
२९ चैत, विराटनगर । १७ वटा स्थानीय तह रहेको मोरङमा गठबन्धन दलभित्र खटपट देखिएको छ । कांग्रेस भित्रको डा. शेखर कोइराला पक्षको अभिव्यक्ति र पालिकाको नेतृत्व दाबीका कारण खटपट देखिएको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा १० वटा पालिका जितेको कांग्रेसले गठबन्धनका लागि आफूले जितेका बाहेक थप दुई स्थानको मेयर दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६, जसपाले४ पालिकाको नेतृत्वमा दाबी गरेका छन् । नेकपा एकिकृत समाजवादी पार्टीको पनि नेतृत्वमा दाबी छ ।
माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासका अनुसार कांग्रेसको स्थानीय नेतृत्वले मोरङमा गठबन्धन गर्न चाहेको छैन । विश्वासको आशंकालाई बल पुग्नेगरी कांग्रेस विराटनगर नगर समिति सभापतिको अभिव्यक्ति सार्वजनिक भइरहेको छ ।
‘विराटनगरमा नेपाली कांग्रेस एक्लै अघि बढ्छ,’ नगरसभापति दीपक चापागाईं भन्छन्, ‘कांग्रेस एक्लैले महानगर जित्छ ।’ २०७४ सालको निर्वाचनमा विराटनगरमा कांग्रेस एक्लैले मेयर उपमेयर जितेको थियो । पार्टीको अवस्था थप मजवुद रहेका कारण गठबन्धन गर्नु नपर्ने उनको तर्क छ ।
नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने बताउँछन् । विराटनगर डा. कोइरालाको गृहनगर हो । निर्वाचनमा गठबन्धन गर्न नहुने अभिव्यक्ति दिँदै आएका नेताहरु कोइराला पक्षका हुन् ।
नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय हुने भएकाले स्थानीय समितिको दाबीको अर्थ नरहेने बताउछन् । उनी कृष्णप्रसाद सिटौला पक्षका हुन् । प्रदेशमा गठबन्धनका लागि दलहरुबीच छलफल चलिरहेको बताउँदै उनले केन्द्रको निर्देशनपछि टुंगोमा पुग्ने बताए ।
माओवादी केन्द्र मोरङ संयोजक विश्वास कांग्रेसले नमाने मोरङमा गठबन्धनमा रहेका तीन दलले तालमेल गरेर अघि बढ्ने बताउँछन् । कांग्रेस नेतृत्वले चासो नदिएपछि माओवादी केन्द्र, जसपा र नेकपा एकिकृत समाजवादी पार्टीले तालमेलका लागि छलफल गरिरहेका छन् ।
माओवादीको दाबी : पाँच पालिका जित्छौं
२०७४ सालको स्थानीय तह निर्वाचनमा मोरङमा एउट मात्रै पालिका जितेको नेकपा माओवादी केन्द्र यो वर्ष एक्लै पाँच वटा पालिकामा चुनाव जित्ने दाबी गर्छ ।
नेकपा माओवादी केन्द्र मोरङका संयोजक विश्वास स्थानीय तहमा माओवादी केन्द्रको प्रभाव राम्रो भएका कारण एक्लै लडे पाँचवटा पालिका जित्ने दाबी गरे । कटहरी, जहदा, धनपालथान, मिक्लाजुङ र पथरीशनिश्चरे नगरपालिकामा माओवादीले जित्ने उनको दाबी छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4