+
+

विर्तामोडमा व्यवसायी भर्सेस राजश्व अनुसन्धान : दिनभर तनाव, मध्यराति छापा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते ११:२४

१८ चैत, झापा । बिर्तामोडस्थित शाह कपडा पसलमा छापा हानेपछि राजश्व अनुसन्धान विभाग र व्यवसायीबीच दिनभरजसो तनाव भयो । विर्तामोड उद्योग वाणिज्य संघले केही घन्टा पूर्व–पश्चिम राजमार्ग नै अबरुद्ध पार्‍यो ।

साँझ विभागका कर्मचारी र व्यवसायीबीच शुक्रबार छलफल गर्ने सहमति भयो र सडकमा गरिएको अवरोध हट्यो । तर बिहीबार मध्यराति विभागले विर्तामोडका केही पसल र गोदाममा छापा मारेको छ ।

अवैध सामान रहेको सूचनाका आधारमा छापा मारेर विर्तामोड–३ का दिपेन्द्र आचार्यको गोदामलाई शिल गरिएको राजश्व अनुसन्धान विभाग, इटहरीका प्रमुख तीर्थ खनालले बताए । उनका अनुसार राति लाइट बालेर हेर्दा कपडा देखिएको थियो र अनुसन्धानका लागि शिल गरिएको हो ।

दिउँसो बिर्तामोडको शाह कपडा पसलमा शिल गरेपछि तनाव भएको थियो । पसलमा ‘बच्चा मात्र भएका वेला छापा हानेर व्यवसायी त्रसित बनाएको’ व्यवसायीहरुको आरोप थियो ।

विभागले बिहीबार राति साढे १० बजेदेखि फेरि विर्तामोडमा छापा मारेको थियो । ‘व्यापारीले अवैध काम गर्नका लागि एकतले घर भाडामा लिएको देखिन्छ, घरधनी आचार्य पनि विदेशमा रहेछन्’ खनाल भन्छन्, ‘अवैध कपडा राखिएको पूर्वसूचना भएकैले छापा मारिएको हो ।’

राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल प्रारम्भिक अनुसन्धानमा शंकास्पद कारोबार भएको देखिएकाले शिल गरिएको बताउँछन् ।

‘बुधबार नै दुई जना कर्मचारी पसलमा पुग्नु भएको थियो र खरिद, विक्री बिल र स्टक माग्नु भएको थियो’ पौडेलले भने, ‘उहाँले कुनै कागजात देखाउन नसकेपछि शिल गरेका थियौं, पसलमा कागजात सुरक्षित होस् र अनुसन्धानमा सहयोग होस् भनेर शिल गरिएको हो ।’

व्यवसायीको दाबी – अनुसन्धानलाई असहयोग गर्ने उद्देश्य होइन

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले फर्मको प्रमुख व्यक्ति वा सञ्चालक नभएको अवस्थामा दादागिरी शैलीमा पसल शिलबन्दी गरेकाले बाध्य भएर सडक अवरुद्ध गर्नु परेको बताए ।

उनले भने, ‘व्यवसायीका फर्ममा चेकजाँचका नाममा दुख दिने दिनु गलत हो ।’ उनले राज्यको कामलाई आफूहरुले असहयोग नगरेको बताउँदै भने, ‘गलत गर्ने व्यवसायीलाई कारबाही हुनुपर्छ । तर समन्वय गरौं भन्दा राजश्वका कर्मचारीहरु भाग्नु भयो ।’

समन्वय नभएपछि आक्रोश सडकमा पोखिएको उनले बताए ।

हेर्नुस् उद्योग वाणिज्य संघको विज्ञप्ति

– मनिषा चम्लागाईंको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?