+
+

पाँच दलले तय गरे तालमेलका ७ आधार, महानगरबारे निर्णय केन्द्रले गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते २१:२८

२९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ ।

सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गरेको छ र तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गठबन्धनका ७ आधार तय गरिएको छ ।

जसमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको प्रमुख शक्तिका रुपमा स्वीकार गरिएको छ । साथै २०७४ को स्थानीय तहको जनमत, अरु दल विजयी भएको स्थानमा सत्तारुढ दलका उम्मेदवारले पाएको मत, वर्तमान संगठनात्मक अवस्थालाई आधार मानिएको छ ।

  • २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा जो जुन पार्टीबाट जितेका छन्, त्यसआधार मान्ने । एकीकृत समाजवादीको हदमा पनि  हाल  दलमा रहेका जनप्रतिनिधिहरूलाई मान्ने ।
  • २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।
  • २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रहेको गठबन्धनमा सहभागिता पनि हेर्ने।
  • २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत
  • एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।
  • सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
  • गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।

उपमहानगर र महानगरबारे केन्द्रको निर्णय

सत्तारुढ पाँच दलले वडा सदस्य र वडाध्यक्षमा चुनावी तालमेल गर्ने अधिकार पालिकास्तरीय संयन्त्रलाई दिएका छन् ।

नगरपालिका र गाउँपालिका प्रमुख र उपप्रमुखकमा तालमेल तथा बाँडफाँटबारे जिल्लास्तरीय संयन्त्रले ३ वैशाखभित्र प्रदेशलाई सिफारिस गर्ने र प्रदेशले ५ गते केन्द्रमा पठाउने निर्णय छ । महानगर र उपमहानगर प्रमुख र उपप्रमुखको सिट बाँडफाँड केन्द्रीय संयन्त्रले गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रदेश र जिल्ला संयन्त्रमा गठबन्धनमा रहेका २/२ जना प्रतिनिधि रहने छन् भने अवश्यकताअनुसार आमन्त्रित सदस्य बोलाउन सकिनेछ । स्थानीय पालिका, जिल्ला र प्रदेशका सबै संयन्त्रको बैठकको संयोजक कांग्रेस नेता रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?