 
																			२४ चैत, पोखरा । बलात्कार अभियोग लागेका पोखराका व्यवसायी सुन्दरकुमार श्रेष्ठले सफाइ पाएका छन् । जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले श्रेष्ठमाथि लागेको अभियोग दाबी नपुग्ने बुधबार फैसला गरेको हो ।
फैसलाको पूर्ण पाठ आउन बाँकी छ । पोखराको होटल कान्तिपुरका सञ्चालकसमेत रहेका तत्कालीन पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमारमाथि बलात्कारको अभियोगले पोखराको तरंग ल्याएको थियो । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्षसमेत रहेका नेपाली कांग्रेसमा क्रियाशील श्रेष्ठलाई सरकारले २०७४ जेठमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए ।
चितवन घर भएकी १६ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुन्दरकुमार र एनआईसी एसिया बैंक पस्र्याङ शाखाका प्रबन्धक सुवास सुवेदी २०७६ चैग ८ गते पक्राउ परेका थिए ।
कक्षा ८ मा अध्ययनरत छिमेकीको एक घरमा घरेलु कामदारका रुपमा कार्यरत १६ वर्षीया बालिकालाई झ्यालबाट उक्लेर श्रेष्ठले निरन्तर बलात्कार गर्ने गरेको आरोप थियो ।
३ लाख धरौटी बुझाएर वैशाख २ गते सुवेदी रिहा भएका थिए भने श्रेष्ठलाई बलात्कार अभियोगमा मुद्धा दायर गरेर कारबाही अगाडि बढाइएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले सुवेदीलाई ३ लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।
सुवेदीलाई बालयौन दुव्र्यवहार अन्तर्गत मुलुकी अपराध संहिताको २२५(३) बमोजिम ३ वर्षसम्म कैद र ३० हजारसम्मको जरीवाना माग गरिएको थियो ।
श्रेष्ठलाई मुलुक अपराध संहिताको २१९ (३) अनुसार १० देखि १२ वर्षसम्म कैद र मनासिव अनुसारको क्षतिको मागदावी गरिएको थियो । न्यायाधीश लालकाजी श्रेष्ठकै इजलासले २०७६ वैशाख ४ गते पर्यटन व्यवसायीसमेत रहेका श्रेष्ठलाई ५ लाख रुपैयाँमा धरौटी मागेर रिहा गरेको थियो ।
बालिकामाथि बलात्कारको गम्भीर आरोपमा पनि न्यायाधीश श्रेष्ठले धरौटीमा छाडेको भन्दै पीडित परिवार न्याय परिषदमा पनि पुगेको थियो । न्यायाधीश श्रेष्ठविरुद्ध न्याय परिषदमा लिखित उजुरी नै परेको थियो ।
न्यायाधीश श्रेष्ठले बलात्कार अभियोग लागेका सुन्दरकुमार श्रेष्ठ कसुरदार होइनन् भन्न सकिने अवस्था नदेखिएको तर प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने भन्दै फौजदारी कार्यविधि ऐन २०७४ को दफा ६८ बमोजिम धरौटी लिएर तारेखमा रिहा गर्न आदेश दिएका थिए ।
सुन्दरकुमारले भर्याङ प्रयोग गरेर झ्यालबाट छिरेर पटक पटक आफूमाथि करणी गरेपछि सहन नसकी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको छिमेकी घरमा बस्ने किशोरीले बताएकी थिइन् । श्रेष्ठको पक्षमा वकालत गर्न नाम चलेका वकिलहरु काठमाडौंदेखि पोखरा आएका थिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4