+
+

‘केजीएफ-२’ले नेपालमा कीर्तिमानी व्यापार गर्ने संकेत, क्यूएफएक्समा मात्रै ७४ शो 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते १६:३९

काठमाडौं । आगामी बिहीबार रिलिज हुन लागेका दुई फिल्म ‘ए मेरो हजुर ४’ र ‘केजीएफ : च्याप्टर २’ को अग्रिम टिकट बिक्री सुरु भएको छ । रिलिजको ६ दिनअघि नै टिकट बिक्री थालिएको हो ।

‘केजीएफ-२’ ले नेपाली फिल्म इतिहासमा कीर्तिमानी उछाल ल्याउने स्पष्ट संकेत देखिएको छ । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले देशभरका फ्रेन्चाइजमा यो दक्षिण भारतीय फिल्मलाई ७४ शो दिएको छ ।

शो संख्या अझै बढ्न सक्छ किनभने दरबारमार्गको क्यूएफएक्स दरबार मल वैशाख १ गते नै खुल्ने तयारीमा छ । त्यति मात्र होइन, अन्य मल्टिप्लेक्स पनि सोही मितिबाट सञ्चालनमा आउने तयारीमा छन् ।

कुनै नेपाली फिल्म हलमा क्यूएफएक्सले प्राप्त गरेको यो शो संख्या अहिलेसम्मकै उच्च हो । अहिलेसम्म ठूला मल्टिप्लेक्सले बिहीबारको शो मात्र प्रकाशित गरेका छन् भने त्यस दिनका सबै शोका टिकट बिक्री भइसकेका छन् ।

‘बुकिङ खुलेको पाँच मिनेटमै लगभग सबै शोका टिकट बिक्री भइसके । शुक्रबार र शनिबारका शो सोल्डआउट हुने हाम्रो अनुमान छ,’ क्यूएफएक्स प्रणाली विभाग हेर्ने रानु विष्टले अनलाइनखबरलाई भनिन्, ‘यो रेकर्ड नै हो । अहिलेसम्म यस रुपमा टिकटको एड्भान्स बिक्री भएको थिएन ।’

बिग मुभिजका व्यवस्थापक सन्दीप शर्माले पनि ‘आरआरआर’भन्दा निकै उच्च संख्यामा टिकट बिक्री भएको बताए । ‘बिहीबारका सबै शो लगभग बिक्री हुने तरखरमा छन् र आरआरआरको पनि यो ट्रेन्डमा भएको थिएन,’ शर्माले भनिन् । दर्शकको उछाल आउने अनुमान गरेरै क्यूएफएक्स लगायतका ठूला हलले बुकिङ चाहिं खोलेका छैनन् ।

शनिबारदेखि नै एड्भान्स टिकट बिक्री गरिएको नेपाली फिल्म ‘ए मेरो हजुुर ४’लाई क्यूएफएक्सले २६ शो दिएको छ । यसको तुलनामा केजीएफको शो संख्या झण्डै ३ गुणाले बढी छ । ‘नेपाली फिल्ममा त्यति एड्भान्स सेलको ट्रेन्ड छैन । दर्शक सिधै काउन्टरमा पुगेर काट्नुहुन्छ,’ क्यूएफएक्सका सीईओ रोशन अडिगाले भने ।

अडिगाका अनुसार वैशाख १ गते नै हलिउडको प्रतीक्षित फिल्म ‘फ्यान्टास्टिक बिस्ट्स’ पनि रिलिजको तयारीमा रहेकाले तीन फिल्मसँगै शो विभाजित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?