
१५ चैत, वीरगञ्ज । नेपाली कांग्रेस पर्सा जिल्ला समितिले वीरगञ्ज महानगरपालिकाको मेयर पदमा कुनै दलसँग गठबन्धन नहुने बताएको छ ।
१५ चैतमा बसेको जिल्ला कार्य समितिको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस पर्सा जिल्ला समितिका प्रवक्ता रमेश पाण्डेयले वीरगञ्जमा मेयर पदमा कसैसँग गठबन्धन गर्नु आवश्यक नभएको बताए ।
‘वीरगञ्ज महानगरपालिकामा पनि गठबन्धनको प्रयास भइरहेको छ’, उनले भने ‘तर जिल्लाको अवधारणा के हो भने मेयर पदमा कसैसँग गठबन्धन हुँदैन, मेयर नेपाली कांग्रेसलाई चाहिन्छ । यसबाट हामी पछि हट्दैनौं ।’
केन्द्रीय सभापति शेर बहादुर देउवा पनि वीरगञ्जको मेयर कांग्रेसले पाउनुपर्छ भन्ने पक्षमा रहेको उनको दावी छ । ‘वीरगञ्जको मेयरमा कांग्रेसको विकल्पहरु छैन, सभापति पनि त्यही पक्षमा हुनुहुन्छ’ उनले भने, ‘गठबन्धनमा जानुहुन्छ भने उपमेयर वा वडामा जानुहुन्छ ।’
तर केन्द्रले गर्ने निर्णय जिल्ला कार्य समितिले मान्नुको विकल्प नरहेको उनको भनाइ छ ।
वडा सभापति र १४ वटै पालिका समितिलाई २० चैतसम्म आधिकारिक उम्मेदवार तय गरेर पठाउन परिपत्र गरिसकेको प्रवक्ता पाण्डेयले बताए ।
उम्मेदवार छनौट गर्दा सर्वसम्मतले नभए बहुमतले गर्न सक्ने व्यवस्था विधानमा भएपनि बहुमतमा निर्णय नगर्न मातहतका कमिटीहरुलाई निर्देशन दिइएको उनले बताए ।
‘सबैलाई थाहा छ, पर्सा जिल्ला भनेको कांग्रेसको गढ हो, ठीक छ, चुनावमा कहिलेकाहीँ तलमाथि हुन्छ । विगतको चुनावमा फोरमले जित्यो’, उनले भने ‘ गठनबन्धन गर्ने हो भने पनि हैसियत अनुसार हुनुपर्छ ।’
स्थानीय तहको चुनावलाई लक्षित गरेर बसेको जिल्ला कार्य समिति बैठकले प्रेमबहादुर थापालाई कोषाध्यक्षमा मनोनित गरेको छ । त्यस्तै कार्य सम्पादन समिति र संसदीय समिति समेत गठन गरेको छ । दुवै समितिमा जिल्ला कार्य समितिका पदाधिकारी पदेन सदस्य छन् भने अन्य सदस्यहरु थप गरिएको छ ।
प्रतिक्रिया 4