+
+

रुपन्देहीमा थपिए एक लाख ९ हजार मतदाता

टोपराज शर्मा टोपराज शर्मा
२०७८ चैत २७ गते १७:०१

२७ चैत, बुटवल । रुपन्देहीमा पछिल्लो पाँच वर्षमा एक लाख नौ हजार भन्दा धेरै मतदाता थपिएका छन् ।

२०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेकोमा अहिले एक लाख नौ हजार ७५८ जना मतदाता बढेर ६ लाख ३२ हजार ३६० पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार जिल्लामा तीन लाख २३ हजार ७७८ जना पुरुष र तीन लाख आठ हजार ५७४ जना महिला रहेका छन् ।

जिल्लाका १६ स्थानीय तहमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ९० हजार ६५ जना मतदाता रहेका छन् । जसअनुसार बुटवल उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा भन्दा १३ हजार ३४५ मतदाता बढेका छन् । यस्तै तिलोत्तमा नगरपालिकामा ८५ हजार ७४७ मतदाता रहेका छन् । २०७४ सालमा तिलोत्तमामा ७१ हजार ७४ मतदाता थिए ।

यस्तै सैनामैना नगरपालिकामा ५१ हजार २२,सिद्धार्थनगर नगरपालिकामा ४४ हजार ६५२, देवदह नगरपालिकामा ४८ हजार २९१ र लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४३ हजार ८९० जना मतदाता रहेका छन् ।

यस्तै जिल्लामा रहेका १० गाउँपालिकामध्ये सबैभन्दा धेरै गैडहवा गाउँपालिकामा ३० हजार ३५१ जना र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा २२ हजार ७४७ जना मतदाता रहेको निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख भण्डारीले बताए ।

यस्तै ओमसतिया गाउँपालिकामा २३ हजार ९२९, कञ्चन गाउँपालिकामा २८ हजार ९७८,कोटहीमाई गाउँपालिकामा २६ हजार २४२, मायादेवी गाउँपालिकामा ३० हजार ४६४, रोहिणी गाउँपालिकामा २६ हजार ९६९, शुद्धोधन गाउँपालिकामा २७ हजार ५७८, सम्मरीमाई गाउँपालिकामा २३ हजार ६८२ र सियारी गाउँपालिकामा २७ हजार ७५३ मतदाता रहेका भण्डारीले जानकारी दिए ।

९० मतदान केन्द्र थपिए

मतदाता बढेसंगै रुपन्देहीमा अहिले ९० वटा मतदान केन्द्र थपिएका छन् । २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा २०८ वटा मतदान स्थल र ६१० मतदान केन्द्र रहेका थिए । अहिले मतदान केन्द्र बढेर ७०० पुगेको जिल्ला निर्वाचन कार्यालय प्रमुख भण्डारीले बताए ।

३२ दल दर्ता

रुपन्देहीमा आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका ६ दलसहित ३८ दल चुनावी प्रतिस्पर्धामा रहेका छन् । जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी राष्ट्रिय दलको मान्यता प्राप्त दलको रुपमा रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार राष्ट्रिय दलको मान्यता नपाएको जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगशिल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल विवेकशिल पार्टी, सचेत पार्टीले पनि निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका छन् ।

यस्तै समाजवादी केन्द्र नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी), उन्नत लोकतन्त्र पार्टी, नेपाल दलित पार्टी, बहुजन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, नेपाली कांग्रेस (वी.पी.), सामाजवादी एकता पार्टी, जन समाजवादी पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन गरी ३८ वटा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?