+
+
अन्तर्वार्ता :

‘एमाले संवादमा छ, तर ओलीले आत्मालोचना नगरी मिल्ने ठाउँ छैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते २०:५०

२० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र चुनावी तालमेलबारे नेपाली कांग्रेसको निर्णयप्रति सन्तुष्ट छैन । स्थानीय आवश्यकताका आधारमा तालमेल गर्ने कांग्रेसको निर्णयपछि माओवादी नेताहरुले गठबन्धनलाई गम्भीरतापूर्वक नलिए एमालेतिर जान सक्ने चेतावनी लिएका छन् ।

माओवादी नेता वर्षमान पुन एमालेका शीर्ष तहकै नेताहरुसँग कुराकानी भइरहेको बताउँछन् । ‘एमालेका साथीहरूले मिलौं, गठबन्धन, तालमेल गरौं भनिराख्नुभएको छ । शीर्ष तहकै नेताहरूले भनिरहनुभएको छ’ उनले भने, ओलीजीले दुई–दुई पटक संसद विघटन गर्नुभयो, यत्रो उपलब्धिहरूलाई भड्खालोमा हाल्न खोज्नुभयो । त्यसमा आत्मालोचना, पश्चात्ताप नगरी मिल्ने ठाउँ छैन ।’ यद्यपि मिल्ने सम्भावनै छैन भन्न नसकिने उनले बताए ।

उनका अनुसार अहिले कांग्रेससहितकै गठबन्धनमा तालमेल प्राथमिकता छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्ने हो भने एमाले १२५ देखि १५० को बीचमा सीमित गर्न सकिने समेत उनले बताएका छन् ।

प्रस्तुत छ, माओवादी केन्द्रका नेता पुनसँग अनलाइनखबरकर्मी बिनु सुवेदीरामकुमार डिसीले गरेको कुराकानीको सम्पादित अंश :

कवि अर्जुन पराजुलीको एउटा कवितांश छ नि– ‘जब चुनाव आउँछ घरघरमा पानी जहाज आउँछ, जब चुनाव जान्छ धारामा पानी पनि आउँदैन !’ तपाईंहरूले घरघरमा पानीजहाज पुर्‍याउने मौसम सुरु भयो हैन ?

यो चाहिं नकारात्मक सोच हो । १० वर्षको जनयुद्ध र जनआन्दोलनबाट स्थापित व्यवस्था हो, यो । त्यसमा दल, प्रतिनिधिहरूका कमजोरी रहे होलान् । व्यवस्थाप्रति जस्तो विश्वास हुनुपर्ने हो, त्यो नहोला । तर, पहिलो कार्यकालमामाओवादी केन्द्रका नेता ७३५ वटा स्थानीय तहका प्रतिनिधिले असाध्यै राम्रा काम पनि गर्नुभएको छ ।

कोरोना महामारीमा सबभन्दा राम्रो काम गरेको स्थानीय सरकारले हो । बाढी–पहिरो र आगलागी जस्ता विपदमा स्रोतसाधनसहित जनताको घरदैलो पुगेको स्थानीय सरकार हो । खराब घटनालाई लिएर आलोचना भएको छ, राम्रा कामहरूको प्रचार र प्रोत्साहन पनि हुनुपर्छ ।

गाउँ–गाउँमा सिंहदरबार भन्दाभन्दै अनियमिततालगायत विकृति पनि स्थानीय सरकारमा पुगे भन्ने छ नि ?

संघमा भएका विकृतिहरू पनि कुनै न कुनै रूपले पुगेका छन् । राजनीतिक दल, कर्मचारी, समाज हाम्रो यही हो । जनताले छानेका कार्यक्रममा बजेट, कृषिमा लगानी वृद्धि, उद्यम–व्यवसायलाई प्रोत्साहन पनि भएको छ । शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन लगायत क्षेत्रमा भएका कामहरूलाई पनि कम आँक्नुहुँदैन ।

नेकपा हुँदा तपाईंहरू पनि तीन वर्ष सरकारमा बस्नुभयो । संघले स्थानीय सरकारलाई अंकुश लगाएको भन्ने छ । नत्र, उनीहरूले अझै धेरै गर्न सक्थे कि ?

उहाँहरूले असाध्यै दुःख गरेर काम गर्नुभयो । उहाँहरू निर्वाचित भएर आउँदा बस्ने कुर्सी–टेबुल समेत थिएन । अहिले सबै पालिकाको कार्यालय तयार भइसकेको छ । ६ हजार ७४३ वडामध्ये लगभग सबैको कार्यालय छ । सबै ठाउँमा आधारभूत स्वास्थ्य केन्द्रहरू लगभग पुगेका छन् ।

सुरुका वर्षहरू संरचना बनाउन र कानुनी अन्योलमा बित्यो । कुन अधिकार कसरी प्रयोग गर्ने भन्ने अन्योल रह्यो । साझा अधिकार बाँडफाँटको कुरा अझै टुंगिएको छैन । संघीय सरकारको सहयोग पुग्दो छैन ।

२०७४ मा १३०० भन्दा बढी वडा,११६ पालिका जितेका थियौं । ७४ जति स्थानीय तहमा दोस्रो छौं ।यो पटक २०० भन्दा बढी पालिका हामी एक्लै जित्छौं ।

शक्ति बाँडफाँट गर्ने त भनियो, तर नेतृत्वको केन्द्रीकृत मानसिकताले अलमल भयो भन्ने हो ?

तत्कालीन प्रधानमन्त्री केपी ओेलीले शक्ति–सन्तुलनका लागि संघीयता स्वीकार गरिएको भनेर खुल्लमखुल्ला भन्नुभयो । स्थानीय तहहरूले पाउनुपर्ने जति संवैधानिक र कानुनी अधिकार तथा जनशक्ति नपाएकै अवस्था हो ।

तपाईंहरूले कल्पना गरेको संघीयता कस्तो थियो ?

संघीयता भएका अधिकांश देशमा संघ र प्रदेशमा अधिकार बाँडफाँट छ । हाम्रोमा स्थानीय तह समेत गरी तीन तहमा संवैधानिक रूपले नै शक्ति बाँडफाँट गर्‍यौं। यसअनुसार, संघको अधिकार प्रदेशमा जानुपर्ने हुन्छ ।

त्यस्तै, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक छ । तर, सबै केन्द्रले नै हेर्ने, समन्वय नगर्ने जस्तो अमिल्दो अवस्था छ । संघले उदार भएर काम गर्ने हो भने हाम्रो मौलिकतासहितको संघीयता हुन्छ ।

त्यसका लागि संविधान संशोधन नै गर्नुपर्ने हुन्छ ?

संविधानमा भएका साझा अधिकारहरू बाँडफाँट गर्दा, कानून बनाउँदा अलि प्रगतिशील बन्नुपर्छ । आवश्यकता परे संविधान संशोधन गरेर अनुभवसहित परिमार्जन गर्नुपर्ने हुन्छ ।

भारतमा संघीयता कार्यान्वयन गर्दा सुरुमा अर्ध–संघीयता भनिन्थ्यो । अहिले पूर्ण संघीयता किन भयो भने संघीयता लगायतका विषयमा अनेक पटक संविधान संशोधन गरियो । सर्वोच्च अदालतको व्याख्याहरूले पनि पूर्ण संघीयता बन्यो । सुरुमै गर्न सक्दा राम्रो, नभए अनुभव गर्दै, परिमार्जित गर्दै जाने हो ।

यो त लामो प्रक्रिया रहेछ । अहिले चुनाव आइसक्यो, माओवादी केन्द्रको तयारी के छ ?

६ हजार ७४३ वडालाई आधार बनाएर तयारी थालेका छौं । घोषणापत्र तयार गर्ने अधिकार पालिकाहरूलाई दिएका छौं । हामीले पार्टीको आठौं महाधिवेशनबाट जिल्लालाई समन्वयमा मात्र राखेका छौं । निर्वाचन सम्बन्धी डाटा संकलन, जनमत निर्माण, परिचालन सबै वडाले गर्छ । केन्द्रबाट एउटा अपील निकालेर संघीयता, स्थानीय स्वायत्तता, जनताको सहभागिताबारे हाम्रो धारणा सार्वजनिक गर्छौं ।

यहाँहरूको बढी ध्यान गठबन्धनमा चुनावी तालमेल गर्नेमा देखिन्छ नि ?

त्यो होइन । दुई महिना चुनावी अभियान थालेर ७ भौगोलिक र ३ गैर भौगोलिक गरी १० वटै प्रदेशमा भेला, प्रशिक्षण गरिसक्यौं । अहिले वडाहरूमा पुगेका छौं, नेताहरू त्यहाँ पठाएका छौं । काठमाडौंमा अहिले सांसद भेट्नुहुन्न, केन्द्रीय नेता कम भेट्नुहुन्छ । हामीले तालमेल होला कि नहोला ? भए कतातिर के होला ? भनेर हेरिरहेका छैनौं । आप्mनै संगठनलाई सक्रिय बनाएका छौंं, आफ्नै एजेन्डा लिएर जान्छौं । गठबन्धनमा पनि भएकोले आवश्यकता, औचित्य र अरू पार्टीको ‘पोजिसन’ हेरेर तालमेल पनि गर्छौं ।

गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरू एक्लै चुनावमा जान नसक्ने झैं गरी तालमेल, तालमेल भनिरहेको सुनिन्छ त ?

यो संविधान जोगाउन, जनयुद्ध र जनआन्दोलनका एजेन्डाहरू संस्थागत गर्न हामीले गठबन्धनको कुरा गरेका हौं । ओलीजीले सबै उपलब्धि सिध्याउने ढंगले संविधान मिच्नुभयो, दुई–दुई पटक संसद विघटन गर्नुभयो । त्यसलाई रोक्न नेपाली कांग्रेससँग गठबन्धन भएको हो । त्यसका लागि संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा तालमेल यो आवश्यक भएको हो । यसले सबैलाई फाइदा गर्छ ।

आजको मितिमा ठूलो दलको रूपमा एमाले छ, तर भोलि शक्ति सन्तुलन फेरिन्छ । आजको मुख्य प्रतिस्पर्धा एमाले र दोस्रो दल कांग्रेसकै हो । हिजो एमाले र माओवादी मिल्दा दुईतिहाइ बहुमतमा गयो । आज कांग्रेस, माओवादी, एकीकृत समाजवादी मिल्दा संघ, प्रदेश र स्थानीयमा सजिलै जितिन्छ । यसमा कांग्रेसलाई नै बढी फाइदा हुन्छ ।

फाइदा हुँदैन भने कांग्रेसलाई हाम्रो केही भन्नु छैन । कांग्रेस मिलोस् नमिलोस्, एकीकृत समाजवादी र माओवादी मिलेर जान्छौं । हाम्रो विचार मिल्छ, राजनीति मिल्छ । हिजो एउटै पार्टीमा थियौं । हाम्रो र जसपाको पनि संघीयतालगायत थुप्रै एजेन्डा मिल्छ । उहाँहरू तयार हुँदा जसपासँग पनि मिल्छौं । भोलि हामीबीच एकता पनि हुनसक्छ । यो लुकाउनुपर्ने कुरा होइन ।

एक्लै लड्ने चाहिं आँट छैन ?

हामी एक्लै लड्न पनि सक्षम छौं । २०७४ मा ११६ पालिका जितेका थियौं । ७४ जति स्थानीय तहमा दोस्रो छौं । १३०० भन्दा बढी वडा जितेका छौं । अब त्योभन्दा राम्रो गर्छौं । किनकि, संघीय सरकारमा पूरै पाँच वर्ष बस्यौं, प्रदेश सरकार पनि चलाएका छौं । हामीले जितेका पालिकाहरूमा राम्रो काम गरेका छौं ।

वित्त आयोगको सूचीमा पहिलो नम्बरमा रहेको डडेलधुराको अजयमेरु गाउँपालिका हामीले जितेको हो । तेस्रो नम्बरमा रहेको कैलालीको कैलारी र पाँचौं नम्बरको गुल्मीको धुर्कोट पनि हामीले जितेको गाउँपालिका हो । काम हामीले राम्रो गरेका छौं भने चुनावमा राम्रो नतिजा ल्याउँछौं । यो पटक २०० भन्दा बढी पालिका हामी एक्लै पनि जित्छौं ।

यत्रो शक्ति रहेछ, किन तालमेल–तालमेल भनिरहनुभएको छ ?

एजेन्डा मिल्नेहरू मिल्दा राम्रो । २०६४ सालमा हामी शक्तिशाली हुँदा पनि तालमेल गरौं भनेका थियौं । तत्कालीन एमालेलाई काठमाडौंका १५ सिटमध्ये ८ सिट लिनुहोस्, हामीलाई ७ सिट छाड्नुस् भन्दा हामीलाई गन्नु भएन ।

वामहरू वैचारिक रूपमा निकट हुन्छन्, भोट किन विभाजित गर्ने भन्ने हाम्रो सोच थियो । तर, उहाँहरूले हामीलाई कमजोर ठान्नुभयो र काठमाडौंमा तालमेल हुन्छ भने १६औं सिटमा हुन्छ भन्नुभयो । चुनावमा हामीले ७ सिट जित्यौं, उहाँहरू जिरो हुनुभयो । यो स्थानीय चुनावमा पनि माओवादी केन्द्रको शक्ति देखेर धेरै जना छक्क पर्नेवाला छन् ।

२०७४ को चुनावमा पनि हामीले तालमेल गरौं भन्यौं, एमालेका नेताहरूले मान्नुभएन । माओवादीले एक दर्जन पालिका पनि जित्दैन भनियो, तर ११६ पालिकामा जित्यौं । मधेशमा हामी चौथो, एमाले पाँचौं भएपछि ओलीजीले माओवादी नै शक्ति रहेछ, प्रचण्ड नेतै रहेछन्, मिलौं भन्नुभयो । अनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मिल्यौं पनि ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्ने हो भने एमाले १२५ देखि १५० को बीचमा सीमित हुन्छ । यथार्थ यही हुन्छ

माओवादीबाट केही नेता बाहिरिनुभएको छ । त्यसको असर पर्ला नि ?

नेकपा फुटेको छ, स्वयं एमाले फुटेको छ । दुईतिहाइको सरकार ढालेको छ, प्रतिनिधिसभा विघटन गरेको छ । ओलीजी र उहाँको टिममाथि ठूल्ठूला भ्रष्टाचारको आरोप लागेको छ । जिन्दगीभर एमाले बनाउन हिंडेका माधव नेपाललगायत नेताहरू बाहिरिनुभएको छ । अनि त्यही एमाले र ओलीजीले जित्ने, हामीले हार्ने कसरी हुुन्छ ?

एकीकृत माओवादीबाट को–को साथीहरू गए, तिनको जनाधार हेर्नुहोस् । गएकाभन्दा बढी आइरहेका मान्छेहरू हेर्नुहोस् ।

एमालेसँगको एकता, विवाद जस्ता अस्थिरताले माओवादी केन्द्रका कार्यकर्तालाई बिच्क्याएको पनि होला नि ?

माओवादीका नेताहरू ‘रिजिड’ छैनन्, गतिशील छन् । देशलाई निकास दिनुपर्छ, परिस्थिति बदलिएपछि नयाँ निर्णय गर्नुपर्छ भन्ने हो ।

तपाईं गतिशीलता भन्नुहुन्छ, अरूले अस्थिरता । जे भए पनि यसले चुनावमा त असर गर्ला नि ?

केलाई अस्थिरता भन्ने ? ओलीजीले एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने भन्नुभयो, हामीले यो राष्ट्रिय हितमा छैन, परिमार्जन गर्नुपर्छ भन्यौं र व्याख्यात्मक घोषणासहित अनुमोदन गर्‍यौं । १२ बुँदे व्याख्यात्मक घोषणा कसरी अस्थिर हो ? एमसीसी यही रूपमा पास हुने हो भने हामी पक्षमा उभिदैनौं, राष्ट्रिय स्वाधीनतालाई बन्धक बनाउन सक्दैनौं भन्नु कसरी अस्थिरता ? त्यो त राम्रो कुरा हो त । बरु हाम्रो अडानमा कांग्रेस आयो ।

त्यही एमसीसी पास गर्दा एमालेमा जान तपाईंहरूकै नेता–कार्यकर्ताले पार्टी छाडे …

अवसरवादसँग त के लाग्छ र ? एकजना लेखकले दशक पहिले लेख्नुभएको थियो– नेपालको वामपन्थी आन्दोलनको विडम्बना के छ भने तिर्खा लाग्यो भने ठूलो स्वरले कराउने अनि सातु खाने । त्यसले त झन् तिर्खा लाग्छ । तिर्खा लागेको बेला पानी खोज्नुपर्ने ठाउँमा सातु खाने ? एमसीसी अनुमोदन गर्‍यो भनेर एमालेमा जानु पनि त्यस्तै हो ।

कांग्रेससँग चाहिं चुनावी तालमेलको मोडेल के हो ?

कांग्रेससँग शतप्रतिशत तालमेल नहोला । तर गणतन्त्र, संघीयता लगायत उपलब्धि पक्षधर शक्तिहरू एकठाउँमा बस्नुको मनोवैज्ञानिक अर्थ हुन्छ । दोस्रो, एक्लाएक्लै लड्दा कांग्रेस पनि हार्ने, हामी पनि हार्ने अवस्थामा मिलेर मुख्य प्रतिस्पर्धीलाई हराउनु स्वाभाविक हुन्छ । त्यसका निम्ति कांग्रेस तयार हुन्छ, हामी पनि तयार हुन्छौं ।

यसक्रममा सामान्यतः हिजो जितेका पालिका लिने मोडालिटी होला । हामीले ११६ जितेका छौं, उहाँहरूले २६३ जित्नुभएको छ । एमालेले २९४ जितेको छ । त्यसमा अहिले एकीकृत समाजवादीको जनाधार भएका ठाउँहरू पनि छन् । त्यहाँ समाजवादीलाई दिने होला । बराबर जनाधार भएको ठाउँमा जसले जसलाई सहयोग गरे पनि भयो ।

गठबन्धन हुँदा तपाईंहरूको दाबी कति पालिकामा हुन्छ ?

हामी ६ हजार ७४३ वडाकै विश्लेषण गरिरहेका छौं । कसको मत कस्तो छ हेर्दैछौं, दाबी गर्नु परे गरौंला ।

कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपा मिल्ने हो भने एमाले १२५ देखि १५० को बीचमा सीमित हुन्छ । एमालेका साथीहरू आफैंले पनि गठबन्धन भयो भने १५० देखि १६० सम्म जित्छौं भनेर केन्द्रीय कमिटीमा भन्नुभएको छ । यथार्थ यही हुन्छ ।

एउटा कम्युनिस्ट पार्टीको हैसियतले फुट्दा पनि नफुटे भए हुन्थ्यो भन्ने थियो, अहिले पनि मिलुन् भन्ने सदासय छ ।तर नेपालमा राजनीति र निर्णय त हामीले नै गर्ने हो । ओलीले जे गर्नुभयो, त्यसमा आत्मालोचना, पश्चात्ताप नगरी मिल्ने ठाउँ छैन ।

एमाले चुनावमा होमिएको जस्तो, गठबन्धन अलमलमा परेजस्तो देखिन्छ नि ?

कांग्रेस, समाजवादी र जसपाले आफ्नो तयारी गरिरहेका छन्, हामीले आफ्नो तयारी गरेका छौं । सबैले तयारी गरिरहेका छन् । तालमेल भए हुन्छ, नहुँदा आ–आफ्नो तयारी छँदैछ ।

तपाईंहरू कांग्रेसले सम्मानजनक तालमेल गरेन भने एमालेतिर जान्छौं पनि भन्नुहुन्छ । एमालेसँग पनि तालमेलको प्रयास भइरहेको हो ?

एमालेका साथीहरूले मिलौं, गठबन्धन, तालमेल गरौं भनिराख्नुभएको छ ।

कुन तहका नेताहरूले ?

शीर्ष तहकै नेताहरूले भनिरहनुभएको छ । वरिष्ठ नेताहरूले नै भनिराख्नुभएको छ । अनौपचारिक कुराकानी पनि हुन्छन् । नेपालको राजनीतिक संस्कार सबै बन्द गरेर बस्ने छैन, कुराकानी चलिरहेको हुन्छ ।

तर, ओलीजीले दुई–दुई पटक संसद विघटन गर्नुभयो, यत्रो उपलब्धिहरूलाई भड्खालोमा हाल्न खोज्नुभयो । उहाँले देशलाई अस्थिरतामा लगिनै सक्नुभएको थियो । हामीले आन्दोलन गर्‍यौं, त्यसको जगमा अदालतले सकारात्मक फैसला गरेपछि हाम्रो लोकतन्त्र, संघीयता ट्रयाकमा आएको हो । कांग्रेससँग अहिले हामी मिलेको पनि संविधान, लोकतन्त्र बचाउने मूल्यमा हो ।

त्यसैले ओलीले जे गर्नुभयो, त्यसमा आत्मालोचना, पश्चात्ताप नगरी मिल्ने ठाउँ छैन । तर, कहिल्यै मिल्दैनौं भन्ने पनि होइन ।

दक्षिणपन्थको मामिलामा ओली र देउवामा के फरक छ ?

देउवाजी कमसेकम संविधान बचाउनेमा त उभिनुभयो नि ! अस्थिरतातर्फ जाने राजनीतिक परिघटना रोक्न त सहमत हुनुभयो नि !

उभ्याएको हो कि ?

हो, उहाँ पहिले चुनावमै जान खोज्नुभएको थियो । वामपन्थीहरू फुटे, चुनाव भयो भने काइदा हुन्छ भन्ने लागेको थियो । दोस्रो पटक पनि विघटन गरेपछि यो त मेरै विरुद्ध रहेछ, चुनाव गराउन रहेनछ भन्ने बुझ्नुभयो ।

पहिले पनि एमाले र माओवादीलाई मिलाउन चीनको भूमिका छ भनिन्थ्यो । अहिले नेताहरू चीन जान थाल्नुभएको छ । मिल्नुहोस् भनिरहेको हो ?

एउटा कम्युनिस्ट पार्टीको हैसियतले फुट्दा पनि नफुटे भए हुन्थ्यो भन्ने थियो, अहिले पनि मिलुन् भन्ने सदासय छ । औपचारिक–अनौपचारिक रूपमा भन्न पनि खोज्नुहुन्छ । तर, नेपालमा राजनीति र निर्णय त हामीले नै गर्ने हो । उहाँहरूले सद्भाव, सदासयता देखाउने हो, जसलाई अन्यथा भन्न मिल्दैन ।

ओलीजीले ठूल्ठूला गल्ती गर्नुभयो । कम्युनिस्ट पार्टीको दुईतिहाइको जनमत विघटन गर्नुभयो । जनयुद्ध, जनआन्दोलनबाट प्राप्त संविधानलाई करिब–करिब कोमामै पुर्‍याउनुभयो । स्थापित लोकतन्त्रलाई लगभग खत्तमै पार्नुभयो । देशलाई अस्थिरताको सुरुङमा धकेलिसक्नुभएको थियो, हामीले तानेर ल्याएका छौं । यसमा गल्ती महसुस, आत्मालोचना हुनुपर्‍यो । त्यसले मिल्ने एउटा आधार बनाउन सक्छ ।

२०७४ मा पनि ७ असोजसम्म कांग्रेससँगै हुनुहुन्थ्यो, ८ गतेदेखि एमालेसँग मिल्न लाग्नुभयो । यसपालि त्यस्तो नहोला भन्न सकिन्छ र ?

त्यतिखेर एउटा सन्दर्भ थियो । पहिलो अवधिमा कांग्रेस र दोस्रोमा एमालेले सरकार चलाउने भन्ने थियो । संविधान बनेपछि कांग्रेसले धोका दिएपछि एमालेले हामीसँग सहयोग मागेको हो । तर, ओलीजीले हामीलाई सहयात्री पार्टी नठानी अपमान गर्ने, निर्वाचन गर्नतिर नजाने भएपछि कांग्रेससँग गठबन्धन बनेको हो ।

अघिल्लो स्थानीय तह निर्वाचनमा ओलीजीले हाम्रो शक्ति देखेर प्रचण्ड नेता हुन्, माओवादी शक्ति हो भन्ने स्वीकार गरेपछि वामपन्थीहरू मिल्नु स्वाभाविक थियो । २०७७ मा संसद विघटन नै गरेपछि भने सँगै बस्ने अवस्था रहेन ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?