+
+

विराटनगरमा कांग्रेसदेखि जसपासम्म को-को दाबेदार ?

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुले चुनावी अभियान सुरु गरेका छन् । चुनावी अभियानसँगै दलका नेताहरुले उम्मेदवार बन्ने तयारी पनि अघि बढाएका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०७८ चैत १४ गते १९:२३

१४ चैत, विराटनगर । स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुले चुनावी अभियान सुरु गरेका छन् । चुनावी अभियानसँगै दलका नेताहरुले उम्मेदवार बन्ने तयारी पनि अघि बढाएका छन् ।

विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबाट ६-६ जना दाबेदार छन् । जनता समाजवादी पार्टीभित्र पाँच र नेकपा माओवादी केन्द्रबाट दुई जना दाबेदार छन् ।

२०७४ सालको निर्वाचनमा विराटनगरको मेयरमा नेपाली काङ्ग्रेसका उम्मेदवार भीम पराजुली निर्वाचित भएका थिए । २३ हजार ३१ मतसहित पराजुली निर्वाचित हुँदा एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३ सय ३१ मत पाएका थिए । तेस्रो भएका तत्कालिन संघीय समाजवादी फोरमका उम्मेदवार उमेश यादवले १४ हजार ९५८ मत ल्याएका थिए ।

२०७४ को निर्वाचनमा दोस्रो भएका ढकाल बाहेक दुई जना आउदो चुनावमा आफ्नो पार्टीबाट मेयरको दाबेदार छन् ।

नेपाली काङ्ग्रेसबाट को-को दाबेदार ?

३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि काङ्ग्रेसबाट वर्तमान मेयर भीम पराजुलीसहित आधा दर्जन आकाक्षी छन् । काङ्ग्रेस केन्द्रीय सदस्यसमेत रहेका पराजुलीसँगै संस्थापन लाइनबाट अमृत अर्याल र डिला संग्रौलाको नाम चर्चामा छ ।

२०७४ सालमा डा. शेखर कोइराला पक्षमा रहेका पराजुलीले कांग्रेसको १४औं महाधिवेशनमा कित्ता परिवर्तन गरेर सभापति शेरबहादुर देउवा पक्षमा पुगे । विराटनगरमा डा. कोइरालाको पक्षबाट मोरङ उपसभापति नागेश कोइराला र विराटनगर नगर सभापति दीपक चापागाई र विराटनगरकी उपमेयर इन्दिरा कार्की मेयरको दाबेदार छन् ।

नेपाली काङ्ग्रेसका पुराना नेता अरुण गुप्ताले पनि मेयरको उम्मेदवारमा दाबी गरिरहेका छन् ।

काङ्ग्रेस मोरङ उपसभापति नागेश कोइराला आफ्नो दाबी सशक्त रहेको बताउँछन् । मेयर पराजुली पाँच वर्षको कामबाट अनुभव प्राप्त गरेका कारण पार्टीले आफूलाई पुन टिकट दिने बताउँछन् । नगर सभापति चापागाईं नगर सभापति मेयरको उम्मेदवार बन्ने परम्परा भएका कारण आफू दाबेदार रहेको बताउँछन् ।

एमालेमा आधा दर्जन आकांक्षी, पर्शुराम पनि दौडमा

विराटनगरमा एमालेबाट मेयरमा दावी गर्नेमा पूर्वमन्त्रीसहित आधा दर्जन नेता छन् । प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे, केन्द्रीय सदस्य गुरु बराल, एमाले नगर अध्यक्ष सागर थापा, बाबुराम कार्की, रामलाल शाहसँगै पर्शुराम बस्नेत पनि मेयर उम्मेदवारको आकांक्षी छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा भीम पराजुलीसँग पराजित भएका एमाले नेता विनोद ढकाल भने आफू उम्मेदवार नबन्ने बताउँछन् । एमाले नेतृत्वले पूर्वमन्त्री लालबाबु पण्डितलाई मेयरमा अघि सार्न खोजेको थियो । तर पण्डितले भने आफू युवाहरुलाई अवसर दिनुपर्ने पक्षमा रहेको बताएका छन् ।

एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापा पार्टीबाट आफू उम्मेदवार हुने बताउँछन् । महानगरका १९ वटा वडामा १७४ वटा टोल कमिटी गठन गरेको बताउँदै उनले स्थानीय तहको निर्वाचनमा जित्ने दावी गरे ।

नेता पर्शुराम बस्नेतले पनि मेयरमा आफ्नो दाबी स्वभाविक भएको बताएका छन् । अघिल्लो निर्वाचनमा पनि आफ्नो नाम सिफारिस भएको बताउँदै उनले आउँदो निर्वाचनमा पार्टीले टिकट दिए निर्वाचन जित्ने बताए ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार पार्टीले तीन तहको संयन्त्र तयार गरेर निर्वाचनको तयारी गरिरहेको छ । निर्वाचन तयारीका लागि टोल–टोलमा कमिटी गठन गरेको बताउँदै उनले तल्लो तहबाट अनुमोदन भएर आएको उम्मेदवारलाई पार्टीले टिकट दिने बताए ।

‘प्रत्येक वडामा टोल कमिटी निर्माण गरिरहेका छौं,’ उनले भने, ‘निर्वाचन तयारीका लागि तीन तहको संयन्त्र निर्माण गरेका छौं ।’

माओवादीबाट दुई जना दाबेदार

विराटनगर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रबाट दुई जना दाबेदारको रुपमा देखिएका छन् ।

२०७४ सालको निर्वाचनमा उपमेयरको उम्मेदवार बनेकी नमिता न्यौपाने र माओवादी केन्द्रका नेता भोगेन्द्र यादवले मेयरमा दाबी गरेका हुन् ।

जसपामा तीन लाइन

विराटनगरको मेयरमा जसपाबाट पाँच जनाले दाबेदारी प्रस्तुत गरेका छन् । पाँच जना दाबेदार पार्टीभित्रको तीन लाइनमा छन् । निर्वाचन मिति नजिकिदै गर्दा उपेन्द्र यादवका छोरा अमरेन्द्र पनि मेयरका आकांक्षी छन् ।

हाल उनी जसपाको विराटनगर महानगरपालिका समितिका अध्यक्ष छन् । उनले आफू मेयरको उम्मेदवारमा आफ्नो दावी रहने बताए । ‘मेयरमा मेरो दाबेदारी रहन्छ, निर्वाचन तयारीका लागि पार्टीको टोल कमिटी गठनमा जुटिरहेको छु’ उनले भने ।

जसपा नेता उमेश यादव, भूराज राई, तेजलाल कर्ण, भरत दाहालले दाबेदारी प्रस्तुत गरिसकेका छन् । मेयरका दाबेदार उमेश यादव अध्यक्ष उपेन्द्र यादव पक्षका हुन् । मेयरको दाबेदार केन्द्रीय सदस्य दाहाल र कर्ण नेता डाक्टर बाबुराम भट्टराईको पक्षका हुन् । अशोक राईको पक्षबाट भूराज राईले मेयरमा दाबी गरेका छन् ।

गत चुनावमा मत बदर भएका कारण आफूले पराजय भोगेको बताउँदै उमेश यादव ३० वैशाखमा हुने निर्वाचनमा आफूले टिकट पाउने दाबी गर्छन् । उनले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

तेजलाल कर्ण पनि मेयरको टिकट आफूले पाए चुनाव जित्ने बताउँछन् । मेयरका दाबेदार दाहाल २०५४ सालमा एमालेबाट विराटनगर–५ को वडा अध्यक्ष उमेदवार बनेका थिए । तर पराजित भएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?