+
+

भरतपुरमा देवीले मैदान छाडे, दिनेश पुन: आकांक्षी

सुवास पण्डित सुवास पण्डित
२०७८ चैत ३० गते १५:०८

३०, चैत, चितवन । अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चामा आएका र राजनीतिक ‘पीडित’ पात्रमा रुपमा पर्दछन् देवी ज्ञवाली र दिनेश कोइराला । स्थानीय तहको निर्वाचनमा ‘अन्याय’ भोगेका ज्ञवाली केपी सरकारका पालामा भूमि आयोगका अध्यक्ष थिए । त्यो आयोग पनि विघटन गरेर आफूमाथि अर्को अन्याय गरिएको उनले बताउँदै आएका छन् ।

२०७४ को चुनावका लागि वैशाख १९ गते एमालेबाट मेयरमा देवी ज्ञवाली र कांग्रेसबाट दिनेश कोइरालाले मेयरमा उम्मेद्‍वारी दर्ता गराए । तर दिनेशको उम्मेद्‍वार पार्टी सभापतिसमेत रहेको शेरबहादुर देउवाले केन्द्रबाट नै आयोगलाई पत्र लेखेर थुतिदिए । त्यसबेला वेटिङ प्रधानमन्त्री रहेका देउवाका लागि दिनेशको उम्मेद्‍वार तान्नु कुनै ठूलो कुरा थिएन ।

भरतपुरको बसपार्कमा भएको गठवन्धनको सभाका दिन कोइरालालाई भाषण गर्न खुबै कर गरे देउवा र प्रचण्डले । तर, कोइरालाले मानेनन् । मञ्चमा बसे पनि उनी बोलेनन् । रेनुको चुनावी प्रसारप्रसारमा खासै गएनन् पनि । आफूलाई पीडित बनाइएको भन्दै कोइरालाले त्यतिखेर खुब चित्त दुखाए ।

उनको उम्मेद्‍वारी फिर्ता भएपछि कांग्रेसको समर्थनमा गठवन्धनबाट उठेकी रेनु दाहाल र एमालेका देवी ज्ञवालीका बीचमा कडा प्रतिस्पर्धा भयो । भरतपुर महानगरको मतगणना करीव अन्तिम चरणमा पुगेको बेला २०७४ जेठ १४ गते मध्यराती मतपत्र च्यातियो ।

मतपत्र च्यातिएको भरतपुर १९ मा अदालतको आदेश बमोजिम पुनः मतदान हुँदा ज्ञवाली २०३ मतले हारे । गएको स्थानीय तहको निर्वाचनमा ‘अन्याय’मा परेका ज्ञवाली र कोइरालालाई पार्टीको महाधिवेशनमा भने कार्यकर्ताले न्याय गरे ।

कांग्रेसको १४औं महाधिवेशनबाट दिनेश कोइराला केन्द्रीय सदस्यमा निर्वाचित भए भने, चितवनको सौराहामा भएको एमालेको १० औं राष्टिय महाधिवेशनमा खुलातर्फको ८४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा देवी ज्ञवालीले सबैभन्दा बढी १ हजार ८७७ लोकप्रिय मत पाएर केन्द्रीय सदस्य बने ।

उसो त कांग्रेसको महाधिवेशनमा देउवा पक्षको दवदवा रहेको बेला शेखर कोइराला प्यानलबाट केन्द्रीय सदस्य जित्ने २१ जनाभित्र कोइराला पर्छन् ।

फेरि उठ्ने कोइरालाको आकांक्षा

यसअघि २०७४ मा नै भएको प्रदेश सभाको निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. ३ (क) बाट उम्मेद्‍वार बनेका कोइराला पराजित भएका थिए ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा पद दिनेश कोइरालाले पुनः उम्मेद्‍वारको आकांक्षा राखेका छन् । कांग्रेस भरतपुर महानगर समितिले २५ जना मेयरका आकांक्षीहरुको तयार गरेको सूचीमा उनको नाम ९ नम्बरमा छ ।

महानगरको मेयर कुनै पनि हालतमा माओवादीलाई छाड्न हुन्न भनेर जिल्ला पार्टी सभापतिसँगै केन्द्रीय नेताहरुसँग लविङमा लागे । अघिल्लो पटक पाएको मेयरको टिकट नै खोसियो यसपटक किन मेयर उठ्ने आकांक्षा देखाएको भन्ने अनलाइनखबरको प्रश्नमा दिनेशले भने, ‘अघिल्लोपटक पार्टीले गल्ती गर्‍यो, त्यसको महसुस नेतृत्वलाई पनि भएकै छ, यसपटक त्यस्तो हुँदैन, भरतपुर महानगरपालिकाको योजनावद्ध विकास गर्ने मेरो स्पष्ट भिजन र दृष्टिकोण भएकोले मेयरमा दावी पेश गरेको हुँ ।’

मैदान छाडेका देवीले राखे विजय सुवेदीलाई प्रस्ताव

गत स्थानीय तहको निर्वाचनमा पराजित भएका एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले भने यसपटक महानगरको मेयरमा आफ्नो दावी राखेनन् । देवीले महानगरको मेयरमा प्रदेश सांसदसमेत रहेका नेता विजय सुवेदीलाई प्रस्ताव गरे ।

‘म स्वयम् हिजोको घाइते पनि हो, विजय सुवेदी पार्टीका उम्दा नेता हो, कृष्णभक्त पपुलर नेता हो, हाम्रो पार्टीमा एक सय एक नेता मेयर बन्न सक्षम छौं, सबै मेयर चलाउन सक्छौं,’ उनले भने, ‘तर एकपटकमा एक जना मात्रै मेयर उम्मेद्‍वार हुन्छ भन्ने हामीले बुझेका छौं, पार्टीको वृहतर हित र अहिलेको परिस्थितिलाई दृष्टिगत गर्दै जित्ने लक्ष्यसहित सर्वसम्मतिको उम्मेद्‍वारसहित जनताको बीचमा जान्छौं ।’

भरतपुर महानगरको मेयर एमालेबाट पुनः ज्ञवाली नै हुने चर्चा चलिरहेका बेला उनले मैदान छोडेका हुन् ।

महानगरको मेयरको उम्मेद्‍वार हुन् किन छाड्नुभयो भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने, ‘पार्टीमा विभिन्न अवसरहरु आउँछन्, सबैलाई समेट्न पर्छ, म आफै जिल्ला इन्चार्ज पनि भएकोले जिल्लाभरकै अवस्था र चुनावी अभियान हाँक्न पर्ने भएकोले विजय जीलाई छाडेको हुँ ।’

मेयर छाडेका ज्ञवाली संघीय चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्ने तयारीमा रहेको चर्चासमेत हुने गरेको छ । उनले बेलाबखत प्रचण्डसँग चुनाव लड्न तयार रहेको अभिब्यक्तिसमेत दिने गरेका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?