+
+

पाटनको मूलचोकदेखि बालकुमारीसम्म एकल घोडेजात्रा (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ चैत १८ गते १८:०१

१८ चैत, काठमाडौं । देख्दै मदिराले मातेको जस्तो देखिने घोडामा चढेर पाटन ओल्खुटोलका अष्टमान महर्जन मंगलबजारको मूलचोकबाट निस्किए । मूलचोकबाट सुरु भई ओल्खु, नेउत, लोहलँ, भोल गणेश हुँदै उनी बालकुमारी पुग्छन् ।

बालकुमारीमा रहेको सिवाचा मन्दिरलाई एकपटक परिक्रमा गरेर उनी पुनः भोलढोकातिर फर्किन्छन् । बालकुमारी-भोलढोका तीनपटक परिक्रमा गरेपछि घोडामा सवार गुठियारलाई सगुन दिएर यो सालको घोडेजात्रा सम्पन्न भएको छ ।

यो पाटनको एकल घोडेजात्राको प्रसंग हो । काठमाडौंको टुँडिखेलको घोडेजात्राभन्दा पुरानो मानिने यो घोडेजात्रामा एउटा मात्रै घोडामा यात्रा गरिन्छ । बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले यो जात्रा सञ्चालन गर्दै आएको छ । यो जात्रालाई स्थानीयले मल्लकालदेखि चल्दै आएको भने पनि यसमा महाभारतकालीन पात्रको प्रयोग गरेर यो जात्रा मनाउने गरिन्छ ।

ज्यापु समाजका सदस्य बुद्धरत्न डंगोल स्थानीयले यो जात्रा काठमाडौंको टुँडिखेलको भन्दा पुरानो जात्रा मान्ने गरेको सुनाउँछन् । नेवारी भाषामा च्य खलः अर्थात् नोकरहरुको खलकले सुरु गरेको यो जात्रा मूलचोकबाट बालकुमारीसम्म पुर्‍याउने चलन छ ।

शुक्रबार पाँचह्रे अर्थात् घोडेजात्रा । यो जात्रामा प्रयोग गरिएको घोडा नेपाली सेनाको क्याभलरीबाट ल्याउने गरिन्छ । जात्राको ठीक एक दिनअघि अर्थात् बिहीबार नै पाटनको ओल्खु चिबहाः टोलका ज्यापु समुदायले महाभारतका पात्र पाँच पाण्डवको मूर्ति रहेको मंगलबजारको भीमसेनस्थानमा छ्वयलाभु गर्ने भनी राँगोको बलि दिएका थिए । यो बलिमा चढाएको राँगोलाई कृष्ण देगलको उत्तरपट्टि जलाइएको थियो । महाभारतमा भीमसेनले किचकलाई वध गरेको प्रसंग पाइन्छ । त्यसैले जात्राको अघिल्लो दिन भीमसेनको वर्णन गरिएको स्तुति दाफा भजनमा गाइन्छ ।

यही दिन पाँच पाण्डवको पूजा गरी समयबजी खुवाउने चलन रहेको डंगोल बताउँछन् । गुठीका थकालीले विधिपूर्वक पूजा गरी आजुहरूले चुनेका गुठियारमध्ये कुनै व्यक्तिलाई घोडा चढाउनुका साथै घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याएको फूलमाला पहिर्‍याएर टीका पूजा गरिन्छ । यो वर्ष यसरी घोडा चढ्ने मौका महर्जनले पाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?