
२९ चैत, काठमाडौ । सरकारले आगामी २ वैशाख २०७९ (आगामी शुक्रबार)देखि संस्थागत अर्थात म्यानपावर कम्पनीहरुमार्फत जारी हुने श्रम स्वीकृति पनि अनलाइनमै आधारित बनाउने भएको छ । २ माघदेखि पुनः श्रम स्वीकृतिलाई पूर्ण रुपमा अनलाइनमा आधारित बनाएको वैदेशिक रोजगार विभागले अब संस्थागततर्फको श्रम स्वीकृतिलाई पनि अनलाइनबाटै जारी गर्न लागेको हो ।
यो व्यवस्थापछि म्यानपावर व्यवसायी वा उनीहरूका प्रतिनिधि कार्यालयमा भौतिक रूपमा पुग्नुपर्दैन । उनीहरुको भौतिक उपस्थितिविना नै श्रम कार्यालयले म्यानपावरहरुले ल्याउने नयाँ भिसामा श्रम स्वीकृति जारी गर्नेछ ।
सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई ‘पेपरलेस’ बनाइ सहज रुपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाउन लागिएको वैदेशिक रोजगार विभागका प्रवक्ता कृषणप्रसाद भुसालले बताए ।
श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृतिको काम गर्न लागिएको उनको भनाइ छ । ‘श्रम स्वीकृति जारी गर्ने कार्यालयमा इजाजत प्राप्त म्यानपावरका प्रतिनिधि जानु नपरेपछि सुशासन पनि बढ्छ’ उनी भन्छन् ।
भुसालका अनुसार दैनिक एक हजारभन्दा धेरै सेवाग्राहीले कार्यालयमा उपस्थित नभए पनि अनलाइनबाटै पुनः श्रम स्वीकृति पाइरहेका छन् । संस्थागतपछि व्यक्तिगत पहल आएका श्रमसम्बद्ध भिसामा जानेलाई पनि अनलाइनबाटै श्रम सवीकति दिने व्यवस्था गर्न तयारी भइरहेको उनले बताए ।
प्रतिक्रिया 4