
२४ चैत, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइज टिम ललितपुर प्याट्रियोट्सले ट्यालेन्ट हन्टमार्फत अनुबन्ध गर्नुपर्ने युवा खेलाडी पहिचानका लागि अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आउने शनिबारदेखि एक सातासम्म मूलपानी (तल्लो) मैदानमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौं उपत्यकाका ८ कलेजका टिम सहभागी छन् ।
ललितपुर प्याट्रियोट्सका सीईओ निरज कोइरालाका अनुसार ट्यालेन्ट हन्टमार्फत खेलाडी छनोट गर्नुपर्ने नियमअनुसार यो प्रतियोगिताबाट उत्कृष्ट दुई युवा खेलाडी छनोट हुनेछन् । ‘ललितपुरले पछिल्लो चार वर्षदेखि ट्यालेन्ट हन्टमार्फत चारजना खेलाडी छनोट गरी प्रशिक्षण दिने गरेको छ । यो प्रतियोगिताबाट दुईजना र सेप्टेम्बरमा अर्को हन्टमार्फत दुई जना खेलाडी छनोट गर्नेछौं,’ कोइरालाले पत्रकार सम्मेलनमा भने ।
प्रतियोगितामा सहभागी हुन ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत विद्यार्थी समावेश गर्नुपर्ने नियम तोकिएको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका खेलाडी पनि सहभागी कलेजमा अध्ययनरत भए टिममा समावेश गर्न पाइने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन अल्फा स्पोर्टस एकेडेमीले गरेको छ । एकेडेमीले सहभागी कलेजलाई तयारीका लागि स्थानसमेत उपलब्ध गराएको छ ।
प्रतियोगिताका टेक्निकल प्रमुख राष्ट्रिय अम्पायर रवीन्द्र गुप्ताका अनुसार ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा एपेन्स, ब्लूबर्ड, मोर्गन र गोल्डेनगेट कलेज छन् । समूह ‘बी’मा हिमालयन ह्वाइट हाउस, टेक्सस, एडभान्स र ओमेगा कलेज छन् । दिनको दुई खेल हुनेछन् ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटरले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार दिइनेछ । हरेक खेलको प्लेयर अफ द म्याचले २ हजार रुपैयाँ पाउनेछ ।
प्रतियोगिताको पुरस्कार रकम एभरेष्ट बैंकले प्रायोजन गरेको ललितपुरले जानकारी दिएको छ । २२ देखि २५ लाखसम्म खर्च अनुमान गरिएको प्रतियोगिताका लागि बाँकी रकम ललितपुर प्याट्रियट्स आफैंले खार्चिने सीईओ कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4