
एप्पल र सामसुङपछि गुगलले पनि आफ्ना पिक्सेल फोनका लागि स्वयं मर्मत कार्यक्रम अर्थात् सेल्फ रिपेयर प्रोग्राम सुरु गरेको छ । गुगल पिक्सेल फोनका प्रयोगकर्ताहरूले अब आफ्नो बिग्रेको फोन आफैं मर्मत गर्न सक्नेछन् ।
गुगलले यसका लागि iFixit सँग साझेदारी गरेको छ जुन एक अनलाइन रिपेयर कम्युनिटी हो । सेल्फ रिपेयर कार्यक्रम अन्तरगत ग्राहकहरूलाई आफ्नो फोनको मर्मत गर्नका लागि चरणबद्ध प्रक्रिया बताइनेछ । आवश्यकता अनुसार प्रयोगकर्ताले गुगलको स्टोरबाट फोनका पाटपुर्जा खरिद गर्न सक्नेछन् ।
ifixit.com बाट पिक्सेल टू देखि पिक्सेल ६ प्रो सम्मका स्मार्टफोनका पार्टस् खरिद गर्न सकिनेछ । पार्टस्को रुपमा ग्राहकले ब्याट्री, क्यामरा, डिस्प्लेका साथै iFixit Fix किटसमेत खरिद गर्न सक्नेछन् । उक्त किटमा स्क्रू ड्राइभर लगायतका टूल हुनेछन् ।
गुगलको आफै मर्मत गर्ने कार्यक्रम अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया तथा युरोपेली युनियन सम्बद्ध मुलुकहरुमा यो वर्षको अन्त्यसम्ममा सुरु हुनेछ । गुगलले आफ्नो सेल्फ रिपेयरिङ कार्यक्रमका लागि एप्पल, एसर तथा लेनोभो जस्ता कम्पनीहरूसँग साझेदारी गरिसकेको छ ।
स्मरण रहोस् गत सातामात्रै सामसुङले सेल्फ रिपेयर कार्यक्रम लञ्च गरेको थियो । जस अन्तरगत सामसुङ स्मार्टफोन प्रयोगकर्ताले घरमै बसेर आफ्नो ग्यालेक्सी स्मार्टफोन मर्मत गर्न सक्दछन् ।
सामसुङले पनि यसका लागि iFixit सँग साझेदारी गरेको छ । सामसुङको यो कार्यक्रम अमेरिकामा पनि सञ्चालित छ । त्यस्तै एप्पलले पनि सेल्फ रिपेयर प्रोग्राम सुरु गरिसकेको छ ।
एजेन्सी
प्रतिक्रिया 4