
२० चैत, काठमाडौं। नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले वैशाख १ गतेदेखि औषधि आयात ठप्प गर्ने चेतावनी दिएको छ ।
सरकारले माग सुनुवाइ नगरेको भन्दै वैशाख १ गतेदेखि औषधि आयातमा रोक्ने निर्णय गरेको हो ।
शनिबार बसेको बैठकले यसअघि पेश भएको मागको सम्वन्धमा कुनै सुनुवाई नभएको भन्दै आयात ठप्प गर्ने निर्णय गरिएको संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए ।
औषधि निर्यात गर्ने मुलुकको एमआरपी मूल्य अनुसार समायोजन हुनुपर्ने माग रहेको श्रेष्ठले बताए।
‘आयातित औषधिमा कन्ट्री अफ ओरिजिन अनुसार त्यहाँको एमआरपी जे छ नेपालमा पनि त्यही एमआरपीमा पैठारी सिफारिस पत्र नवीकरण गर्नपाउनु पर्छ भन्ने हो,’ श्रेष्ठले भने,’ सरकारले ९६ वटा औषधिको मूल्य तोकेको छ त्यसबाहेकका औषधिहरुको मूल्य कन्ट्री अफ ओरिजिन अर्थात जहाँबाट औषधि उत्पादन हुन्छ त्यहाँको मूल्य अनुसार बेचबिखन गर्न पाउनुपर्छ ।’
विभागले नविकरण गर्दा अनुसूची ७ जो छ कमिटेड प्राइस पेश गर्न लगाउने र त्यसको समायोजन नगर्ने असहज परिस्थिति सिर्जना गरेका उनको भनाइ छ ।
यसअघि संघले २७ फागुनमा औषधि व्यवस्था विभागमा महानिर्देशक भरत भट्टराईलाई माग सम्वोधन गर्न ३० दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाएको थियो ।
‘संघले स्वास्थ्य मन्त्रालय, औषधि सेवा विभागलाई २५ बुँदे माग पेश गरेका थियौँ । त्यसयता सरकारका सबै निकायको ध्यानाकर्षण गरायौँ । आफ्ना मागबारेमा जानकारी गरायौँ तर हालसम्म पनि सुनुवाई भएन । त्यसकारण हामीले यो कदम चालेका हौ,’ श्रेष्ठले भने ।
नेपालमा बिक्री बितरण हुने करीब ५५ प्रतिशत औषधिहरु विदेशबाट आयात हुन्छन् । त्यसमा जीवन रक्षक, आईसीयूमा प्रयोग हुने औषधि छन् ।
प्रतिक्रिया 4