रद्द गर्दा दलालको दलाल बन्नु नपर्ने निर्णयसहित अस्पताल भवनको ठेक्का रद्द गरेको छु।’

उनले राजीनामा घोषणा गर्दै २०५६ सालदेखि आवद्ध रहेको नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट विश्राम लिएको घोषणा पनि गरेका छन् ।

घिमिरेले यसअघि मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको डिन पदमा हुँदाहुँदै ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा नियुक्ति लिएका थिए । दोहोरो सुविधा लिएको समाचार सार्वजनिक भएपछि विद्युत् उत्पादन कम्पनी लिमिटेडको पद गुमेको थियो । त्यसपछि उनी लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणमा नियुक्त भएका थिए ।

घिमिरेले जारी गरेको विज्ञप्ति


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?