+
+

राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट रुस निलम्बित, मस्कोले भन्यो- राजनीति प्रेरित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १४:०३

२५ चैत, काठमाडौं । मानवअधिकारको नियोजित उल्लंघन गरेको आरोपमा रुसलाई राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट निलम्बन गरिएको छ । राष्ट्रसंघीय महासभामा बिहीबार भएको मतदानमा रुसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत र विपक्षमा २४ मत परेको थियो ।

५८ मुलुक मतदानमा तटस्थ बसेका थिए । नेपाल र भारतसहित कतिपय दक्षिण एसियाली मुलुक तटस्थ बसेका थिए । जेनेभामा मुख्यालय रहेको परिषद्बाट रुसलाई हटाउन ४७ सदस्य मुलुकको मत आवश्यक थियो ।

मतदानपछि बोल्दै राष्ट्रसंघका लागि रुसका सहायक राजदूत जेनेडी कुजमिनले यो कदमलाई अवैध र राजनीतिक प्रेरित भएको बताए । मतदानलगत्तै रुसले आफू परिषद्बाट अलग भएको घोषणा समेत गरेको थियो ।

तर राष्ट्रसंघका लागि युक्रेनी राजदूत सर्गेइ किस्लिसले महासभाले नै बर्खास्त गरिसकेपछि राजीनामा दिनुको अर्थ नरहेको टिप्पणी गरेका छन् । रुस परिषद्मा तीनवर्षे कार्यकालको दुई वर्षमा कार्यरत थियो ।

बिहीबारको उक्त प्रस्तावअनुसार महासभाले पछि निलम्बन अन्त्य गर्न सहमत हुनसक्छ । तर रुस स्वयंले परिषद्बाट राजीनामा दिएपछि तत्काललाई त्यो सम्भावनाको अन्त्य भएको छ । सन् २०१८ मा भएको अमेरिकी नजिर यस्तो थियो जतिबेला परिषद् इजरायलप्रति पूर्वाग्रही भएको र संस्थाको पुनर्संरचना हुन नसकेको भन्दै अमेरिकाले परिषद् छाडेको थियो ।

तर गत वर्ष अमेरिका परिषद्मा पुनः निर्वाचित भएको थियो । परिषद्को इतिहासमा निलम्बनलाई दुर्लभ मानिन्छ । सन् २०११ मा नेता मोहम्मद गद्दाफीप्रति बफादार सेनाले प्रदर्शनकारीमाथि हिंसा मच्चाएको भन्दै लिबियालाई निलम्बन गरिएको थियो ।

रुसलाई मानवअधिकार परिषद्बाट निलम्बन गरिएकोप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले खुसी व्यक्त गरेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्व समुदायबाट अलग्याउनुपर्नेमा जोड दिएका छन् । बाइडेनले परिषद्मा रुसविरुद्ध मतदान गर्नेलाई धन्यवाद समेत दिएका छन् ।

राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले राष्ट्रसंघले ‘पीडित र बाँचेकाहरुको पीडालाई बेवास्ता गरिने छैन भन्ने स्पष्ट सन्देश दिएको बताइन् ।

तर रुसले चाहिं आफ्नो विपक्षमा मतदान गर्ने मुलुकहरुले आफूलाई लगाएको आरोपको खण्डन गरेको छ । उसले युक्रेनको सैन्य पूर्वाधारलाई ध्वस्त पार्ने उद्देश्यले ‘विशेष सैन्य अप्रेसन’ गरिरहेको र नागरिकमाथि आक्रमण नगरेको बताएको छ । युक्रेन र उसका सहयोगीले भने मस्कोले उत्तेजनामा आएर आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?