+
+

‘केजीएफ’का यश : बस ड्राइभरका छोरा संघर्षले बने सुपरस्टार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १८:१३

नयाँ दिल्ली । ‘भायलेन्स… भायलेन्स… भायलेन्स, आई डन्ट लाइक इट.. आई अभ्वाइड, बट भाइलेन्स लाइक्स मी’ ।

यो लाइनले जनाउँछ कि कुनै एक्सनले भरिपूर्ण फिल्मको संवाद हो । फिल्म ‘केजीएफ च्याप्टर २’को यो संवादले फिल्म र यसका मुख्य अभिनेता यश अहिले चर्चामा छन् ।

मूल रुपमा ‘केजीएफ च्याप्टर २’ कन्नड भाषाको फिल्म हो । ‘केजीएफ’को पहिलो सिक्वेल सन् २०१८ मा कन्नडका साथै हिन्दी र अन्य केही भाषामा रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गरेको थियो । यसको दोस्रो सिरिज ‘केजीएफ–२’ मा कन्नड फिल्मका सुपरस्टार यशका अलावा सञ्जय दत्त, रविना टण्डन र प्रकाश राजको मुख्य भूमिका रहेको छ ।

कन्नड अभिनेता यशको फिल्मी यात्रा त्यति सजिलै यहाँसम्म आइपुगेको भने होइन । उनको यहाँसम्मको यात्रा कुनै फिल्मको कथा भन्दा कम छैन । जसमा घरदेखि भागेको कथा पनि छ र ब्याक स्टेजमा काम गरेको अनुभव पनि छ । यही संघर्षले यशलाई अहिलेको सर्वाधिक सफल साउथ अभिनेतामध्ये एक बनाएको छ ।

‘फिल्म क्याम्पियन’लाई दिएको अन्तर्वार्तामा यशले भनेका छन्, ‘जब म भर्खर–भर्खर फिल्म उद्योगमा आएको थिएँ, त्यति नै बेला सोचेको थिएँ व्यक्ति कुन पृष्ठभूमिबाट आएको भन्ने कुराले केही फरक पार्दैन । यस कुरामा निर्भर हुन्छ कि तपाईंलाई आफ्नो काम गर्न आउँछ कि आउँदैन । दर्शक तपाईंसँग कनेक्ट भइरहेका छन् कि छैनन् ।’

यशको वास्तविक नाम नवीनकुमार गौडा हो । तर उनलाई मानिसहरु यो नामले चिन्दैनन् ।

कसरी सुरु भयो फिल्मी दुनियाँको यात्रा ?

‘द न्युन मिनेट’को साक्षात्कारमा यशले आफ्ना पिता त्यसबेला बीएमटीसीमा बस चालक रहेको बताए । छोरो सरकारी अधिकारी बनोस् भन्ने उनका बुवाको चाहना थियो । तर यशलाई अरु कुरामै रुचि थियो । उनी नाटक र नृत्य प्रतियोगितामा भाग लिन्थे, उनको प्रस्तुतिमा दर्शकहरु सिटी बजाउँथे । यही कुराले उनलाई भित्रैबाट कलाकार बन्ने ऊर्जा दिन्थ्यो ।

यशका अनुसार उनी बालपनदेखि नै अभिनेता बन्न चाहन्थे । नाटक र नृत्यमा भाग लिंदा दर्शकबाट आएको हुटिङ र तालीले उनलाई आफू ‘हिरो’ नै बनेको भान हुन्थ्यो ।

फिल्मको हिरो बन्न भन्दै उनी घरबाट भागेर बैंग्लोर पुगे । तर बैंग्लोरमा पाइला राख्नेबित्तिकै उनी डराए । किनकि, उनको साथमा घरबाट ल्याएको ३०० रुपैयाँ मात्रै थियो । के गर्ने कसो गर्ने उनलाई कुनै मेसो थिएन । तर पनि उनलाई घर फर्किन मन लागेन, फेरि घर गए बुवाआमाले फर्किन दिंदैनन् भन्ने डर उनलाई थियो ।

यश त्यसपछि संघर्षको मैदानमा होमिए । बैंग्लोरको थिएटरमा ब्याक स्टेजमा काम पाए । त्यहाँ काम गरिरहेको बेला सँगै फिल्म उद्योगमा पनि संघर्ष गरिरहेका थिए ।

यशले पहिलोपटक सन् २००८ मा कन्नड फिल्म ‘मोगिना मनासु’मा काम गर्न पाए । यो फिल्मबाट उनले ‘बेस्ट सपोर्टिङ एक्टर’मा फिल्मफेयर अवार्ड समेत प्राप्त गरे । यसपछि उनी राजधानी, गजकेशरी, मास्टरपिस जस्ता फिल्ममा अभिनय गरेर लोकप्रिय भए । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन ।

यशले अभिनेत्री राधिका पण्डितसँग विवाह गरे । केही वर्ष प्रेमसम्बन्धमा रहेपछि उनीहरुले विवाह गर्ने निर्णय लिएका हुन् । उनीहरुका अहिले दुई सन्तान छन् ।

यशको इच्छा

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिीको प्रशंसक हुन् यश । उनी नवाजुद्दीनसँग सँगै काम गर्न चाहन्छन् । उनलाई नवाजुद्दीन प्रभावशाली अभिनेता लाग्छ । यश शाहरुख खानलाई पनि उनी आफ्नो प्रेरणाको स्रोत मान्छन् । अमिताभ बच्चनलाई उनी ‘ट्रु जेन्टलम्यान’ भन्न रुचाउँछन् ।

केही वर्षअघि एक अन्तर्वार्तामा यशले आफूलाई दर्शकले यतिधेरै रुचाउनुमा आफ्नो संघर्षको कथा पनि हुनसक्ने बताएका थिए । ‘गाउँदेखि आएर हिरो बनेको आफ्नो जीवनयात्राले दर्शकलाई प्रेरित गरेको हुनसक्छ,’ उनले भनेका थिए ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?