+
+

सुदूपश्चिममा कांग्रेसको बटमलाइन : सरकारमा स्थान नपाए गठबन्धन तोड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते ११:१२

२४ चैत, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको नेपाली कांग्रेसले तीन वटा विकल्प अघि सारेको छ । सत्तारुढ गठबन्धनमा आवद्ध भए पनि सुदूरपश्चिम प्रदेशमा प्राविधिक रुपले कांग्रेस प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ ।

त्यसैले उसले गठबन्धनको बैठकमा ३ वटा विकल्प अघि सारेको छ ।

पहिलो, सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्न पाउनुपर्छ ।

दोस्रो, नेतृत्व नपाएमा स्थानीय तहको चुनावअघि नै सरकारमा सम्मानजनक सहभागिता चाहिन्छ ।

र तेस्रो, कांग्रेस गठबन्धनबाट अलग भएर पनि जान्छ ।

कांग्रेसले गठबन्धन नै छाड्नेसम्मको विकल्प दिएपछि नेताहरु गम्भीर भएर सघन छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेस सुदूरपश्चिमका प्रदेशसभा सदस्य भरतबहादुर खड्का आफूहरुले सरकारको नेतृत्व गर्न पाउनुपर्ने, नभए सरकारमा सम्मानजनक सहभागिता गराउनुपर्ने र त्यति पनि नभएमा गठबन्धनबाट अलग भएको घोषणा गर्ने विकल्पमा छलफल अघि बढेको बताउँछन् । ‘पहिलो दुई वटा विकल्पमा गठबन्धन सहमत नभए पत्रकार सम्मेलन गरेर कांग्रेसले सुदूरपश्चिम प्रदेशमा गठबन्धनमा नरहेको घोषणा गर्ने छ,’ खड्काले अनलाइनखबरसँग भने ।

प्रदेश सरकारमा कांग्रेसलाई सहभागी गराउने विषयमा सुदूरपश्चिम र संघीय राजधानी काठमाडौंमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलकै लागि कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा.रणबहादुर रावल काठमाडौंमा छन् ।

छलफलमा एकीकृत समाजवादी पार्टीले प्रदेश सरकारको नेतृत्व कांग्रेसलाई नभएर ठूलो दलको हैसियतले आफूले गर्न पाउनुपर्ने माग राखेको छ । नेतृत्व समाजवादीले गरेमा आफूले कम्तीमा तीन वटा मन्त्रालय पाउनुपर्ने माग कांग्रेसको छ ।

कांग्रेसलाई जे गर्ने हो, चुनावअघि नै गर्ने हतारो छ । तर प्रदेश सभाको सबभन्दा ठूलो दल एकीकृत समाजवादीले चुनाव अगाडि मन्त्रीमण्डल हेरफेरको सम्भावना नरहेको बताउने गरेको छ ।

‘गठबन्धनमा आवद्ध भएकाले नेपाली कांग्रेसले पनि सरकारमा सहभागिता चाहिन्छ भन्नु स्वभाविक हो,’ एकीकृत समाजवादीकी प्रमुख सचेतक दुर्गा बिकले अनलाइनखबरसँग भनिन्, ‘नेताहरुका बीचमा छलफल भइरहे पनि चुनाव अघि त्यो कुराको सम्भावना छैन ।’ सुदूरपश्चिम प्रदेशमा अहिले एकीकृत समाजवादीको समर्थनमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व गरिरहेका छन् ।

५२ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना प्रदेश सभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?