+
+

कुमारबहादुर जोशीको किड्नी पीडा

गोविन्द गिरी प्रेरणा गोविन्द गिरी प्रेरणा
२०७८ चैत २० गते १२:३९

२०७५ वैशाख ३ गते सोमबार साँझ ४ बजे नेपाली साहित्यका एक वरिष्ठ विद्वान, महाकवि देवकोटाको रचनाका विज्ञ प्राध्यापक कुमारबहादुर जोशीको चोला उठेको हो। उनको दु:खद अवसान भयो। तर यो अवसान अप्रत्यासित थिएन। दुई–दुई पटक मिर्गौला प्रत्यारोपणपछिको निरन्तर उपचार र औषधिको प्रतापले नै उनको जीवन धानिएको सबैले बुझेका थिए। २०७२ सालमा म उनकै निवासमा भेट्न गएको थिएँ। उनलाई अर्को कोठाबाट भेटघाटका लागि छुट्याएको कोठासम्म आउन हम्मे परेको देख्दा मलाई उनको त्यो जर्जर शारीरिक अवस्थाले निकै पोलेको थियो। तर त्यति भइकन पनि हामीले केहीबेर कुराकानी गर्‍यौं। त्यो अस्वस्थता र शारीरिक पीडामा पनि उनको मुहारमा झल्केको मुस्कान अविस्मरणीय थियो।

१९९८ साल मङ्सिर २३ गते चाबहिलमा माता जुलुमा जोशी र पिता प्रेमबहादुर जोशीका सुपुत्रका रुपमा जन्मेका कुमारबहादुर जोशीको सिर्जना यात्रा उनी २१ वर्षे ठिटो हुँदा “भन्नोस् माँ म के गरुँ ?”  शीर्षकको कविता गोरखापत्रमा प्रकाशित भएपछि सुरु भएको थियो। यो यात्रा जीवन र मरणको दोसाँधमा पटकपटक पर्दा पनि निरन्तर भइरह्यो। उनको सिर्जनशीलता कहिले तीव्र, कहिले सुस्त भए पनि निरन्तर चलिनैरह्यो।

गहन अध्ययन, अनुसन्धान र गहिराइमा पुगेर लेखनमा लाग्ने कुमारबहादुर जोशीको सिर्जन यात्राको सुरुवात कविता र पहिलो प्रकाशित पुस्तक निबन्ध सङ्ग्रहबाट भए पनि पछिल्लो समयमा उनको व्यक्तित्वको फराकिलो पाटो समालोचना नै रह्यो। विशेषगरी महाकवि देवकोटाको कवित्वको विषयमा विद्यावारिधि गरेपछि उनी देवकोटाको विषयमा एक विशेषज्ञका रुपमा प्रकाशमा आए। उनको “महाकवि देवकोटा र उनका महाकाव्य” समालोचना सङ्ग्रहमा डा. वासुदेव त्रिपाठीले लेखेको विशद भूमिकाले यो कृति अत्यन्त चर्चामा आयो। किनभने यसअघि यति लामो भूमिका कृतिमा कसैले लेखेकै थिएनन्।

गोविन्द गिरी प्रेरणा

आफ्नो जीवनकालको मुख्य समय कुमारबहादुर जोशीले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनमा विताए। त्यही क्रममा उनले आफ्नो रचनाशीलतालाई उजागर गर्दै गए भने आफ्नी पत्नीको पनि कृति प्रकाशनमा सहयोग पुर्‍याए। उनकी पत्नी कोशला जोशी शिक्षा मन्त्रालय अन्तर्गतको पुस्तकालयमा कार्यरत थिइन्। तर उनलाई अचानक क्यान्सर भएपछि उनको रमाइलो पारिवारिक जीवनमा एक्कासी कालो बादल मडारियो। लाख प्रयत्न गर्दा पनि उनलाई बचाउन सकिएन। त्यसै प्रसङ्गमा उनले मलाई भनेका थिए, “यो क्यान्सर भन्ने रोग ज्यादै मापाको हुँदोरहेछ। घरबार पनि सिध्याइदिने, निको पनि नहुने।”

सम्भवत: श्रीमतीको क्यान्सरको उपचारको लागि परेको आर्थिक भारको पीडाको प्रकटीकरण थियो त्यो।

उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्दागर्दै बनारस हिन्दु विश्वविद्यालयमा पनि अध्यापनको अवसर पाएका थिए। बनारस हिन्दु विश्वविद्यालयमा नेपालीभाषी अध्यापकलाई आगन्तुक अध्यापकको रुपमा लैजाने प्रचलन थियो र हाल पनि त्यो कायम छ।

पहिली पत्नीको दुःखद निधनपछि उनले दोस्रो बिहे गरे। यो विवाहले पारिवारिक विग्रह निम्त्यायो। उनका छोराहरु यसको पूरै विपक्षमा देखिए र उनले आफ्नो जायजेथा छोराहरुलाई भाग लगाइदिए। घरमा एक्लिए अनि मूल घरबाट उनी बाहिरिए।

कुमारबहादुरको पहिलो विवाह २०२१ सालमा भएको थियो। यो प्रेमविवाह थियो। यो विवाहमा युगकवि सिद्धिचरण श्रेष्ठले दुलही ल्याइदिने “गार्जेन” को भूमिका पूरा गरेका थिए। तर स्तन क्यान्सरको कारण २०५० साल जेठ ३० गते उनकी पत्नी कोशला जोशीको दुःखद अवसान भएको थियो।

कुमारबहादुर जोशीका प्रथम र दोस्रो प्रकाशित कृतिहरु “सञ्चयन” निबन्ध सङ्ग्रह तथा “सिंह सार्थवाह” खण्डकाव्यको प्रकाशिका उनकी प्रथम पत्नी कोशला जोशी थिइन्। कुमारबहादुरले पनि उनलाई लेखनमा हौसला र प्रोत्साहन दिन्थे। उनले नेपाली साहित्यकारहरुको विषयमा लेखेको कृति उनको जीवनकालमै प्रकाशित भएको थियो।

प्रथम पत्नीको देहान्त भएकै साल उनले प्रस्ताव गरेर सरस्वती जोशीसँग विवाह भयो। हालै विदुर भएका कुमारबहादुर ४८ वर्षका थिए, सरस्वती ४० वर्षकी थिइन्। आफ्नो स्वास्थ्यका कारण बिहे भएको घरमा कामकाज गर्न नसकिएला भनेर विवाह नगरी बसेकी थिइन् सरस्वती। तर कुमारबहादुरको तर्फबाट प्रस्ताव आएपछि उनलाई नाइँ भन्न असहज भयो, किनभने देवकोटाको विषयमा विद्यावारिधि गर्ने कुमारबहादुर उनको परिवारमा देवकोटा जस्तै सम्मान्य थिए। सरस्वती पनि देवकोटाबाट अत्यन्तै प्रभावित थिइन्। यस्ता प्रतिभाबाट प्रस्ताव आएको हुनाले उनी विवाहका लागि राजी भएकी थिइन्।

दोस्रो विवाहले एउटा पारिवारिक विग्रह निम्त्याएको थियो। उनका छोराहरु पूरै विपक्षमा भए। यसै बीच अचानक किड्नीले काम गर्न छोडेपछि उनको निजी जीवन पीडा, अभाव र अन्त्यहीन समस्याको धापमा पर्यो। उनको किड्नीले काम गर्न छाडेपछि घरबाट असहयोग भयो। उनका छोराहरुले कान्छी श्रीमती त्यागे उपचारको सम्पूर्ण खर्च व्यहोर्ने नत्र कुनै सहयोग नगर्ने अडान लिए जुन कुमारबहादुरलाई मान्य हुने कुरा थिएन। उनको सहयोगार्थ सरकारको ढोका ढक्ढक्याउनेदेखि संघसंस्था एवम् शुभचिन्तकहरुले एक प्रकारको क्याम्पेन नै गरे। म त्यतिवेला पहिलो चरणको अमेरिका बसाइ सकेर भर्खरै नेपाल फर्केको थिएँ र अमेरिकाका साहित्यिक तथा शुभचिन्तकहरुले जुटाएको सहयोग हस्तान्तरणको बेला म पनि सहभागी हुने मौका मिलेको थियो। देश–विदेश सारातिर हारगुहार गरेर पैसा जुटाइएको थियो।

अन्ततः उनको किड्नीको प्रत्यारोपण भारतमा सफलतापूर्वक भयो। तर प्रत्यारोपित किड्नीले लामो समय काम गरेन। त्यो प्रत्यारोपित किड्नीले काम गर्न छोडेपछि दोस्रोपल्ट पनि उनको किड्नी प्रत्यारोपण गर्नुपर्ने अवस्था आइपर्यो। दुईदुई पल्टको किड्नी प्रत्यारोपणले उनलाई सबै प्रकारले गलित तुल्यायो। शारीरिक र आर्थिक अवस्था दुवैले नाजुक बनाएको त थियो नै तर पनि यी सबका बावजुद उनले लेखन कर्मलाई निरन्तरता दिएका थिए। किड्नी रोगको विषयमा आफ्नो अनुभव र उपचार पद्धति र औषधि लगायतको विषयमा उनले ढड्डु किताब नै लेखे र प्रकाशन पनि भयो।

उनले आफ्नो उपचार र जीवन अनुभूतिहरु “मृत्यु शय्याबाट बिउँझेर” नामक आत्मकथात्मक कृति लेखे र यो २०५४ सालमा प्रकाशित भयो। उनले आफ्नो आत्मकथात्मक लेखनलाई अर्को भागमा पनि लेखे “दोस्रो नवजीवन” शीर्षकमा जुन २०५९ सालमा प्रकाशित भएको थियो। उनले आफ्ना उपचार अनुभवहरु अरुलाई पनि काम लागोस् भनेर “मिर्गौला रोग र यसको उपचार” कृति पनि लेखे। यो निकै उपयोगी र जानकारीमूलक अनुभवजन्य लेखन थियो र धेरैले यस कृतिको पनि सराहना गरे, यद्यपि यो कुनै साहित्यिक महत्वको कृति थिएन। तर साहित्यकार पनि मान्छे नै हो, यो मान्छेलाई काम लाग्ने कृति थियो, यौटा सिद्धहस्त लेखकको कलमबाट लेखिएको आफ्नै अनुभव !

उनको प्रथम पटक २०५३ साल भदौ २६ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। तर विसं २०५८ मा त्यसले काम गर्न छाडेपछि अर्को संकटको अवस्था सामना गर्नु परेको थियो। उनका लागि हारगुहार फेरि सुरु भयो। त्यसबेला सहयोगका लागि हात अघि बढाउने समकालीन एवम् अनुजलाई समेत उनले अन्तरङ्ग साथीको रुपमा मानेको भन्दै उनले भनेका थिए, “पहिले पहिले अरु नै साथीहरु हुनुहुन्थ्यो। अहिले नयाँ-नयाँ साथी बन्नुभएको छ। मेरो स्वास्थ्य बिग्रँदै गएपछि मेरो स्वास्थ्यप्रति बढी चिन्ता गर्नेहरु नै नजिकका साथी बन्न पुग्नुभएको छ। जस्तो कालिप्रसाद रिजाल, चट्याङ माष्टर, प्रद्युम्न जोशी, श्रीओम रोदन, चेतन कार्की, कैलाश भाइ जस्ता साथीहरु एकदम नजिक हुनुभएको छ। …….”

उपचारको लागि आर्थिक अभावका कारण उनले दुई संस्करण प्रकाशित भैसकेको यौटा पुस्तकलाई पचास हजार रुपैयाँमा कपी राइट सहित बिक्री गर्नु परेको थियो।

उनले र कालिप्रसाद रिजालले एकअर्काको विषयमा लेखेका जीवनीपरक लेखनको संयुक्त पुस्तक “कालिप्रसाद र कुमारबहादुर” पनि उनको कठिन समयको लेखनको उपज थियो।

किड्नी रोगले आक्रान्त हुनुअघि नै मैले उनीसँग भेट गर्ने अवसर पाएको हुँ, उनकै पुर्ख्यौली चाबहिल गणेश मन्दिर नजिकको घरमा। त्यतिबेला उनी महाकवि देवकोटाको कवित्व विषयमा पीएचडी गर्ने क्रममा थिए र उनका वरिपरि देवकोटाका पुस्तक र देवकोटाकालीन साहित्यिक पत्रपत्रिकाहरु थिए। महाकवि देवकोटा संलग्न काव्य प्रतिष्ठानबाट प्रकाशित “इन्द्रेणी” पत्रिका मैले उनको निवासमा पहिलोपल्ट देखेको हुँ।

उनी त्यतिबेला वासु शशीको निवासमा आइरहन्थे। उनले वासु शशीका प्रतिनिधि कविताहरुको संग्रह “वासु शशीका कविता” सम्पादन गरेका थिए र साझा प्रकाशनबाट प्रकाशित भएको थियो। त्यसैताक साझा प्रकाशनको सञ्चालकको पदमा उनी पनि उम्मेदवार भएका थिए। उनी उम्मेदवार हुँदा वासु शशीले आफ्नो निवासमा कसरी उम्मेदवारले भाषण गर्ने भनेर रिहर्सल गराएका थिए र वासु शशीले भने बमोजिम उनले हात हल्लाई–हल्लाई, टक्क अडिंदै र कतै जोड दिंदै भाषणको अभ्यास गरेको पनि म टड्कारो सम्झन्छु। यो बेग्लै कुरा हो, उनी त्यो चुनावमा पराजित भए। साझा प्रकाशनको चुनावमा राजनीति घुसिसकेको थियो।

उनले यौटा अन्तर्वार्ताको पुस्तक तयार गरेका थिए, “कुराकानीः मृतात्मासितको र अरुसितको पनि”। यो कृतिमा केही मूर्धन्य नेपाली साहित्यकारहरुसँगका कुराकानी थियो, नोवेल पुरस्कार अस्वीकार गर्ने जाँ पाल सार्त्रसँगको अन्तर्वार्ताको अनुवाद पनि परिशिष्टमा राखिएको थियो। त्योभन्दा पनि यो पुस्तकको रोचक पक्ष त्यतिवेला काठमाडौंमा यौटा लहर चलेको थियो, मृतात्मासँग कुराकानी गर्ने। त्यस प्रविधिलाई प्लाञ्चेट प्रविधि भनिन्थ्यो। कुमारबहादुरले त्यस प्रविधिबाट मृतात्माहरुसँग गरिएको कुराकानी निकै रोचक ढङ्गले प्रस्तुत गरिएको थियो। यस किसिमको प्रविधि मानिसहरुले प्रयोग गर्ने गरिए पनि कुनै प्रतिष्ठित लेखकले पुस्तकमै यति महत्वकासाथ लिपिबद्ध गरिएको यो दुर्लभ प्रस्तुति थियो। त्यसमाथि महाकवि देवकोटासँग समेत वार्तालाप गरिएकोले यसको झन् महत्व हुने नै भयो। यो पुस्तक प्रकाशित भएपछि प्लाञ्चेटको विषयमा विद्वत्जगतमा पनि राम्रै चर्चा भएको थियो।

दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि प्रयास भइरहँदा उनले सहयोगका लागि आशा गर्दै भनेका थिए, “औषधि गर्न सकूँ, मिर्गौला फेरे आठ-दश वर्ष बाँच्न सकूँ, यही जीवनमा राष्ट्रका लागि अझै केही पसिना ठोस काममा खर्चिन सकूँ भन्ने इच्छा छ। सबैसँग यही इच्छा परिपूर्ति गर्न आवश्यक सहयोगको अपेक्षा गरेको छु।”

कुमारबहादुरले आठ–दश वर्ष बाँच्ने आशा राखे पनि चिकित्सक डा. ऋषिराम काफ्लेले मिर्गौला प्रत्यारोपण गर्न सकिए दश–बाह्र वर्ष आयु लम्बिने बताएका थिए।

खुसीको कुरा, उनको मिर्गौला दोस्रो पटक पनि प्रत्यारोपण र त्यो सफल पनि भयो। उनको आयु आफूले आशा गरेजस्तो आठ–दश वर्ष होइन, डाक्टर काफ्लेले अन्दाज गरेको दश–बाह्र वर्ष पनि होइन, १७ वर्ष लम्बियो। नि:सन्देह लम्बिएको आयु सुखद् थिएन, पीडामय थियो, कष्टमय थियो। यस्तो अवस्था पनि आयो कुमारबहादुर र पत्नी सरस्वती एकैसाथ सिकिस्त भएर अस्पताल बास बस्नुपर्ने अवस्था पनि भोग्नुपर्यो। तर बाँच्नुको आनन्द र सन्तोष बेग्लै हुन्छ, त्यो सन्तोषले ती सारा शारीरिक मानसिक पीडालाई खप्न सक्ने बनाइदिन्छ। उनीहरुले भोगेको यथार्थ यही थियो।

दोस्रो प्रत्यारोपणले उनको जीवन विसं २०७५ वैशाख ३ गतेसम्म लम्बियो र उनले विश्राम लिए सदाका लागि।

उनले आफ्नो जीवनकालमा दुई दर्जन भन्दा बढी कृतिहरु नेपाली वाङ्मयलाई दिए र त्यसकै हाराहारी मानसम्मान र पुरस्कार पाएका थिए। सबभन्दा महत्वपूर्ण, उनी महाकवि देवकोटाका विषयमा अखण्ड स्रोत व्यक्ति थिए, उनले लेखेका देवकोटा विषयक अनुसन्धानमूलक र विश्लेषणात्मक कृतिहरु उनको अनुपस्थितिमा पनि स्रोत सामग्रीको रुपमा रहिरहेका छन्।

महाकवि देवकोटाको अमरत्वसँगै गाँसिएको छ कुमारबहादुर जोशीको नाम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?