२३ चैत, दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् ।
बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो ।
उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरु पूरा गरेको छ । चैत ९ गते लुम्बिनी प्रदेश सरकारको मुख्य मन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गर्ने निर्णय गरेको थियो ।
मुख्यमन्त्रीले केसीले घोराही बालमैत्री घोषणा हुनु प्रदेशकै गौरवको विषय भएको बताए । उनले यसलाई बालबालिकाको क्षेत्रमा महत्वपूर्ण काम भएको बताए ।
घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले नेपालको संविधान र बालमैत्री स्थानिय शासन कार्यान्वय निर्देशिका व्यवस्था बमोजिम घोराही बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको बताए । उपमहनगर बालमैत्री घोषणा भएसँगै बालअधिकार र बाल संरक्षणका सवालमा ध्यान दिइने उनले बताए ।
त्यस्तै लागि सडक मानवमुक्त नगर घोषणा, १९ वटै वडामा बाल क्लव र बाल सञ्जाल गठन, १५ प्रतिशत रकम बालबालिकाको लागि विनियोजित, बालमैत्री स्थानीय शासनका लागि सबै वडामा अभिमुखीकरण लगायतका सूचक पुरा गरेको प्रमुख चौधरीले जानकारी दिए । साथै बालमैत्री घोषणा पश्यात पनि दिर्घकालीन रणनिती अनुसार उप महानगरपालिका अघि बढ्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा घोराहीलाई बालमैत्री घोषणा गर्न सहयोग पुर्याउने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
बालमैत्री पालिका घोषणा गर्नुअघि विभिन्न विद्यालयका विद्यार्थीहरु, टोल विकास संस्थाका प्रतिनिधि, सरोकार निकायका प्रतिनिधिहरुको बाजागाजा सहितको र्यालीले घोराही बजार परिक्रमा गरि बहुउदेश्यि सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया 4