+
+

सत्ता गठबन्धनभित्रै अर्को गठबन्धन !

सत्ता गठबन्धनको बैठक भोलि, महानगरबारे निर्णय हुनसक्ने

रामकुमार डिसी रामकुमार डिसी
२०७८ चैत १६ गते २३:३३

१६ चैत, काठमाडौं । ‘अहिले गठबन्धनभित्रै गठबन्धन बन्ने अवस्था छ । हामी पाँच दलीय गठबन्धनमा छौं, अब चार दलीय गठबन्धन बन्छ कि !’ गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति सदस्यहरुसँग बुधबार भएको भेटमा नेकपा एकीकृत समजवादीका नेता झलनाथ खनालले भनेका छन् ।

पूर्वप्रधानमन्त्री खनालको अभिव्यक्तिले स्थानीय आवश्यकताका आधारमा मात्र चुनावी तालमेल गर्ने सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसको निर्णयप्रति गठबन्धनमा आवद्ध दलहरुको असन्तुष्ट झल्काउँछ ।

सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले ३० वैशाखको चुनावमा देशभर गठबन्धन चाहेका थिए । तर कांग्रेसले देशव्यापी होइन, स्थानीय आवश्यकताअनुसार मात्र तालेमेल गर्ने निर्णय गरेको छ ।

कांग्रेसको यो निर्णयबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उत्साहित देखिएका छैनन् । ‘तालमेल÷गठबन्धन कस्तो हुन्छ भन्ने थियो । नेपाली कांग्रेसको कार्य समितिले एउटा निर्णय गरिसकेपछि गठबन्धनका बीचमा आवश्यता अनुसार तालमेल हुन्छ भन्ने कुरा पनि स्पष्ट भएकै छ, बुधबार चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन्, हाम्रो पार्टीले आफ्नो शक्तिलाई सुदृढ गर्ने र आवश्यकता अनुसार तालमेल पनि गर्ने कुरा गरेको हुनाले आवश्यक तालमेलसहित चुनाव हुन्छ ।’

कांग्रेसको निर्णयमा ‘अहंकार’

सत्ता साझदार दलका नेताहरुले भने स्थानीय आवश्यकतामा आधारमा मात्र तालमेल गर्ने निर्णयमा कांग्रेसको अहंकार झल्किएको बताएका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा भन्छन्, ‘कांग्रेस निर्णयका दुईटा पक्ष छन् । एउटा, शेखर कोइरालाहरुलाई शान्त पार्न मध्यमार्गी निर्णय गरेको छ । अर्को, मनभित्र अन्य दललाई कम सिट दिऊँ, हामी यति ठूलो छौं भन्ने अहंकार पनि मिसिएको छ ।’ कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयमा ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको दाबी गरेको छ, खतिवडाले त्यतै संकेत गरेका हुन् ।

त्यसैले खनालले भनेजस्तै गठबन्धनभित्रै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको अर्को गठबन्धन बन्नसक्ने खतिवडा बताउँछन् । आफ्नो निर्णयबारे  गठबन्धनको बैठकमा कांग्रेसले प्रष्ट पारेपछि अगाडिको बाटो तय हुने भन्दै उनले भने, ‘केपी ओलीको अहमले केपीलाई छोड्दिन सक्छौैं भने कांग्रेसको अहमले कांग्रेसलाई छाडेर तेस्रो गठबन्धन बन्न सक्छ ।’

माओवादी केन्द्रका नेता शक्ति बस्नेत पनि त्यस्तो गठबन्धन बन्ने सम्भावनालाई नर्कादैनन् । ‘हरेक पार्टीले आआफनो आवश्यकतामा गठबन्धन या तालमेल गर्ने हो,’ उनको भनाइ छ, ‘हामीले पनि आवश्यकतामै गर्ने हो । कांग्रेस बाहेका पार्टीहरुको बीचमा त्यो हुन सक्ने भयो ।’

त्रिकोणात्मक प्रतिस्पर्धा 

मंगलबारको निर्णयसँगै कांग्रेस नेताहरुले आफू बलियो भएको ठाउँमा एक्लै लड्ने र कमजोर भएको ठाउँमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने बताएका छन् । कांग्रेसको तल्लो कमिटीहरुले भटाभट आफू बलियो भएको ठाउँमा प्रमुख पदमा नछाड्ने घोषणा गर्न थालेको छ ।

तर केन्द्रीय कार्यसमितिको निर्णयले नै एमालेसँग गठबन्धन गर्ने ढोका बन्द भइसकेको छ । त्यसैले अब थोरै ठाउँमा कांग्रेस र एमाले नेतृत्वको गठबन्धन, धेरै ठाउँमा कांग्रेस, एमाले र माओवादी नेतृत्वको गठबन्धनबीच प्रतिस्पर्धा हुने अवस्था बन्दै गएको नेताहरु बताउँछन् ।

माओवादी केन्द्रका नेता गणेश साह पनि कांग्रेससहित तालमेल थोरै ठाउँमा मात्रै हुने देख्छन् । ‘सबैलाई जरुरी भएको ठाउँमा गठबन्धन भइहाल्छ,’ उनी भन्छन्, ‘नभएको ठाउँमा त्रिकोणत्मक प्रतिष्पर्धा (एमाले, कांग्रेस र माओवादी नेतृत्वको गठबन्धन) हुन्छ । बढी जसो त्रिकोणत्मक प्रतिष्पर्धा नै हुन्छ । कुनै–कुनै ठाउँमा कांग्रेससहितको गठबन्धन बन्छ ।’

तालमेलबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक भोलि बिहान साढे १० बजे बोलाइएको छ । यही बैठकबाट महानगरपालिकामा गर्ने चुनावी तालमेलबारे निर्णय हुने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । भन्छन्, ‘हामीले सकेसम्म महानगर र उपमहानगरपालिकामा केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल गरेका हौं । भोलि हामी गठबन्धनको बैठक बस्दैछौं । सम्भवतः केही न केही निर्णयमा पुग्छौं ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?