+
+
विचार :

विकासको भाष्य बदल्ने अवसर

सरोज पोखरेल सरोज पोखरेल
२०७८ चैत २० गते ११:४८

गाउँमा एम्बुलेन्स छैन, डाँडामा भ्यू टावर

पहाडमा भ्यू टावर जस्तै मधेश प्रदेशका स्थानीय तह र संसदीय क्षेत्रपिच्छे स्वागतद्वार बनाउने होडबाजी

काठमाडौंमा भ्यू टावर बन्दा धरहरा कहलिन्छ, इज्जत पाउँछ-रोल्पाको भ्यू टावर गाली मात्र पाउँछ, विभेद यहाँ पनि छ

माथिका तीन समाचार र विचारमध्ये दुईवटा आमसञ्चारमाध्यमबाट र अर्को सोसल मिडियाबाट लिइएको हो। यतिबेला चर्चाको केन्द्रमा कंक्रिटका भ्यू टावरहरू छन् र समाचारको विषय बनिरहेका छन्।

हामीले विकासका नाममा व्यतित गरेका केही वर्षहरूको समीक्षा यस्ता समाचारबाट र ती भ्यू टावरका उद्घाटनका समाचारहरूबाट भैरहेको छ। समीक्षा नै त नभनिहालौं चर्चा भने भैरहेको छ। यी चर्चाहरूमा छापा र अनलाइनका भित्ताहरू रंगिएका छन् र सोसल मिडियामा आक्रोश पोखिएका छन्।

ती चर्चामा धेरथोर समीक्षा पनि मिसिएको छ र जानकारहरू ती भ्यू टावरको सट्टा शिक्षा, स्वास्थ्यमा लगानी गरेको भए हुन्थ्यो पनि भनिरहेका छन्। तर कुन सन्दर्भले ती भ्यू टावरहरू ठडिए ? राजनीतिक नेता, कर्मचारीतन्त्र र योजनाविद्हरु कहाँ चुके वा जे गरे ठीकै गरे भन्ने बारे समीक्षाको सर्वथा अभाव देखिएको छ।

किन यतिविधि धेरै संख्यामा भ्यू टावरहरू ठडिए र किन जनताको जीवनसँग प्रत्यक्ष जोडिएका स्थानीय सरकारहरूले पनि यसैको सिको गर्नमा लागे भन्ने कुराको विश्लेषण र निर्क्योल गर्न सकिएन भने असन्तुष्टिको गीतमा आफू रमाउन त सकिएला तर समाधानको वैकल्पिक बाटो पहिल्याउन सकिने छैन।

भ्यू टावर वा स्वागतद्वारको प्रसंगले हाम्रो विकासको सोच, विकासबारे हाम्रो बुझाइ र विकासका प्रत्यक्ष पात्रहरूको क्षमता र अल्पकालीन तथा दीर्घकालीन विकास प्राथमिकतामा तमाम प्रश्नहरू खडा गरेको छ। र, कहीं हाम्रो विकासको बाटो कुहिरोको काग त बनिरहरेको छैन भन्ने प्रश्न गम्भीर रूपमा सामुन्ने उभिएको छ।

विकास समीक्षामा यी भ्यू टावर र गेटहरूको सन्दर्भ एउटा मानक हुनसक्छ किनभने हामीले तय गरेको विकासका यस्तै भ्यू टावर र स्वागत गेटसँग मिल्ने सन्दर्भहरू नै धेरै छन्।

यसले गर्दा यसबाट निस्कने सिकाइहरूको सामान्यीकरण सम्भव हुनसक्छ र विकासको मति र गतिमा परिवर्तनको गुञ्जाइस पहिल्याउन सकिनेछ। यस सन्दर्भमा यो लेखको उद्देश्य भ्यू टावर र स्वागत गेटकै सन्दर्भमा विभिन्न चार वटा पाटाहरूमा समीक्षाका लागि विषयवस्तु प्रस्तुत गर्नु हो।

१. नक्कलको संस्कृति

पछाडि फर्केर हेर्दा भ्यू टावर र स्वागत गेटको विकासे मोडेललाई नेपाल भ्रमण वर्ष २०२० ले बढी मात्रामा प्रभावित गरेको देखिन्छ। राष्ट्रको मेघा प्रोजेक्ट भएका कारणले संघीय सरकारका विकास योजनाहरू भ्रमण वर्षलाई सफल बनाउन पूर्वाधारको तयारी र प्रवर्धनमा हुने कुरालाई अन्यथा लिन नसकिएला तर, के यस्ता खाले पूर्वाधारहरूले साँच्चिकै पर्यटन प्रवर्धन गर्लान् त भन्ने चर्चा कहिल्यै भएन।

विस्तारै प्रदेश र स्थानीय तहका सरकारहरूले पनि त्यही टावर र गेटको सिको गर्न थाले। स्थानीय तहमा एकअर्कालाई उछिन्ने होडबाजी नै चल्यो।

जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकारले पनि केही अपवाद बाहेक जनतासँग जोडिएको पर्यटन विकासको मोडेल भन्दा देखावटी बाटो समात्यो। जुनसुकै दलबाट निर्वाचित भएका भए पनि एउटै खाले चेत र नक्कलको संस्कृतिको बोलवाला रह्यो।

टावर र गेटको विकल्पहरू के हुनसक्छन् जसबाट बढीभन्दा बढी स्थानीय समुदायले फाइदा लिन सक्छन् र पाहुनालाई नेपाली मनबाटै आतिथ्यता प्रदान गर्न सकिन्छ भन्ने बारेमा होमस्टे बाहेक अरु खासै थप योजना आएनन्। त्यसैले यसो भन्न सकिन्छ कि विकल्पको बहसको मैदान करिब करिब खाली नै भयो।

राजनीतिक नेतृत्व त टावर र गेटमा रुमल्लिरहेका थिए भन्न सकिएला तर त्यतिबेला विकासका विज्ञ, जानकार, आर्थिक विज्ञ तथा विश्लेषकहरू के गर्दैथिए भनेर भेउ पाउन सकिएको छैन। त्यसैले भ्यू टावर र स्वागत गेटको निर्माणलाई निरपेक्ष रूपमा हेर्दा सही निष्कर्षमा पुग्न गाह्रो छ। अतिले खति नै गर्छ।

पर्यटनको विकास र विस्तारको हुटहुटी हुनु त ठीकै हो तर तुलनात्मक लाभका क्षेत्र पहिचान र लगानीमा हामी कहाँ चुक्यौं भन्ने कुराको निर्क्योल गर्नु जरुरी छ।
यसका लागि विकल्पहरू पनि सुझाउनुपर्ने हुन्छ। त्यो भएन भनेर मात्र पुग्दैन। विकल्पसहितको विरोध लोकतन्त्रको सुन्दरता हो तर निरपेक्ष विरोधले केवल नकारात्मकता जन्माउँछ, समाधान दिंदैन।

२. परम्परागत विकास भाष्यको गोलचक्कर

जबसम्म विकास र प्रगतिको बाटो स्पष्ट हुँदैन र के गर्ने भन्ने द्विविधा कायम रहन्छ तबसम्म केही देखाउन मिल्ने भौतिक निर्माणलाई राजनीतिक नेतृत्वले प्राथमिकतामा राख्न बाध्य हुन्छ।

नयाँ संविधानको कार्यान्वयन सँगै तीनै तहमा निर्वाचित सरकारहरू जनताको उच्च आकांक्षाको दबावमा थिए तर उनीहरूसँग नयाँ खाले समाधान थिएन। त्यसैले उनीहरू मूलतः भौतिक निर्माणलाई मात्र विकास ठान्ने परम्परागत विकासको न्यारेटिभको गोलचक्करमा पर्नु नौलो कुरा थिएन।

पर्यटनको विकास र विस्तारको हुटहुटी हुनु त ठीकै हो तर तुलनात्मक लाभका क्षेत्र पहिचान र लगानीमा हामी कहाँ चुक्यौं भन्ने कुराको निर्क्योल गर्नु जरुरी छ।

योजनाबद्ध मध्यकालीन तथा दीर्घकालीन विकासको सन्दर्भमा व्याप्त अन्योलता र तात्कालीन आवश्यकताबीचको समायोजनको अपेक्षित पहललाई भौतिक विकास सम्बन्धी परम्परागत न्यारेटिभको बर्कोले अद्यापि छोपिरहेको छ। जबसम्म यो बर्को खोलिंदैन तबसम्म जनताले खोजेको विकासको क्षितिज देखापर्ने छैन।

विकास र समृद्धिको यात्रामा भौतिक निर्माण महत्वपूर्ण कुरा हो तर यो नै सबै कुरा होइन। र, अझ निर्माण भएका भौतिक संरचनाहरूको दिगो उपयोग समकालीन नेपाली विकासको उदीयमान चुनौती हो। त्यसैले विकासको परम्परागत न्यारेटिभमा परिवर्तन नल्याई व्यवहारमा परिवर्तन आउने अपेक्षा गर्नु भनेको हिउँमाझ आगोको आविष्कारको कुरा गर्नु जस्तै हो।

सबै विकासका सरोकारवालाहरू रनभुल्लमा छन्। जनतासँग जोडिएको विकास कस्तो हुन्छ ? कस्ता भौतिक निर्माणले जनताको चेतनालाई जागृत गर्न मद्दत गर्छ ? कस्ता भौतिक निर्माणले जनताको कल्याणमा योगदान गर्छ र खुसियाली ल्याउँछ ?

कस्तो विकासले जनताको जीवन र जीविकामा सहजता थप्छ ? र कस्तो खाले विकासले जनतामा आशा जगाउँछ र हौसला भर्छ ? यस्ता प्रश्नहरुको जवाफ खोज्ने फुर्सद सायदै कसैलाई छ।

योसँगै अहिले ठडिएका भौतिक संरचनाहरू कति दिगो हुने र प्रयोगमा आउने हुन् भन्नेमा सन्देह छ। र, यसको जवाफ पनि परम्परागत विकासको न्यारेटिभबाट खोज्न सकिने छैन।

३. समकालीन विकासका चुनौतीमा विषयान्तर

विकासको परम्परागत न्यारेटिभको बर्कोले आँखा छोपेर हिंड्दा गन्तव्य त नदेखिने नै भयो त्यसमाथि त्यो बर्कोले छोप्दा समकालीन विकासका चुनौतीलाई पनि अनदेखा गरिंदैछ। जनताका जीविकाका समस्या गहिरिंदैछन्। भोक टार्न र परिवारको खुसी खोज्न प्रवासिने युवाको संख्या बढिरहेको छ।

खेतीपातीकै नामले कृषिप्रधान कहलिने देश बर्सेनि खाद्य संकटमा पर्दैछ। उद्यम गर्ने आँट पलाएकाहरू फेरि निराश हुँदैछन्। शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकमा दरिएका विषयका सेवा प्रवाह र त्यसको गुणस्तरहीनताको आडमा नाफाखोर निजी क्षेत्रले कब्जा जमाउँदैछ, सामाजिक न्याय र समानताको प्रतिबद्धता दैनिकजसो पढिने हिंसा, शोषण र बलमिच्याइँका समाचारले खण्डित गरिरहेको छ।

यस्ताखाले समकालीन चुनौतीलाई अनदेखा गर्न र मुख्य विषयबाट विषयान्तर गर्न यस्ता भ्यू टावर र स्वागत गेटहरू सहायक बनेका छन्। जब समकालीन चुनौतीलाई सामना गर्ने ल्याकत रहँदैन तब विषयान्तरको बहाना खोज्नुपर्ने अवस्था आइलाग्छ, सायद। किनभने यस्ताखाले मुख्य चुनौती सामना गर्न रणनैतिक सोच, दीर्घकालीन योजना र असीम धैर्य चाहिन्छ, यो काम टावर र गेट ठड्याएजस्तो सजिलो छैन।

त्यसैले राजनीतिक, प्राविधिक र सामाजिक सबै क्षेत्रमा परम्परागत विकासको न्यारेटिभको बर्को खोलेको उदाउँदा चुनौतीको सामना गर्न सक्षम नेतृत्वको विकास आजको अहं प्रश्न हो।

४. क्षमता अभावको दुरुह चित्र

स्वागत गेट र अग्ला टावरहरू ठडिएको देखिन्छ। सँगै समकालीन नेपाली समाजका आर्थिक, भौतिक र समाजिक आवश्यकतालाई बुझ्ने, त्यसलाई विकासको सन्दर्भसँग जोड्ने, विकासको प्राविधिक र सामाजिक आयाममा तादात्म्यताको पहिचान गर्ने, तुलनात्मक रूपमा लाभका क्षेत्रहरूको विश्लेषण गर्नेमा क्षमता अभाव पनि छताछुल्ल भएको छ।

जबसम्म यस्तोखाले क्षमताको अभाव रहिरहन्छ तबसम्म विकास प्रक्रियामा मनोमालिन्य रहिरहनेछ र शासकीय क्षमता तथा सुशासनको प्रश्न गम्भीर रहिरहनेछ। हाम्रो देशमा शासकीय क्षमता विकासमा लगानीको विषय अहिलेसम्म प्राथमिकतामा आइसकेको छैन। व्यवहारतः यस विषयमा प्राविधिक सहयोगका लागि दातृ संस्थाहरूलाई जिम्मा लगाइदिए जस्तो देखिन्छ।

यसले पनि हामी नेपालीले आफ्नो विकासको रणनैतिक फैसला गर्ने ल्याकत बनाइसकेका छैनौं कि भन्ने भान पर्छ, जुन विषय ज्यादै संवेदनशील विषय हो। विकास व्यवस्थापनका विभिन्न पक्ष र त्यसका लागि चाहिने क्षमताका पाटा धेरै छन् तर मूल कुरा शासकीय क्षमता नै हो जसमा अलि धेरै नै सुधारको खाँचो छ।

चाहे जुनसुकै तहको सरकारमा होस् आफ्नै खल्तीभित्रका विज्ञ भनिनेहरूको घेरालाई नै क्षमता ठान्ने हो भने विकासको राजमार्ग त के पगडण्डी पनि फेला पार्न मुश्किल छ।

विकासमा क्षमता अभावका विभिन्न आयाम छन्। सरकारी मात्रै होइन निजी र सामूहिक क्षेत्रमा समेत क्षमता अभाव हरेको कुरा साँचो हो भन्नेकुरा घाम जत्तिकै छर्लंगैछ।

निर्माण क्षेत्रकै कुरा गर्दा लिएको ठेक्का समयमा सम्पन्न नगर्ने, गरेको कामको गुणस्तरमा बग्रेल्ती प्रश्नहरू आउने, परियोजना लागत ठेक्का समयावधि बढेसँगै महँगो हुँदै जाने जस्ता कैयन् प्रश्न छन् जुन क्षमता अभाव र हेराफेरीसँग गाँसिएका छन्। यी सबै कुराको साइनो शासकीय क्षमता र सुशासनसँगै अभिन्न रूपमा जोडिएको छ।

अन्त्यमा, माथिका चार पाटाहरूमा मिहिन विमर्श आजको विकास बहसको आवश्यकता हो। भ्यू टावर र स्वागत गेटको चर्चाले परम्परागत विकासको न्यारेटिभ बदल्ने अवसर दिएको छ। तर वैकल्पिक न्यारेटिभ सशक्त नहुने हो भने स्थापित न्यारेटिभ परिवर्तन हुँदैन।

नेपालको विकासको खाका कोर्न र आफ्नै मौलिक विकासको मोडेल बनाउन व्यापक समीक्षाको आवश्यकता छ। यस्ता मोडेलहरू पनि भौगोलिक तथा प्राकृतिक अवस्था र जनसांख्यिक अवसरहरूका आधारमा भिन्न–भिन्न बन्न सक्छन्।

किनभने नेपालभित्र पनि बहुलता र विविधता छ त्यसैले सबैको खुट्टामा एउटै जुत्ताको नापोले काम चल्दैन। चुनौतीलाई सम्भावनामा बदल्न सकिने अवसर असंख्य छन् तर त्यसलाई हेर्नका लागि परम्परागत विकासको न्यारेटिभको बर्को फाल्नै र क्षितिज हेर्ने आँखा खोल्नै पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?