+
+

घरजमको सपना बोकेर भारत हिंडेका युवती जब गड्डाचौकीमा रोकिए…

भूमिकाकुमारी विष्ट भूमिकाकुमारी विष्ट
२०७८ चैत १७ गते १२:३२
फाइल तस्वीर

१७ चैत,कञ्चनपुर । कोरोना महामारीका कारण विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन थालेपछि कैलालीकी पूजा (नाम परिवर्तन)की आमाले पहिलोपटक छोरीलाई मोबाइल किनिदिइन् । आर्थिक अवस्था कमजोर भएपनि छोरीको पढाइ नबिग्रियोस् भनेर आमाले पूजालाई मोबाइल किनिदिएकी थिइन् । पूजा पनि सानैदेखि पढाइमा तेज थिइन् ।

पूजाले मोबाइल पाएपछि अनलाइन कक्षा लिन थालिन् । अरु समयमा सामाजिक सञ्जाल फेसबुक पनि चलाउन थालिन् । इन्टरनेटबाट संसारसँग जोडिन सकिएपछि उनी मक्ख थिइन् ।

फेसबुकमा सक्रिय हुँदै जाँदा पूजालाई नवीन नाम (नाम परिवर्तन) गरेको आईडीबाट फेन्ड रिक्वेस्ट आयो । प्रोफाइलमा रहेको आकर्षक तस्वीर देखेर उनले तुरुन्तै रिक्वेस्ट स्वीकारिन् । त्यसपछि विस्तारै उनीहरुपछि कुराकानी हुन थाल्यो । पछि त यो सिलसिला घण्टौंसम्म चल्यो ।

नजिक हुँदै गएपछि पूजाले पनि नविनलाई आफ्ना र परिवारका कुराहरु सेयर गर्न थालिन् । बुवा उच्च रक्तचापको बिरामी, खेतीपाती थोरै, आमाले ज्यालामजदुरी गर्ने, दिदीको बिहे हुन नसकेको अनि भाइहरुलाई पढाउन धौ धौ भएका जस्ता पारिवारिक कुरा सबै नविनलाई पूजाले सुनाइन् । छिट्टै पढेर काम गर्न पाए हुन्थ्यो भनेर उनले नविनसँग भनेकी थिइन् ।

अनिताको पारिवारिक अवस्थाको विषयमा सबै कुरा थाहा पाएको विपिनले यसैलाई हतियार बनाउँदै आफूसँग विवाह गरे घरका सबै समस्याको समाधान हुने आश्वासन दियो । उसले अनिताको परिवारको रेखदेख गर्ने पनि भन्यो । यो कुरालाई माया सम्झेर अनिताले विश्वास गरिन् ।

नवीनले पूजालाई दिल्ली आएर काम गर्न सुझाव दिए । दिल्ली ठूलो सहर भएकाले काम पाउन समस्या नहुने र काम गर्दै पढ्न पनि सकिने उनले बताए । साथै आफू दिल्लीमै भएकाले पूजालाई काम खोजिदिने र पढाइका लागि सहयोग गर्ने आश्वासन नविनले दिए ।

तर घर छाडेर जान परिवारले नदिने पूजाले नवीनलाई सुनाइन् । नवीनले उनलाई मन पराएको र भविष्यमा विवाह गर्ने भन्दै जसरी पनि दिल्ली आउन कर लगाए ।

नवीनको यस्तो कुरापछि पूजा पनि बिस्तारै उनको मायामा परिन् । अनि परिवारको पनि समस्या समाधान हुने र मन परेको केटासँग घरजम पनि गर्न पाउने सपना बोकेर उनले दिल्ली जाने निर्णय लिइन् । पूजालाई लिन आफू महेन्द्रनगरसम्म नै आउन तयार रहेको नवीनले बताए ।

२०७८ चैत २ गते महेन्द्रनगर बसपार्कमा भेट्ने भनेर दुवैले गरेको सल्लाह अनुसार पूजा अपरान्ह ४ बजेतिर साथीको घर जान लागेको भनेर घरबाट निस्किन् । महेन्द्रनगर बसपार्कमा नवीन उनलाई कुरिरहेका थियो । बसपार्क नजिकैको एउटा रेस्टुरेन्टमा खाजा खाने बेला नवीनले पूजालाई सीमा नाकामा हुने चेकजाँच र सोधपुछबारे बतायो । हामीले सत्य कुरा भन्यौं भने त्यहाँबाट अगाडि जान दिंदैनन्, त्यसैले तिमीले मलाई दाइ भन्नु र पारि वनबासामा सामान किन्न जान लागेको भनेर भन्नु भनेर सिकायो ।

पूजाले हुन्छ भनेपछि दुवैजना रिक्सा चढेर सीमा नाका गड्डाचौकी पुगे ।

नवीनले भनेझैं त्यहाँ सुरक्षाकर्मी र मानव बेचबिखनमा काम गर्ने संस्थाका कर्मचारीहरुले उनीहरुलाई सोधपुछ गरे । नाकामा पुगेपछि नवीनले बहिनीसँग सामान किन्न पारि वनबासा जान लागेको प्रहरीलाई बतायो ।

तर उसको व्यवहारको शंका लागेर प्रहरीले नवीन र पूजालाई अलग-अलग राखी सोधपुछ गर्‍यो । दुवै जनाको कुरामा फरक कुरा आएपछि प्रहरीले घरको नम्बरमा कुरा गराउन भनेर पूजालाई भन्यो । दुवैले घरमा मोबाइल नभएको भन्दै ठाँटे । प्रहरीले दुवै जनाको मोबाइल चेकजाँच गर्दा पूजाको मोबाइलमा दिदी भनेर सेभ गरिएको नम्बर फेला पार्‍यो ।

पूजाकी दिदीलाई सोध्दा साथीको घरमा जान भनेर पूजा घरबाट निस्केको बताइन् । साथै नवीन नाम गरेको पूजाको कोही पनि साथी नरहेको प्रहरीसँगको कुराकानीमा बताइन् । त्यसपछि प्रहरीले पूजा बेच्न लान लगेको निष्कर्ष निकाल्यो ।

नवीन दिल्लीमा बसोबास गर्ने नभई सीमा नजिकको गाउँमा बस्ने लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीले पत्ता लगायो र प्रहरीले उसलाई पक्राउ गर्‍यो ।

पूजालाई सीमा नाकामा रहेको पीआरसी (पिस रिह्याबिलिटेसन सेन्टर) संस्थाको जिम्मा लगायो । र पछि उनका आमाबुबाले घर लिएर आए ।

****

कञ्चनपुरकी अनिता (नाम परिवर्तन) निम्नवर्गाीय परिवारमा जन्मेकी हुन् । उनका बुवा वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर छन् । घरमा आमा दुई दिदी, एक भाइ र उनी बस्छन् ।

बुवाले घरमा पैसा पठाउँदैनन् । त्यसैले उनकी आमा ज्याला मजदुरी गरेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएकी थिइन् । कक्षा १२ मा पढ्ने अनिता पढाइसँगै नजिकै बजारको एक कपडा पसलमा काम गर्थिन् ।

पसलमा काम गरेको पैसाले दुई महिनाअघि अनिताले मोबाइल किनेकी थिइन् । मोबाइलमा फेसबुक लगायत सामाजिक सञ्जाल चलाउन थालिन् । एक दिन उनलाई विपिन नाम गरेको आईडीबाट फेन्ड रिक्वेस्ट आयो ।

त्यसपछि कुराकानी हुँदै जाँदा विपिनले आफ्नो घर भारतको पिथौरागढ रहेको बतायो । साथै आफू भारतीय आर्मी रहेको पनि अनितालाई बतायो । उनीहरुबीच घण्टौं फेसबुकमा कुराकानी हुन थाल्यो । त्यहीबीच विपिनले आफूलाई अनितालाई मन पराउने बतायो । विवाह गर्ने इच्छा रहेको समेत उसले बतायो ।

विपिनको यस्तो प्रस्तावपछि अनिताले घरमा दुई जना दिदीको विवाह हुन बाँकी नै रहेको र अहिले आफ्नो उमेर पनि नभएको विपिनलाई बताइन् ।

अनिताको पारिवारिक अवस्थाको विषयमा सबै कुरा थाहा पाएको विपिनले यसैलाई हतियार बनाउँदै आफूसँग विवाह गरे घरका सबै समस्याको समाधान हुने आश्वासन दियो । उसले अनिताको परिवारको रेखदेख गर्ने पनि भन्यो । यो कुरालाई माया सम्झेर अनिताले विश्वास गरिन् । त्यसपछि विपिनले आफूलाई भेट्न वनबासासम्म आउन भन्यो र एकपटक भेटेर आफू मन परे घरमा कुरा गर्न आउँछु र मन नपरे साथी मात्र बनौं भनेर अनितालाई बतायो ।

उसको कुरामा विश्वास गरे गत चैत २ गते अनिता घरबाट पसल जान्छु भन्दै विपिनलाई भेट्न निस्किइन् ।

उनी अटो भढेर गड्डाचौकी सीमा नाका हुँदै भारतर्फ जाँदै गर्दा प्रहरीले सोधपुछका लागि रोक्यो । अनिताले घरायसी सामान किन्न वनबासा जान लागेको प्रहरीलाई बताइन् । आवश्यक परिचयपत्र देखाउन भन्दा अनिताले नभएको र मोबाइल पनि बिग्रिएको बताइन् । तर प्रहरीले अनिताको मोबाइल चेक गर्दा ठीकै थियो । सुरक्षाकर्मीले अनिताकी आमालाई फोन लगाउँदा उनी पसल जान भनी घरबाट निस्केको बताइन् ।

प्रहरीले अनिता वनबासा जान लागेको सुनाउँदा उनले झुट बोलिरहेको र त्यहीं रोकिदिन आग्रह गरिन् । प्रहरीले थप सोधपुछ गर्दा विपिन नाम गरेको व्यक्ति सीमापारि लिन आएको बताइन् । त्यसपछि प्रहरीले विपिनलाई नेपालतर्फ बोलाउँदा आफू घरमै रहेको र सीमासम्म लिन आउने कुरा झुटो भएको भन्दै फोन काट्यो ।

त्यसपछि अनितालाई मानव बेचबिखन तथा ओसारपसार र यौन तथा श्रम शोषणविरुद्धको परामर्श सेवा दिइयो र आमाले अनितालाई घर लिएर गइन् । विपिनलाई कानुनी कारबाही गर्न खोज्दा भारतीय नागरिक भएकाले परिचय खुल्न नसकेपछि कुनै पनि कारबाही प्रक्रिया अगाडि बढ्न सकेन ।

यी दुई घटना पछिल्ला उदाहरण मात्रै हुन् । यसरी सामाजिक सञ्जालमार्फत चिनजान भएर बेचबिखनमा पर्न लागेका थुप्रै युवतीलाई प्रहरीले सीमा नाकाबाट उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चालु आर्थिक वर्षको चैत पहिलो सातासम्म मात्रै १३५ जना महिला तथा किशोरीलाई भारत जानबाट रोकिएको छ । भारतमा काम गर्न, पढ्न, विवाह गर्न र सीमापारि किनमेल गर्ने बहाना गरी जान लागेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र शाहीले बताए ।

शंका लागेर सोधपुछ गर्दा धेरे युवतीलाई भारतमा बेचिनबाट उद्धार गर्न सफल भएको उनको भनाइ छ ।

गरिबी र अशिक्षाको फाइदा उठाउँदै सामाजिक सञ्जालको दुरुपयोग गरी किशोरी तथा महिलालाई बेचबिखन गर्ने व्यक्तिहरु सक्रिय रहेको देखिएकाले सतर्क रहन पनि सरोकारवालाले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?