
१५ चैत, वीरगञ्ज । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आए । त्यसपछि उनीहरुका लागि सवारी साधन किन्ने होडबाजी नै चल्यो । जनतालाई एम्बुलेन्स र दमकल भन्दा आफ्ना लागि गाडी, मोटरसाइकल किन्ने कार्यलाई जनप्रतिनिधिले प्राथमिकतामा राखे ।
पर्साको बहुदरमाई नगरपालिका पनि त्यसबाट अछुतो रहेन । ०७६ भदौसम्ममा बहुदरमाई नगरपालिकामा ७० लाख ९० हजार रुपैयाँको गाडी र २२ लाख ४१ हजार १ सय रुपैयाँमा ९ वटा पल्सर बाइक खरिद गरियो । व्यापारिक पृष्ठभूमि भएका नगर प्रमुख नितेन्द्र साहलाई गाडी चढ्न गाह्रो थिएन ।
तर नगरका बासिन्दालाई बिरामी पर्दासमेत अस्पताल जान गाह्रो थियो । ९ वटा स्वास्थ्य चौकी भएको पालिकामा आफ्नो एम्बुलेन्स थिएन ।
मेयर साहले त्यतिबेलै एम्बुलेन्स खरिदका लागि ११ लाख रुपैयाँ छुट्याएको बताएका थिए । तर बल्ल आएर नगरपालिकाले जनताका लागि भन्सार छुटमा एम्बुलेन्स खरिद गरेको छ । नगरपालिकाले अग्नी इन्कर्पोरेटसँग महिन्द्रा कम्पनीको ‘बोलेरो’ एम्बुलेन्स प्रायोजनका लागि खरिद गरेको हो । नयाँ एम्बुलेन्सलाई पूजा गरेर गाउँपालिकामा घुमाइएको छ ।
१३ लाख २५ हजार रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर उप्रेतीले जानकारी दिए । १ वर्षअघि नै निर्णय गरेर एम्बुलेन्स खरिद प्रक्रिया शुरु गरेपनि आउन समय लागेको उनले बताए ।
‘भन्सार छुटको एम्बुलेन्स ल्याउन कागजी प्रक्रिया मिलाउनै समय लाग्यो’ उनले भने ‘त्यसपछि कोभिड महामारीले गर्दा गाडी आउन सकेन, त्यसैले ढिलाइ भयो ।’
कम्पनीलाई नगरपालिकाले शुरुमा १० लाख ५० हजार रुपैयाँ बुझाएको थियो । गाडी आएपछि पेन्टिङलगायत कामका लागि थप खर्च भएको उनको भनाइ छ ।
‘यो ख बर्गको एम्बुलेन्स हो, अक्सिजन सिलिण्डर, मनिटरलगायत स्वास्थ्य सामग्री अनिवार्य हुनुपर्ने रहेछ’, उनले भने, ‘तत्कालका लागि त्यतिकै सञ्चालनमा ल्याएका छौं, आवश्यक समान थप्छौं ।’
भन्सार छुटको एम्बुलेन्स खरिदका लागि प्रादेशिक एम्बुलेन्स तथा पूर्व अस्पताल स्वास्थ्य सेवा व्यवस्थापन समितिको निर्णय सहित एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा व्यवस्थापन समिति, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन पेश गर्नुपर्छ ।
त्यसपछि समितिले निर्णय गरेर अर्थ मन्त्रालयमा जानकारी गराउने र अर्थ मन्त्रालयले भन्सार छुटका लागि सम्बन्धित भन्सार कार्यालयमा पत्राचार गर्छ । नगर प्रमुख साहले भन्सार छुटमा एम्बुलेन्स खरिद प्रक्रिया एकदमै झण्झटिलो भएकोले समय खरिदमा समय लागेको बताए ।
प्रतिक्रिया 4