+
+

थाहा पाइराख्नुस् विश्वकप फुटबलका ६ विशेषता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते १४:५९

२० चैत, काठमाडौं । विश्वकप खेलतालिका सार्वजनिक हुनुअघिसम्म धेरैलाई लागेको थियो कि पहिलो खेलमा आयोजक कतारले खेल्ने छ । समूह विभाजन गर्दै गर्दा कतारको समूह एमा इक्वेडर परेपछि यी दुई बीच नै उद्घाटन खेल हुने अनुमान बढेको थियो ।

तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले विश्व वरीयतामा ४६ र ५१ औं स्थानमा रहेका यी टोलीबीच दिनको तेस्रो खेल हुने भनेपछि यो पटक विश्वकपमा घरेलु टोलीले उदघाटन खेल खेल्न नपाउने निश्चित भयो ।

नोभेम्बर २१ का दिन विश्वकपको पहिलो खेल खेल्न पाउने भाग्यमानी भए अफ्रिकी च्यामिपयन सेनेगल र डच टिम । यी बीच अल थुमाना रंगशालामा हुने पहिलो खेललाई नै उद्घाटन खेल मानिने फिफाले प्रष्ट पारेको छ ।

विश्वकपको पहिलो खेलबाटै प्रभाव देखाउनका लागि सेनेगलसँग युरोपको एक प्रमुख टिमलाई पराजित गर्ने अवसर हुनेछ ।२० वर्षअघि कोरिया र जापानमा भएको विश्वकपमा सेनेगलले तत्कालीन साविक विजेता फ्रान्सलाई पहिलो खेलमै हराएको थियो ।

सन् १९९० मा तत्कालीन साविक विजेता अर्जेन्टिनालाई क्यामरुनले पनि पहिलो खेलमै हराएको थियो ।विश्वकपमा सामान्यतः उद्घाटनको दिन एउटा मात्र खेल हुने गरेको थियो । तर शुक्रबार निर्धारण गरिएको तालिका अनुसार यसपल्ट पहिलो दिन नै चारवटा खेल निर्धारण गरिएको छ ।

समूह बी अन्तर्गत इंग्ल्याण्ड र इरान तथा अमेरिका र युरो प्लेअफबाट आउने टिमबीच पहिलो दिनमा नै प्रतिस्पर्धा हुनेछ ।

दोस्रो, सेनेगलका लागि तुलनात्मक रुपमा सहज समूह

वर्ष २०२२ मा सेनेगलले सानदार सुरुवात गर्न सफल रह्यो । इजिप्टलाई हराएर जनवरीमा अफ्रिका कप अफ नेशन्स जितेको सेनेगल कतार विश्वकपमा पनि तुलनात्मक रुपमा सहज समूहमा परेको छ ।

अफ्रिकी च्याम्पियन सेनेगलले समूह ए मा नेदरल्याण्ड्स, इक्वेडर र आयोजक कतारसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष वरीयताका टोलीहरुसँग खेल नपर्दा उसले नकआउट चरणमा आफ्नो सम्भावना पर्याप्त देखेको छ ।

२० वर्ष अघि सन् २००२ को विश्वकपमा फ्रान्सलाई पहिलो खेलमै हराएर सनसनी मच्चाएको सेनेगल समूहको दोस्रो स्थानमा रहँदै क्वाटरफाइनलसम्म पुगेको थियो । टर्कीसँग अतिरिक्त समयमा पराजित भएपछि सेमिफाइनल प्रवेश गर्न सकेन ।

तेस्रो, १२ वर्षपछि घानालाई स्वारेजसँग बदला लिने मौका

विश्वकपको समूह एचमा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । यो प्रतियोगिताकै सबैभन्दा प्रतिस्पर्धात्मक र तनावपूर्ण खेल हुनसक्छ । सन् २०१० मा घानाले सेमिफाइनलमा पुग्ने सुनौलो मौका लुइस स्वारेजका कारण गुमाएको थियो ।

खेलको अतिरिक्त समयको अन्त्यतिर स्वारेजले गोललाइनमा जानीजानी हातले बल रोकेपछि रातोकार्ड पाए । घानाका असामोह जियानले पेनाल्टीमा गोल गर्न सकेनन् । त्यसपछि पेनाल्टी शुटआउटमा उरुग्वे विजयी रह्यो ।

‘मेरो विचारमा यो बदला लिने समय हो,’ घाना फुटबल संघका अध्यक्ष कर्ट ओक्राउले बीबीसीसँग भनेका छन्, ‘हामीले त्यो विशेष खेल जितिसकेका थियौं तर स्वारेजले रोकिदिए । उनीहरुसँग फेरि खेल्न पाउनु हाम्रा लागि महत्वपूर्ण हुनेछ ।’

एट्लेटिको मड्रिडका स्ट्राइकर स्वारेज सम्भवतः कतार जाने उरुग्वेको टोलीमा हुनेछन् ।

चौथो, समूह चरणको ‘हाइ प्रोफाइल’ खेल

कतार विश्वकपको समूह चरणमै महारथी टोलीबीचको एकमात्र खेल स्पेन र जर्मनीबीच हुनेछ । समूह ईमा रहेका उनीहरुले समूहको दोस्रो चरणमा २७ नोभेम्बरमा प्रतिस्पर्धा गर्नेछन् ।

सन् २०१० को विजेता स्पेन र २०१४ को विजेता जर्मनी दुवैले पछिल्लो संस्करण भन्दा राम्रो प्रदर्शन गर्ने तयारी गरेका छन् । सन् २०१८ को रुस विश्वकपमा स्पेन अन्तिम १६ बाट बाहिरिँदा जर्मनीले समूह चरण पार गर्न सकेको थिएन ।

नेशन्स लिगअन्तर्गत नोभेम्बर २०२० मा भएको पछिल्लो भेटमा जर्मनीले स्पेनसँग ६–० को लज्जास्पद हार ब्यहोरेको थियो । तर, नयाँ प्रशिक्षक हान्सी फ्लिकमातहत उसले आफूलाई धेरै सुधार गरेको छ ।

पाँचौं, फ्रान्सले दोहोर्‍याउन सक्ला इतिहास ?

चार वर्षअघि रुसमा क्रोएसियालाई हराउँदै फ्रान्सले विश्वकप उचालेको थियो । सन् १९९८ मा पहिलोपल्ट विश्वकप जितेको फ्रान्स उपाधिको प्रमुख दावेदार टोली हो । कतारमा पनि विश्वकप जित्ने सम्भावनाबीच फ्रान्सलाई एउटा संयोग जुरेको छ ।

फ्रान्स कतार विश्वकपको समूह डी मा छ । यो समूहमा उसले युरोपेली प्रतिस्पर्धी डेनमार्कसँग खेल्नुपर्नेछ । यसअघि विश्वकप जितेका दुई संस्करणमा फ्रान्सले समूह चरणमा डेनमार्कसँगै खेलेको थियो ।

फ्रान्सले समूह विजेता बनेको अवस्थामा क्वाटरफाइनलमा समूह बीको विजेतासँग खेल्ने सम्भावना रहन्छ ।

छैटौं, ब्राजिलका लागि परिचित प्रतिस्पर्धी

बेल्जियमलाई पछि पार्दै ब्राजिल फिफा विश्व वरीयताको शीर्ष स्थानमा पुगेको भोलिपल्ट गरिएको विश्वकप ड्रअनुसार ब्राजिलले समूह चरणमा सर्विया, स्वीटजरल्याण्ड र क्यामरुनसँग खेल्नुपर्नेछ । ती तीनै टोलीसँग ब्राजिलले पछिल्लो दुई विश्वकपमा खेलिसकेका छ ।

सन् २०१४ मा क्यामरुनलाई ४–१ ले हराएको थियो भने सन् २०१८ मा स्वीटजरल्याण्डसँग १-१ बराबरी तथा सर्वियालाई २–० ले पराजित गरेको थियो ।

सातौं, मेस्सी भर्सेस लेवाण्डोस्की

३४ वर्षीय अर्जेन्टिनी स्टार लियोनल मेस्सी र ३३ वर्षीय पोलिस स्टार रोवर्ट लेवाण्डोस्कीका लागि सम्भवतः यो अन्तिम विश्वकप सहभागिता हो । पछिल्लो तीन वर्षदेखि फिफा वेष्ट प्लेयर बाँडेका यी दुईबीच नोभेम्बर ३० मा समूहको अन्तिम खेलमा प्रतिस्पर्धा हुनेछ ।

मेस्सीले विश्वकपको १९ खेलमा ६ गोल गरेका छन् । सन् २०१८ मा पहिलोपल्ट विश्वकप खेलेका लेवाण्डोस्कीले अहिलेसम्म गोल गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?