+
+

उकुसमुकुस सहर : किन प्रदूषित बन्यो काठमाडौंको आकाश ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १३:१९
फाइल तस्वीर

१६ चैत, काठमाडौं । वर्ल्ड एयर क्वालिटीको बुधबार मध्याह्न १२ बजेको तथ्यांकअनुसार विश्वको प्रदूषित सहरहरुको सूचीमा काठमाडौं पाँचौं नम्बरमा परेको छ । प्रत्येक १५ मिनेटको अन्तरमा परिवर्तन हुने यो सूचकांकले मंगलबार राति काठमाडौंलाई सबैभन्दा प्रदूषित सहर देखाएको थियो ।

बुधबार मध्याह्नको सूचीमा सबैभन्दा प्रदूषित चीनको वुहान सहर देखिएको छ । त्यसपछि भारतको नयाँदिल्ली, तेस्रोमा पाकिस्तानको कराँची, चौथोमा पाकिस्तानको लाहोर र पाँचौंमा काठमाडौं परेको छ ।

सुख्खा मौसम, आगलागीका घटना, सहरको अति फोहोर र लामो समयसम्म पानी नपर्दा प्रायः वायु प्रदूषण बढी हुने विज्ञहरु बताउँछन् । तर यो साल पोहोरको तुलनामा डढेलो तथा आगलागीका घटना धेरै नहुँदा पनि प्रदूषणले भने खतराको तह पार गरिसकेको छ ।

मध्याह्न १२ बजेकै रियल टाइम तथ्यांकअनुसार नेपालको तीन ठाउँमा आगलागीका घटना देखिएका छन् । मनाङ र दाङका दुई ठाउँमा आगलागीको घटना देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. दिजन भट्टराईले जानकारी दिए । अन्यत्र अहिले आगलागीको घटना भएको विवरण छैन ।

वातावरणविद् भूषण तुलाधर वायु प्रदूषणको विभिन्न कारणमध्ये काठमाडौंको फोहोर प्रमुख कारक रहेको बताउँछन् । ‘अहिले तापक्रम नबढेको भएपनि मौसम सुख्खा हुन थालिसकेको छ, पानी पनि परेको छैन यसले पनि प्रदूषण त बढाएको छ,’ तुलाधर भन्छन्, ‘तर लामो समयसम्म काठमाडौंको फोहोर नउठ्नु र कुलेश्वरको फलफूल बजार लगायत वरपर अझै पनि प्रदूषण र फोहोर बढी हुँदा पनि प्रदूषण बढी भयो ।’

मध्याह्न १२ बजे काठमाडौंको प्रदूषणको सूचकांक एक्युआई १६५ पुगेको छ । जुन १५० कट्नु भनेको वातावरण अस्वस्थ हुनु हो । वातावरण विभागको तथ्यांकले काठमाडौंको कीर्तिपुरमा पछिल्लो २४ घण्टामा पीएम २.५ को मात्रा ८६ माइक्रोग्राम प्रतिक्युबिक मिटर थियो । अर्थात्, पीएम २.५ भनेको हावामा २.५ माइक्रो ग्रामभन्दा साना प्रदूषित सामग्री मिसिएको भन्ने हुन्छ । यो प्रदूषण बढी घातक हुने वातावरणविद्हरु बताउँछन् ।

सामान्यतया उपत्यका लगायत मुख्य सहरहरुमा यो मौसममा प्रदूषण बढी नै हुन्छ । तर निर्माण सामग्रीको अव्यवस्थित प्रयोगले बजारमा धुलोधुँवा र प्रदूषणको मात्रा पनि बढेको छ । तर यसरी उडेको धुलोमा २.५ पीएमको प्रदूषित मात्रा भने नभेटिने तुलाधर बताउँछन् ।

स्वास्थ्यमा असर

काठमाडौं उपत्यकामा प्रदूषण बढेसँगै रुघाखोकीजस्ता विभिन्न स्वास्थ्य समस्या देखिन थालेको छ । प्रदूषणकै कारण घाँटीको दुखाइ, छातीको दुखाइजस्ता समस्या देखिने गरेको चिकित्सकहरु बताउँछन् ।

वायु प्रदूषणका कारण सबैभन्दा धेरै श्वासप्रश्वासका बिरामीलाई समस्या सिर्जना हुने चिकित्सकहरु बताउँछन् । त्यसमध्ये पनि वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलाहरु प्रदूषणका कारण धेरै बिरामी पर्ने गरेका छन् । वयस्कको तुलनामा उनीहरुमा प्रदूषणको असर छिटो देखिन्छ ।

प्रदूषणका कारण उच्च रक्तचाप, तनाव बढेर जाने, खिन्नता, मानसिक रोग बढ्नेजस्ता समस्या हुने चिकित्सकहरु बताउँछन् ।

तत्कालै ठूलो वर्षाको सम्भावना छैन : मौसमविद्

वर्षा नहुँदा प्रदूषण बढेको भएपनि अबको ५ दिनसम्म ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्हरुले जनाएका छन् । यद्यपि बुधबार र बिहीबार बागमती र प्रदेश १ का विभिन्न ठाउँमा आंशिक वर्षाको सम्भावना भने छ ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेल बुधबार र बिहीबार पनि वाग्मती एवं प्रदेश १ का विभिन्न ठाउँमा आंशिक वर्षा भएपनि ठूलो वर्षाको तत्काल सम्भावना नरहेको बताउँछन् । विभागले बढीमा पाँच दिनको मौसमको पूर्वानुमान गर्नेगर्छ ।

प्रदूषण कम हुनका लागि ठूलो वर्षा आवश्यक पर्छ । पौडेल भन्छन्, ‘आंशिक ठाउँमा वर्षाको सम्भावना छ, तर ठूलो पानीको सम्भावना नरहेकाले अहिले आकाशमा देखिएको प्रदूषण हट्ने सम्भावना कम छ ।’ अहिले बादल जस्तै गरी प्रदूषित वायुले आकाशलाई ढाकेर बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?