+
+

चार वर्षसम्म तलब नपाएपछि कार्यालय सहयोगीले दिइन् विद्यालयविरुद्ध उजुरी

कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी दिएकी छिन् ।

रासस रासस
२०७८ चैत १८ गते १४:२८

१८ चैत, ओखलढुङ्गा । कार्यालय सहयोगी डोमा शेर्पाले आफूलाई लामो समयसम्म तलव नदिएको आरोप लगाउँदै खिजीदेम्बा गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक र व्यवस्थापनविरुद्ध उजुरी दिएकी छिन् । आफूलाई चार वर्षसम्म तलब नदिएर श्रम शोषण गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापनविरुद्ध उहाँले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेकी हुन् ।

शेर्पा  २०६४ सालदेखि उक्त विद्यालयको कार्यालय सहयोगीको रुपमा कार्यरत थिइन् । सुरुमा एक हजार तलब सुविधा पाउँदै आएकी उनको तलब पछि रु ५००ले वृद्धि भएर मासिक रु एक हजार ५०० पुगेको थियो ।

२०७२ सालको साउन महिनासम्म शेर्पाले नियमित रुपमा तलब पाइरहेकी थिइन् । पछि २०७२ साल भाद्र ४ गते विद्यालय व्यवस्थापन समितिको बैठक बसेर उनलाई वार्षिक रु ५० हजार तलब दिने निर्णय गरिएको थियो ।

उक्त निर्णयपछिका चार वर्षसम्म भने उनले तलब पाएकी छैनन् । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसँग पटक-पटक ताकेता गर्दा पनि तलब नदिएकाले आफूले बाध्य भएर उजुरी दिनु परेको शेर्पाले बताइन् ।

विद्यालयमा पटक-पटक आफूले पाउनुपर्ने तलबबारे ताकेता गर्दा प्रधानाध्‍यापक होमराज तामाङ र विद्यालय व्यवस्थापन समिति अध्यक्ष कामी शेर्पाले विभिन्न बाहना गर्दै आलटाल गरेर तलब नदिएको उनको गुनासो थियो।

‘चार वर्षसम्म तलब नै नपाए पनि काम गरिरहेँ । पछि आर्थिक समस्याले निकै पिरलेकाले जति तोकता गर्दा पनि प्रधानाध्यापक र अध्यक्षले कुनै चासो नदिएपछि २०७६ साल असार महिनामा जागिर छोडिदिएँ । त्यो बेला नै उजुरी दिने सोचमा थिएँ । उहाँहरु गाउँठाउँकै व्यक्ति भएकाले मुद्दा मामिलाबिना नै तलब दिनुहुन्छ भन्ने लागेको थियो,’ उनले भनिन्, ‘कतै उजुरी गर्नु पर्दैन चाँडै तलव दिलाइदिन्छौ भनेकै कारण यो बेलासम्म कुरेको पनि थिएँ तर जति आग्रह गरे पनि तलव नपाएपछि आखिरमा उजुरी गर्न बाध्य भएकी हुँ।’

शेर्पाले विद्यालयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा यही चैत १३ गते उजुरी दर्ता गराएकी थिइन् ।

यता, कार्यालय सहयोगी शेर्पाको तलबको विषयमा आफू जिम्मेवार नहुने प्रधानाध्‍यापक होमराज तामाङले बताए । यो विषय विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारीभित्र पर्ने उनले प्रतिक्रिया दिए। ‘समितिका अध्यक्षले आफै तलब दिलाउँछु भनेर कार्यालय सहयोगीको रुपमा उनलाई राखेका हुन् । प्रायः आर्थिक कारोबार पनि उनले नै गर्छन् । कार्यालय सहयोगीलाई तलब दिने कुरा पनि उनकै जिम्मेवारी भएकाले यसबारे म धेरै बोल्दिन ।’ प्रधानाध्यापक तामाङले भने।

अध्यक्ष शेर्पाले भने प्रधानाध्यापक तामाङले आफूलाई जानकारी नै नदिई बैंकबाट रकम निकासा गर्ने गरेकाले यो समस्या भएको बताए । प्रधानाध्यापकले आर्थिक हिनामिना गरेकाले लामो समयसम्म कार्यालय सहयोगीलाई समेत तलब दिलाउन नसकिएको स्वीकार गर्दै उनले भने, ‘प्रधानाध्यापकले मनोमानी ढङ्गले बैंकबाट पैसा निकालेकाले कार्यालय सहयोगी शेर्पालाई तलब दिलाउने विषयमा पहिल्यैदेखि नै विवाद हुँदै आएको थियो।’

‘शेर्पाले पनि जागिर छाडेपछि तलब दिलाउन झनै समस्या भयो । अध्यक्ष शेर्पाले भने, ‘हामीविरुद्ध मुद्दा नै परिसकेछ अब केही सरसल्लाह गरेर टुङ्गोमा पुग्छौँ ।’ प्रधानाध्यापकसँग राम्रो बोलचालसमेत नहुँदा विद्यालय सञ्चालन गर्न समस्या भएको उनको भनाइ थियो ।

उक्त गाउँपालिकाको शिक्षा शाखाले विद्यालयमा अनियमितता भएको गुनासो आएपछि स्पष्टीकरण सोधेको छ । कर्मचारीले तलब नपाएको र प्रधानाध्यापक र अध्यक्षबीच विवाद भएको विषयमा प्रधानाध्यापकलाई स्पष्टिकरण सोधिएको शिक्षा शाखाका निमित्त प्रमुख बुद्धिराज मुलिचाले बताए ।

जिल्ला प्रशासन कार्यालयले भने उजुरी परेको र यो विषय छानबिनकै क्रममा रहेको जनाएको छ । उजुरीमाथि छानबिन सुरु भएको बताउँदै प्रमुख जिल्लाअधिकारी दिलकुमार तामाङले भने, ‘चार वर्षसम्म तलब नपाउँदा पनि उहाँले किन उजुरी दिनुभएन ? यो अलि असामान्य विषय भएकाले हामी छानबिन गर्छौ ।’

प्रजिअ तामाङले भने, ‘सम्बन्धित पक्षलाई झिकाएर छलफल गरी कार्यालय सहयोगी शेर्पा आर्थिक शोषणमै परेको पुष्टि भए दोषीउपर कारबाही र पीडितलाई न्याय दिलाउँछौं।’ कुनै बहानामा श्रम शोषण गर्न नमिल्ने उनको भनाइ थियो ।

पीडित शेर्पाले प्रधानाध्यापक र अध्यक्षले पाउने जति सबै तलब चाँडै दिलाउने आश्वासन दिएकै कारण उजुरी दिन ढिलाइ भएको बताइन् ।

गत भदौ ३१ गते रामेछापको मन्थलीस्थित कुनौरीमा भएको बोलेरो दुर्घटनामा श्रीमान्लाई गुमाएपछि उहनलाई थप आर्थिक संकट झेल्नुपरेको थियो । बालबालिकाको शिक्षादिक्षामा सहयोग पुग्ने भएकाले आफूले पाउनुपर्ने तलबबापतको रकम माग गरेको शेर्पाको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?