+
+
Shares

मेलम्ची खानेपानी पथान्तरणमा स्थानीयको अवरोध

सहमति कार्यान्वयन नभएसम्म काठमाडौंमा पानी नपठाउने चेतावनी

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले पालिकासँगको सम्झौता कार्यान्वनयमा खानेपानी आयोजनाले बेवास्ता गरेको आरोप लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १८:२१

२० कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले शुक्रबारदेखि पूर्णरूपमा बन्द गरेका छन् ।

विगतमा भएको सहमति कार्यान्वयन नभएको भन्दै संघर्ष समिति, राजनीतिक दल र बाढी प्रभावित स्थानीयले पानी पथान्तरण बन्द गरेका हुन् ।

आफूहरूको माग पूरा नभएसम्मका लागि पानी पथान्तरण पूर्णरूपमा बन्द गरिने स्थानीयले बताएका छन् ।

मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरण पछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेवापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको माग छ ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले पालिकासँगको सम्झौता कार्यान्वनयमा खानेपानी आयोजनाले बेवास्ता गरेको आरोप लगाए ।

उनले अनलाइनखबरसँग भने, ‘आयोजनाले स्थानीयसँग पटक-पटक सम्झौता गर्ने गरेको छ ।  पानी लगिसकेपछि अर्को समस्या नआएसम्म बेवास्ता हुँदै आएको छ । सम्झौता कार्यान्वयन हुनुपर्ने माग हेलम्बुवासीको भएकोले सहमति कार्यान्वयन नभएसम्म काठमाडौंमा पानी पठाइने छैन ।’

मेलम्चीको पानी काठमाडौंमा वितरण गर्दा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपभोक्तासँग शुल्क लिने भएकोले त्यसको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने माग हेलम्बुवासीको रहेको उनले बताए ।

तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले संघर्ष समिति र गाउँपालिकासँग २१ असोज २०८१ मा सम्झौता गरेका थिए । सो सम्झौतापछि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो ।

स्थानीहरूले बाढी प्रभावितलाई आवश्यक राहत वितरण गर्नुपर्ने र आयोजनाका बोर्ड सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न समेत माग राखेका छन् ।

मेलम्चीका स्थानीयले खानेपानी पथानन्तरणमा अवरोध गरेको जानकारी आफूहरूले पाएको खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्रचार्यले जानकारी दिइन् ।

यस विषयमा सरोकार पक्षसँग भोलि शुक्रबार बिहान १० बजे छलफलका लागि मन्त्रालयमा बोलाइएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?