
१७ चैत, वीरगञ्ज । होलीको दिनदेखि हराएर चैत १५ गते शव भेटिएको युवकको घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ ।
वीरगञ्ज-२५ बस्ने २१ वर्षीय रामा उपेन्द्र साहको घाँटी रेटेर हत्या भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
उनका अनुसार शवलाई पखालेर हेर्दा घाँटीमा धारिलो हतियारले काटेको घाउ देखिएको थियो । प्रहरीले वीरगञ्ज-१६ ईनर्वास्थित सिर्सिया नदीको किनारमा गाडिएको अवस्थामा शव परीक्षणका लागि नारायणी अस्पतालमा ल्याएको थियो ।
‘गाडेको ठाउँबाट शव निकाल्दा किरा परेको गन्हाउने र माटो लागेको थियो । शवको पहिचान गरेपनि घाउँचोटपटक के छ हेर्न सकेका थिएनौं ।’ उनले भने ‘ पखालेर हेर्दा घाँटीमा धारिलो हतियारले काटेको घाउँ देखिएको छ ।’
शव भेटिएको स्थलमा नभई अन्यत्र हत्या गरेर ल्याएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । शव फेला परेकै दिनमा घटनाबारे अनुसन्धान गर्न प्रहरीले एकजनालाई पक्राउ गरेर नियन्त्रणमा राखेको छ ।
‘घटनामा कस कसको संलग्नत छ भन्ने लगभग टुंगोमा पुगिसकेका छौं, तर उनीहरु सबै भारततिर लुकेर बसेका छन् ।’ प्रहरी नायब उपरीक्षक खनालले भने, ‘ भारतीय प्रहरीसँग समन्वय गरेर खोजी कार्य भईरहेको छ।’
प्रतिक्रिया 4