२७ चैत, काठमाडौं । वर्ष २०७८ मा नेपाल विश्वकप पुग्नबाट बञ्चित भए पनि नेपाली क्रिकेट मैदान भित्र र मैदान बाहिर उति नै छायो । कोभिड-१९ को कारण केही समय क्रिकेट गतिविधि प्रभावित बन्यो । तर जति अन्तर्राष्ट्रिय प्रतियोगिता भए विश्वकप छनोटलाई छाड्ने हो भने नेपालको प्रदर्शन औसत रह्यो । खेलमा नेपाल चर्चामा रह्यो ।
नेपालले घरेलु मैदानमा खेलेका दुईटै त्रिकोणात्मक टी-२० श्रृंखला जित्यो । तर, क्रिकेट विश्वकप लिग टूमा खेलेका दुईवटा त्रिकोणात्मक श्रृंखलामा प्रदर्शन औसत रह्यो ।
त्रिकोणात्मक टी-२० श्रृंखलाबाट सुरु भएको वर्षक त्रिकोणात्मक टी-२० श्रृंखला जित्दै बिदाई भयो । तर विश्वकप पुग्न नसकेको पीडा भने रहिरह्यो ।
पपुवान न्यूगिनी (पीएनजी) विरुद्ध दुई वटा द्विपक्षीय एकदिवसीय श्रृंखला खेलेको नेपालले एउटा श्रृंखलामा जितको क्लिन स्वीप गर्यो त अर्कोमा हारको ।
मैदान भित्र खेलाडीको ब्याट र बल चल्दा मैदान बाहिर पनि यस वर्ष धेरै गतिविधि भयो । नेपाली क्रिकेटका लेजेण्ड पारस खड्काको सन्यासदेखि युवा ग्लोबल स्टार सन्दीप लामिछाने कप्तान बन्दा यसले ठूलो चर्चा पायो ।
यसैगरी विश्वकप विजेता प्रशिक्षक डेभ वाटमोरको बहिर्गमन र पुबुदु दासानायकेको पुन: आगमन अर्को चर्चाको विषय बन्यो ।
प्रशिक्षक परिवर्तन, कप्तानसहित खेलाडी कारवाही अनी कप्तान परिवर्तन हुँदा नेपाली क्रिकेटमा ठूलै हलचल आयो । जसमा गर्दा टिममा गुट नै प्रष्ट रुपमा देखियो । यसमा मार अन्तत: नेपाली क्रिकेटलाई नै पर्यो । विवाद छताछुल्ल भयो ।
यसबाहेक पनि अर्को ठूलो चर्चाको विषय नेपाल टी-२० विश्वकपमा छनोट हुन नसक्नु रह्यो । युएई विरुद्ध निर्णायक खेलमा चुक्दा ८ वर्षपछि फेरि टी-२० विश्वकप पुग्ने नेपालको सपना अधुरै रह्यो । यसबाट नेपाली क्रिकेट पक्कै केही समय पछि धकेलिएको छ ।
नेपालले आफ्नो ५०औं टी-२० अन्तर्राष्ट्रिय खेल पनि यसै वर्ष खेल्यो ।
नेपाली क्रिकेटको अविभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो वार्षिक साधारण सभा पनि गर्यो ।
युएईले रोक्यो नेपालको विश्वकप यात्रा
टी-२० विश्वकपको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपाल दोस्रो पटक टी-२० विश्वकप पुग्नबाट बन्चित रह्यो ।
यसअघि सन् २०१४ मा नेपाललाई पहिलो पटक विश्वकप पुर्याएका प्रशिक्षक पुबुदु नै यस पटक नेपालका प्रशिक्षक थिए । युवा स्टार सन्दीप लामिछानेको कप्तानीमा नेपाली टिममा युवा खेलाडीको बाहुल्य थियो ।
ग्लोबल छनोट एमा नेपालले कूल ५ खेल खेल्दा एउटा मात्र खेलमा पराजय बेहोर्यो । युएई विरुद्ध सेमिफाइनलको त्यही एक हारले नेपालले टी-२० विश्वकप गुमायो ।
नेपालले युएई विरुद्ध यस वर्ष टी-२० र एकदिवसीयमा गरी ४ खेल्यो । चारवटैमा नेपाल पराजित भयो । टी-२० ग्लोबल छनोट र त्यसअघि चार देश सम्मिलित टी-२० श्रृंखला र युएईमै भएको लिग टूको त्रिकोणात्मक श्रृंखलाको दुवै खेलमा नेपाल युएईसँग पराजित भयो ।
पीएनजी विरुद्ध एकै वर्ष ९ खेल
नेपालले वर्ष २०७८ मा खेलका खेलहरु मध्ये पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध झण्डै एक तिहाई अर्थात ९ खेल खेल्यो । जसमा एकदिवसीय खेल ६ र टी-२० मा ३ खेल थियो ।
नेपालले यही वर्ष पीएनजीसँग दुई वटा द्विपक्षीय श्रृंखला खेल्यो । भदौमा ओमानमा भएको श्रृंखलाको दुवै खेलमा नेपाल विजयी भयो ।
तर चैतमा घरेलु मैदानमै भएको एकदिवसीय श्रृंखलामा भने नेपाल विरुद्ध पीएनजीले दुवै खेल जित्दै श्रृंखला क्लिन स्वीप गर्यो ।
त्यसअघि चैतमै युएईमा भएको क्रिकेट विश्वकप लिग टूको श्रृंखलामा भने नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । एकदिवसीयमा ६ खेल खेल्दा नेपालले पीएनजीलाई ४ खेलमा हरायो । २ खेलमा पीएनजी विजयी भयो ।
टी-२० तर्फ भने चैतमा नेपालमै नेपाल, पीएनजी र मलेसिया सम्मिलित त्रिकोणात्मक श्रृंखला भयो । जसमा नेपालले लिगमा दुई पटक र फाइनलमा गरी तीनवटै खेलमा पीएनजीलाई पराजित गर्यो ।
यस्तै नेपालले ओमानसँग पनि ५ खेल खेल्यो । जसमा नेपालले ४ खेल जित्दा ओमानले एक खेल जितेको थियो ।
भदौमा भएको लिग टूमा नेपाल र ओमानले एक एक खेल जितेको थियो ।
त्यसपछि फागुनमा ओमानमा भएको टी-२० ग्लोबल छनोटको समूह चरण र तेस्रो स्थानको लागि भएको दुवै खेलमा नेपाल विजयी भएको थियो । त्यसअघि ओमानमै भएको चार देश सम्मिलित श्रृंखलामा पनि नेपालले ओमानलाई हराएको थियो ।
लिग टूमा औसत प्रदर्शन
सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपको छनोटको आधार रहेको क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालले यष वर्ष दुईटा त्रिकोणात्मक श्रृंखला खेल्यो । जसमा नेपालले प्रदर्शन औसत रह्यो । लिग टूमा नेपालले कूल ८ खेल खेल्दा ४ खेल जित्यो भने ४ खेलमा पराजित भयो ।
भदौमा ओमानमा भएको अमेरिकासमेत सम्मिलित लिग टू श्रृंखलामा नेपालले ओमान र अमेरिकालाई एक-एक खेलमा हरायो भने दुवै टिमसँग एक-एक खेलमा पराजित भयो ।
यस्तै चैतमा युएईमा सम्पन्न नेपाल, युएई र पीएनजी सम्मिलिति श्रृंखलामा नेपाल युएई विरुद्ध दुवै खेलमा पराजित हुँदा पीएनजीलाई दुवै खेलमा हरायो ।
७ टिम सहभागी लिग टूमा नेपालले १२ खेल खेल्दा ६ जित र ६ हारबाट १२ अंक जोडेर छैटौं स्थानमा छ । लिग टूमा नेपाल सबैभन्दा कम खेल खेल्ने टिम हो । कूल ९ वटा श्रृंखला खेल्न पाउने लिग टूमा नेपालले २०२० मा नेपाल, अमेरिका र ओमान सम्मिलित श्रृंखला खेलेको थियो ।
नेपालले अझै ६ श्रृंखला (२४ खेल) खेल खेल्न बाँकी छ । कोभिड १९ को असरका कारण यही वर्ष तय भएको नेपाल, अमेरिका र ओमानबीचको श्रृंखला भने हुन सकेन ।
नेपाली टिमका सदस्य दीपेन्द्र सिंह ऐरीले पनि लिग टूमा नेपालको प्रदर्शन अहिलेसम्म औसत नै रहेको माने । ‘हाम्रो अहिलेसम्मको प्रदर्शन हेर्दा धेरै राम्रो पनि छैन । नराम्रो पनि छैन । हामीले अब बाँकी २४ मध्ये १६ खेल जित्यौँ भने हामी माथि हुन्छौँ ।’ लिग टू को शीर्ष तीन स्थानमा रहने टोली एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।
१२ खेलाडीको अन्तर्राष्ट्रिय डेब्यु
वर्ष २०७८ मा १२ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरे । जसमा चार खेलाडीले ओडीआई र टी-२०आई दुवै फर्मयाटमा डेब्यु गरे भने ५ खेलाडीले टी-२० अन्तर्राष्ट्रियमा मात्र डेब्यु गरे । यस्तै तीन खेलाडी ओडीआईमा मात्र डेब्यु गरे ।
कुशल भुर्तेल र आसिफ शेख नेपालले यसवर्ष पाएको सबैभन्दा ठूलो प्रतिभा हो । वैशाखमा त्रिकोणात्मक टी-२० श्रृंखलामा डेब्यु गरेका यी दुईले भदौमा लिग टूमार्फत ओडीआईमा पनि डेब्यु गरे । कुशल र आसिफको रुपमा नेपालले दुवै फर्मयाटमा ओपनिङ जोडी पनि पायो ।
यसअघि नेपालले ओपनिङमा खेलाडीहरु परिवर्तन गरिरहेको अवस्थामा यो वर्ष भने यी दुईले अपवाद बाहेक सबै खेलमा ओपनिङ गरे ।
कुशल र आसिफसँगै स्पीनर सागर ढकाल र तिव्र गतिका बरल गुलशन झा ले दुवै फर्मयाटमा डेब्यु गरे ।
यसबाहेक शाहब आलम, विवेक यादव, लोकेश बम, दीलिप नाथ र आदिल अन्सारीले टी-२० आईमा डेब्यु गरे । विकेटकिपर दीलिप सन् २०१७ मै नेपालका लागि लिस्ट ए खेले पनि राष्ट्रिय टिममा पुनरागमन गर्दै टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।
यस्तै राष्ट्रिय टिममा पुनरागमन गरेका विक्रम सोब र भीम सार्कीले यस वर्ष ओडीआईमा डेब्युको अवसर पाए । विक्रम सोबले भदौमा ओमानमा पीएनजी विरुद्ध डेब्यु गर्दै पहिलो बलमै विकेट लिए ।

यस्तै यू १९ टिमका कप्तान देव खनालले पनि चैतमा पीएनजी विरुद्ध घरेलु मैदानमा डेब्यु गरे ।
यसबाहेक अघिल्लो वर्ष नै ओडीआईमा डेब्यु गरिसकेका तिव्र गतिका बलर कमल सिंह ऐरीले पनि २०७८ मा टी-२० आईमा डेब्यु गरे ।
२०७८ सालमा डेब्यु गरेका खेलाडी
ओडीआई डेब्यु : कुशल भुर्तेल, आसिफ शेख, विक्रम सोब, गुलशन झा, सागर ढकाल, भीम सार्की, देव खनाल
टी-२०आई डेब्यु : कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम, कमल सिंह ऐरी, सागर ढकाल, विवेक यादव, लोकेश बम, गुलशन झा, दिलिप नाथ, आदिल अन्सारी
टी-२०आईमा ६ पटक २०० भन्दा माथिको स्कोर
नेपालले यस वर्ष १८ वटा टी-२० आई खेल्यो । यो एकै खेल नेपालले खेलेको दोस्रो सर्वाधिक खेल हो । यसअघि २०७६ सालमा नेपालले १९ टी-२०आई खेल खेलेको थियो ।
तर २०१९ मा नेपालले खेलेको १८ टी-२० खेलमा भने धेरै उपलब्धी हात पार्यो । नेपाल १४ खेलमा विजयी हुँदा जम्मा चार खेलमा मात्र पराजित भयो । नेपालले दुई त्रिकोणात्मक श्रृंखला खेल्दा १० मा ९ खेल जितेको थियो । यस्तै विश्वकप छनोटमा ४ र चार देश सम्मिलित श्रृखलामा १ खेल जित्यो ।
नेदरल्याण्ड्स, युएई, आयरल्याण्डसँग नेपाल पराजित भयो । युएईसँग भने दुवै टी-२० मा पराजित भयो । युएईसँगको टी-२० विश्वकप छनोटको हार भने नेपालको लागि महँगो सावित भयो । बाँकी तीन हार भने त्रिकोणात्मक र चारदेशीय श्रृंखलामा थियो ।
महत्वपूर्ण खेलमा युएईसँग पराजित खेललाई छाड्ने हो भने यस वर्ष नेपालले धेरै उपलब्धी हात पारेको छ ।
नेपालले नेदरल्याण्ड्स जस्तो टिमलाई २ पटक पराजित गर्दा ओमान र पीएनजीलाई समान ३ पटक अनिप मलेसियालाई चार पटक हरायो ।
यस्तै नेपालले एकै वर्ष ६ पटक २०० भन्दा माथिको स्कोर बनायो । नेपालले अहिलेसम्म टी-२० मा ७ पटक दुई सय भन्दा माथिको रन बनाउदा ६ पटक यसै वर्ष बन्यो ।
वैशाखमा भएको नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले कीर्तिपुरस्थित त्रिवि मैदान २३८ रन बनाएको थियो जुन नेपालको अहिलेसम्मको ठूलो स्कोर हो । योसहित ५ ठुला स्कोर त्रिवि मैदानमै बन्यो ।
त्यसअघि नेपालले २०७६ मा १३औं सागमा भुटान विरुद्ध २३६ रन बनाएको थियो । यस्तै चैतमा भएको त्रिकोणात्मक श्रृंखलामा नेपालले मलेसिया विरुद्ध २२३ रन बनायो । त्यसअघि फागुमा ओमानमा भएको टी-२० विश्वकप छनोटमा फिलिपिन्स विरुद्ध २१८ रन बनाएको थियो ।
त्रिवि मैदानमै वैशाखमा नेपालले मलेसिया विरुद्ध २१७ र नेदरल्याण्ड्स विरुद्ध २०६ रन बनाएको थियो । यस्तै चैतमा भएको श्रृखलामा पीएनजी विरुद्ध २०३ रन बनाएको थियो ।
व्यक्तिगततर्फ पनि नेपाली खेलाडीले उपलब्धी हात पारे । यस वर्ष चार शतक बन्यो । कुशल भुर्तेलले टी-२० मा फिलिपिन्स विरुद्ध ग्लोबल छनोटमा शतक प्रहार गरे । कुशलले टी-२० अन्तर्राष्ट्रिय डेब्युदेखि लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै कीर्तिमान बनाएका थिए ।
यस्तै रोहित पौडेलले चैतमा पीएनजी विरुद्ध एकदिवसीय खेलमा शतक प्रहार गरे । रोहितले बनाएको १२६ रन एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो ।
पीएनजी विरुद्धको दोस्रो एकदिवसीयमा दीपेन्द्र सिंह ऐरीले पनि शतक प्रहार गरे । यस्तै चैतमा भएको त्रिकोणात्मक टी-२० श्रृंखलामा मलेसिया विरुद्ध अविजित ११० रन प्रहार गर्दै दीपेन्द्र पारस पछि दुवै फर्म्याटमा शतक प्रहार गर्ने खेलाडी बने ।
दीपेन्द्रले बनाएको ११० रन टी-२० अन्तर्राष्ट्रियमा नेपाली खेलाडीको उच्च स्कोर हो । दीपेन्द्र शतक प्रहार गर्ने ओडीआईमा तेस्रो र टी-२०आईमा चौथो खेलाडी हुन् । दीपेन्द्र टी-२० मा नेपालका लागि एक हजार रन पूरा गर्नेसमेत पहिलो खेलाडी बने ।
पारसको सन्यास
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले यसै वर्ष साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे । सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।
पारसको कप्तानीमा नेपालले डिभिजन फाइभदेखि माथि उक्लँदै पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । पारसले राष्ट्रिय टिमको कप्तानबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए ।
नेपाली क्रिकेट अहिलेसम्म पाएका उत्कृष्ट खेलाडी पारसले खेलाडी जीवनपछि टिमसँग मिलेर क्रिकेट एक्सलेन्स सेन्ट (सीईसी) नाम एकेडेमी सञ्चालन गरिरहेका छन् ।
कप्तान र उपकप्तानमाथि कारवाही, सन्दीप नयाँ कप्तान
मंसिरमा नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै पदबाट मुक्त गर्ने निर्णयले पनि यस वर्ष ठूलो चर्चा पायो ।
क्यानले मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई अनुशासन विपरीत सञ्चारमाध्यममा गएर बोलेको भन्दै पदबाट हटाउनुका साथै २०२२ को सुरुको ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णयसमेत गरेको थियो ।
पछि राष्ट्रिय टिमकै प्रशिक्षण प्रभावित हुने भएपछि क्यानले खेलाडीसँग छलफल गर्दै केन्द्रीय सम्झौतामा नराख्ने निर्णय भने फिर्ता लिएको थियो ।
वाटमोरको राजीनामा र पुबुदुको आगमन
नेपाललाई खुलेर ब्याटिङ गर्न सिकाएका विश्वकप विजेता प्रशिक्षक डेभ वाट्मोरले ओमानमा आईसीसी क्रिकेट विश्वकप लिग टु सकिएपछि राजीनामा दिए ।
नेपाल, ओमान र अमेरिका सम्मिलित लिग टू ओममानमा सकिएपछि वाटमवर नेपाल नआई उतैबाट बिदा भए । इमेलमार्फत क्यानलाई बुझाएको राजीनामा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका थिए ।
श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाट्मोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए । प्रशिक्षण करिअरको उत्तरार्धमा रहेका उनी नेपालमा राम्रो प्रभाव छाड्न चाहन्थे ।

तर नेपालमा सोचे जस्तो भएन । एक त कोरोना महामारीका कारण लामो समय क्रिकेट गतिविधि ठप्प भयो । त्यसमाथि क्रिकेट संघको व्यवस्थापन पनि भद्रगोल रह्यो ।
श्रम सम्झौताकै कारण उनले सुरुको तीन महिना समयमा तलब पाउन सकेनन् । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनु पनि वाटमोरका अनपेक्षित थियो ।
वाटमोरले छाडेपछि ३ महिना नेपाल प्रशिक्षक बिहीन भयो । त्यसपछि मंसिरमा नेपाललाई पहिलो पटक टी-२० विश्वकप खेलाएका पुबुदु दसानायके दोस्रो पटक नेपालको प्रशिक्षक बने ।
नेपाल क्रिकेट संघ क्यानको बोर्ड मिटिङले पुबुदुलाई प्रशिक्षकमा अनुमोदन गरेको थियो । पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालको प्रशिक्षक थिए । पुबुदुकै प्रशिक्षणमा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो ।
क्यानले सर्टलिस्टमा क्यानडाका पुबुदसँगै भारतका मोन्टी देसाईलगायतलाई राखेको थियो । तर नेपाली क्रिकेटलाई बुझेका र यसअघि काम गरिसकेकोले क्यानले पुबुदुलाई चयन गरेको थियो ।
….
वर्ष २०७८ सालमा नेपालले खेलेको अन्तर्राष्ट्रिय खेल र नतिजा
कूल खेल – ३०
जित – २०
हार – १०
एकदिवसीय अन्तर्राष्ट्रिय खेल – १२
जित – ६
हार – ६
टी-२० खेल : १८
जित – १४
हार – ४
बैशाख : त्रिकोणात्मक टी-२० श्रृंखला
नेदरल्याण्ड्स विरुद्ध ९ विकेटले विजयी
मलेसिया विरुद्ध ९ विकेटले विजयी
नेदरल्याण्ड्स विरुद्ध ३ विकेटले पराजित
मलेसिया विरुद्ध ६९ रनले विजयी
नेदरल्याण्ड्स विरुद्ध १४२ रनले विजयी
भदौ : नेपाल–पीएनजी एकदिवसीय श्रृंखला
पहिलो खेलमा नेपाल २ विकेटले विजयी
दोस्रो खेलमा नेपाल १५१ रनले विजयी
भदौ : आईसीसी क्रिकेट विश्वकप लिग टू
अमेरिका विरुद्ध ५ विकेटले विजयी
ओमान विरुद्ध ५ विकेटले पराजित
अमेरिका विरुद्ध ६ विकेटले पराजित
ओमान विरुद्ध ७ विकेटले विजयी
फागुन : ओमान चारदेशिय टी-२० श्रृंखला
ओमान विरुद्ध ६ विकेटले विजयी
युएई विरुद्ध २५ रनले पराजित
आयरल्याण्ड विरौध १६ रनले पराजित
फागुन : आईसीसी टी-२० ग्लोबल क्वालिफायर ए
ओमान विरुद्ध ३९ रनले विजयी
फिलिपिन्स विरुद्ध १३६ रनले विजयी
क्यानडा विरुद्ध ८ विकेटले विजयी
युएई विरुद्ध ६८ रनले पराजित
ओमान विरुद्ध ९ विकेटले विजयी
फागुन : आईसीसी क्रिकेट विश्वकप लिग टू
पीएनजी विरुद्ध २ विकेटले विजयी
युएई विरुद्ध ४८ रनले पराजित
युएई विरुद्ध ९९ रनले पराजित
पीएनजी विरुद्ध ७ विकेटले विजयी
चैत : पीएनजी विरुश्रद्ध एकदिवसीय श्रृंखला
पहिलो खेलमा नेपाल ६ रनले पराजित
दोस्रो खेलमा नेपाल ३ विकेट पराजित
चैत : त्रिकोणात्मक टी-२० श्रृंखला
पीएनजी विरुद्ध नेपाल १५ रनले विजयी
मलेसिया विरुद्ध नेपाल ६ विकेटले विजयी
पीएनजी विरुद्ध नेपाल ३७ रनले विजयी
मलेसिया विरुद्ध नेपाल ८५ रनले विजयी
पीएनजी विरुद्ध नेपाल ५० रनले विजयी
….
वर्ष २०७८ मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी :
ओडीआईमा धेरै रन बनाउने
रोहित कुमार पौडेल ५३७ रन १२ खेल (एक शतकसहित)
ज्ञानेन्द्र मल्ल २५८ रन ९ खेल
कुशल भुर्तेल २४३ रन १२ खेल
ओडीआईमा धेरै विकेट लिने
सन्दीप लामिछाने २७ विकेट ११ खेल
सोमपाल कामी १८ विकेट १२ खेल
करण केसी १४ विकेट ९ खेल
टी-२० मा धेरै रन बनाउने
दीपेन्द्र सिंह ऐरी ७०३ रन १६ खेल (एक शतकसहित)
कुशल भुर्तेल ५७३ रन १६ खेल
आसिफ शेख ४४४ रन १८ खेल
टी-२० मा धेरै विकेट लिने खेलाडी
सन्दीप लामिछाने ३९ विकेट १८ खेल
करण केसी २० विकेट १० खेल
अविनाश बोहरा २० विकेट १६ खेल
प्रतिक्रिया 4