
काठमाडौं । सुन्दरताको मानक के हो ? यसको सर्वमान्य इकाई छैन । यद्यपि सुन्दरताप्रति मान्छेको मोह भने विछट्टैको छ । अक्सर मान्छे सुन्दर देखिन चाहन्छन् । सुन्दर कसरी देखिने ? आधुनिक युगमा यसका अनेक विधि छन् । प्लास्टिक सर्जरीदेखि सौन्दर्य संसाधनको प्रयोगसम्म । सुन्दरताको यो दौडमा महिलाहरु बढी अग्रसर छन् । यसबाट अछुतो छैनन्, नेपाली महिला पनि ।
दैनिक जीवनमै मेकअप अनिवार्य बनेको छ, नेपाली महिलाका लागि । अनुहारको आकार प्रकारलाई सुहाउँदिलो बनाउन होस् वा चमक ल्याउन नै, मेकपअ गर्ने प्रवृत्ति व्यापक छ । कतिसम्म भने अनुहारको मेकअप गर्न मात्र नेपाली महिलाले बर्सेनि अर्बौंको सौन्दर्य प्रसाधन खपत गर्छन् ।
बितेको आठ महिनाको तथ्यांकले यही पुष्टि गर्छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्म ३ अर्ब ९१ करोड ४९ लाख रुपैयाँको सौन्दर्य सामग्री आयात भएको छ ।
लिप मेकअप
ओठलाई रसिलो, मुलायम र आकर्षक बनाउन नेपाली महिलाले लिपिस्टिक, ग्लोस, लिप लाइनर आदि प्रयोग गर्छन् । यस्ता प्रसाधनका लागि आठ महिनामा लिप मेकअपका सामग्री २५ करोड ८० लाख रुपैयाँको आयात गरिएको थियो ।
आई मेकअप
समग्र अनुहारको सुन्दरतामा आँखाको खास भूमिका हुन्छ । आँखाका लागि आइस्याडो, मस्करा, गाजल, कृतिम परेला आदि प्रयोग हुन्छ । सुन्दर आँखाले सबैको ध्यानाकर्षण गराउँछ । भन्सार विभागले दिएको जानकारी अनुसार १६ करोड ६८ लाख बराबरका यी सामग्री आयात भएका छन् ।
मेनिक्योर-पेडिक्योर
हात-पाउसँगै नङको सुन्दरतामा पनि महिलाहरु बढी ख्याल राख्छन् । नङलाई सुन्दर बनाउन गरिने मेनिक्योर-पेडिक्योरका लागि चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १३ करोड १३ लाख रुपैयाँको सामग्री आयात गरिएको छ ।
अनुहारको लागि
मेकअप फिनिसिङका लागि कम्प्याक्ट, लुज, मिनरल पाउडर आदि प्रयोग गरिन्छ । आठ महिनाको अवधिमा १९ करोड ८ लाख रुपैयाँको पाउडर आयात गरिएको थियो ।
फेस क्रिम
छालालाई चम्किलो, मुलायम बनाउन फेस क्रिम प्रयोग गरिन्छ । यसका लागि ५१ करोड ६७ लाख रुपैयाँको आयात भएको छ ।
नेलपोलिस
नेल पेन्ट तथा पोलिसका लागि थरीथरीका पोलिस प्रयोग गरिन्छ । साउनदेखि फागुनसम्म ३ करोड ९३ लाख बराबरको नेलपोलिस आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
बडीलोसन
सम्पूर्ण शरीरलाई कोमल, नरम र रसिलो बनाइराख्न बडी लोसन लगाउने गरिन्छ । यी सौन्दर्य प्रसाधनका लागि उक्त अवधिमा ३४ करोड ६२ लाखको सामाग्री आयात गरिएको छ ।
सिन्दूर
सिन्दूर हिन्दू विवाहित महिलाले प्रयोग गर्छन् । आठ महिनाको अवधिमा ७८ लाखको सिन्दूर आयात भएको छ ।
लिपबाम
ओठको सुरक्षाका लागि लिपबामको प्रयोग गरिन्छ । आठ महिनाको अवधिमा ३ करोड ४८ लाखको लिपबाम आयात गरिएको छ ।
यी साम्रगीबाहेक २ अर्ब ३० करोड मूल्य बराबरका अन्य सौन्दर्य प्रसाधन आयात भएको भन्सार विभागले जनाएको छ ।
प्रतिक्रिया 4