+
+

मेलम्चीको सातौं उद्घाटन : प्रधानमन्त्री देउवा सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १८:११

२८ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा भोलि मंगलबारदेखि पानी पठाउन सुरु गरिने भएको छ ।

मेलम्चीको अम्बाथानस्थित हेडवर्क्समा हुने ‘मेलम्चीको पानी पुनः पथान्तरण कार्यक्रम’मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा आफैं जाने कार्यक्रम छ ।

सुन्दरीजलमा कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक शिलान्यास कार्यक्रम सहभागी भएर देउवा मेलम्चीको पुनः पथान्तरणको शुभारम्भ गर्न अम्बाथान जाने छन् । अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटन जोड्ने हो भने यो मेलम्चीको सातौं औपचारिक उद्घाटन हुनेछ ।

२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् ।

तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो । १० फागुनमा तत्कालीन खानेपानीमन्त्री मणिचन्द्र थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरेका थिए ।

२२ फागुनमा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।

उद्घाटनको हतारोमा सरकारले त्यतिबेला सुरुङ खाली गरेर गर्नुपर्ने सुपरीवेक्षण र सुधारको काम नगरी पानी वितरण थालेको थियो । १५ चैत २०७७ मा महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी वितरण सुरु गरेको थियो ।

त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको समुद्घाटन गरेकी थिइन् ।

तर, हेडवक्र्सको निर्माण नसकिँदै गत १ असारमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस पार्‍यो । अस्थायी बाँध बनाइसकेपछि गत १९ चैतमा खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्चीको महुानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए ।

सातौं पटक उद्घाटन–शुभारम्भ हुन लागेको मेलम्ची आयोजनाको काम भने अझै पनि सकिएको छैन । निर्माणाधीन अवस्थामै पुरिएको पानी फिल्टर गर्ने संयन्त्र काम लाग्ने अवस्थामा छन् कि छैनन् भन्ने टुंगो छैन । तर, मेलम्चीको राजनीतिक जस लिने होडबाजीमा ओलीकै शैलीमा देउबा पनि अघि बढेका छन् ।

निर्वाचन आचारसंहिता जारी भएपछि कुनै नयाँ कार्यक्रम गर्न, नियुक्ती गर्न, उदघाटन गर्न सरकारले निर्वाचन आयोगको अनुमति लिनुपर्छ । तर आयोग स्रोतका अनुसार, यो समाचार तयार पार्दासम्म सरकारले मलेम्ची आयोजनाको उदघाटनवारे कुनै जानकारी वा अनुमति मागेको छैन ।

‘अहिलेसम्म सरकारको तर्फबाट कुनै पनि उदघाटनका लागि अनुमति माग भएको पत्र आएको छैन’, आयोग स्रोतले भन्यो, ‘पत्र आएपछि त्यसको अध्ययन गरेर अनुमति दिनु पर्ने हो कि नपर्ने ? टुंगो लगाउँछौं ।’ तर औपचारिक जानकारी वा उजुरी नआएसम्म उद्घाटन पहिले हस्तक्षेप नगर्ने आयोगका अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?