+
+

गण्डकी संक्रामक रोग अस्पतालका ४ पदाधिकारीलाई २४ घण्टे स्पष्टीकरण

विकास रोकामगर विकास रोकामगर
२०७८ चैत २२ गते १९:२५

२२ चैत, पोखरा । गण्डकी प्रदेश सरकारले नेकपा एमाले नेतृत्वको सरकारले नियुक्त गरेका गण्डकी संक्रामक तथा सरुवा रोग अस्पतालका अध्यक्षसहित चार पदाधिकारीलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

चैत १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रष्टिकरण सोध्ने निर्णय गरेको सरकारका सरकार प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

‘संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेललाई सफाई पेश गर्ने मौका दिइएको छ,’ प्रवक्ता खड्काले भने । प्रदेश सरकारले जारी गरेको भिडियो प्रेस विज्ञप्तिमा पौडेललाई मात्रै स्पष्टीकरण सोधिएको जानकारी दिएको भए पनि उनीसहित चार जनालाई ‘किन नहटाउने’ भन्दै पत्र थमाएको छ ।

तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले नियुक्त गरेका व्यवस्थापन समिति अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेल, पदाधिकारी धुव्र अधिकारी, रामप्रसाद गुरुङ र सूर्यकुमारी बञ्जरालाई कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टिकरण सोधिएको हो ।

स्पष्टिकरण सोधिएकामध्ये अध्यक्ष प्रा.डा. पौडेललाई मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर नियुक्त गरिएको थियो भने बाँकी ३ जनालाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले नियुक्त गरेको थियो । ‘पत्र हाम्रो हातमा आइसकेको छ । अब नियमाअनुसार तोकिएको समयमा सफाई दिन्छौं,’ प्रा.डा. पौडेलले भने ।

पोखरा महानगरपालिका–२६, मोहरियामा रहेको तत्कालीन लायन्स सामुदायिक अस्पताललाई तत्कालिन नेकपा एमाले नेतृत्वको प्रदेश सरकारले कोरोना महामारीको समयमा आफ्नो मातहतमा ल्याएर सरुवा तथा संक्रामक रोग अस्पताल बनाएको थियो ।

अस्पताललाई प्रदेश सरकार मातहत सञ्चालन गर्न प्रदेश सरकारले ०७७ असोजमा ‘संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति गठन आदेश २०७७’ ल्याएको थियो । गठन आदेश बनेको सात महिनापछि अस्पताल व्यवस्थापन समिति गठन गरेको थियो ।

गठन आदेशमा प्रदेश सरकारबाट मनोनीत व्यक्ति अध्यक्ष र अस्पतालका कार्यकारी निर्देशक अस्पताल व्यवस्थापन समितिको सदस्य सचिव हुने व्यवस्था छ । महानगरपालिकाका एक जना प्रतिनिधि, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवाको नवौं तहका एक अधिकृत, मन्त्रालयले मनोनित गरेका दुई जना समाजसेवी (एक जना महिला अनिवार्य) र स्वास्थ्यसम्बन्धी एक जना विज्ञ सदस्य रहने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम नियुक्त भएका पौडेलसहित अधिकारी, गुरुङ र बञ्जरालाई प्रदेश सरकारले स्पष्टिकरण सोधेको हो । राजनीतिक नियुक्ति पाएका उनीहरुलाई हटाउने उद्देश्यसहित स्पष्टीकरण स्रोतको दाबी छ । ‘अघिल्लो सरकारले नियुक्त गरेका सबै पदमा आफ्ना मान्छेलाई राजनीतिक नियुक्त गर्न स्पष्टीकरण सोधिएको हो,’ स्रोतले भन्यो ।

गण्डकी प्रदेशको चौथो स्थापना दिवसमा (फागुन ४ गते) मात्रै संक्रामक तथा सरुवा रोग अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको थियो । समिति अध्यक्ष प्रा.डा. पौडेलले पनि आफूहरुलाई हटाउने उद्देश्यले नै ‘कर्मकाण्डी’ स्पष्टीकरण सोधिएको दाबी गरे ।

‘काम गरेका छैनौं भन्दा पनि एकमहिना अगाडिमात्रै उत्कृष्ट भन्दै सम्मान गर्‍यो । किन हटाउन खोजेको उहाँहरुलाई नै थाहा होला,’ प्रा.डा. पौडेलले भने, ‘सफाई दिएर पनि हामीलाई हटाइहाल्छन् क्यारे ! यो केवल कर्मकाण्डी प्रश्नमात्रै हो ।’ उनले आफूहरुले बिहीबार पत्रकार सम्मेलन गरेरै आफूहरुले गरेको कामबारे सबैलाई जानकारी दिने उनले बताए ।

तर, स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले आफूहरुले हटाउने उद्देश्यले नभई काम कारवाहीबारे विवरण माग्नमात्रै पत्र पठाएको दाबी गरिन् । ‘समितिको काम सन्तोषजक छैन । अहिलेसम्म गरेको काम कारवाहीको यथार्थ विवरण सोध्नमात्रै खोजेको हो । अरु केही होइन,’ उनले भनिन् ।

सरकार राम्रा काम पनि भत्काउन लागेको छ : पूर्वमन्त्री पुन

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले अघिल्लो सरकारले गरेका राम्रा काम पनि भत्काउनतिर लागेको पूर्व स्वास्थ्य तथा सामाजिक विकासमन्त्री नरदेवी पुनले आरोप लगाएकी छन् । अस्पताल व्यवस्थापन समितिलाई फरक विचार राखेकै कारण पूर्वाग्रही ढंगले लागिपरेको भन्दै आपत्ति जनाइन् ।

‘काम विचारका आधारमा व्यवहार गर्ने होइन । त्यो समितिको पदाधिकारीलाई तलब पनि छैन । एउटा सेवा नै हो,’ नेकपा एमाले सांसदसमेत रहेकी पुनले अनलाइनखबरसँग भनिन्, ‘आफ्नो भागबण्डा मिलाउन अहिलेको सरकार अघिल्लो सरकारले गरेका काम भत्काउने, बिगार्ने तिर लागेको छ । यसमा हाम्रो घोर आपत्ति छ ।’

अहिलेको सरकारले आफूले नयाँ काम गर्न नसकेकै कारण पुरानो सरकारले गरेको काम पनि बिगार्न लागेको पुनको आरोप छ ।

‘अहिलेको स्वास्थ्य मन्त्रालयले केके नयाँ काम गरेको छ ? केही गर्न नसकेपछि पुरानो सरकारले गरेका काम पनि बिगार्दै हिँड्ने ? कतै सेवा विस्तार गरेको छ ?’ उनले भनिन्, ‘केही काम नपाएपछि सेवा गर्ने सहजीकरण टिममा पनि आफ्ना मान्छे राख्न खोजेको छ ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?